Play

डाक्टरले औषधीको ‘जेनेरिक’ नाम नलेख्दा औषधीको मूल्य दोब्बर बढी, कानुनी व्यवस्थाको खिल्ली उडाईदै

गुरुकुल खबर


गंगाधर पराजुली

स्वस्थ भनेको मानिसले आफु सुखी हुन चाहिने सबै कुरा प्राप्त गर्नु हो, अथवा कुनै रोग नहुनु हो । राम्रो खाना र पानीको सहज उपलब्धता हुनु हो। राम्रो परिवार र साथीभाईहरु हुनु हो। यसका साथै राम्रो चेतना हुनु, माया हुनु , सुरक्षित बासस्थान हुनु, ज्ञान र आर्थिक रुपमा सम्पन्न हुनु पनि स्वस्थ हुनका लागि आबश्यक कुराहरु हुन्। फरक-फरक मानिसका लागि स्वस्थको परिभाषा फरक फरक हुन सक्छ र एकै व्यक्तिको लागि पनि समय अनुसार स्वस्थको बुझाई फरक हुनसक्छ।

कुनै पनि मानिसले आफु स्वस्थ रहन स्वास्थ सेवाको उपयोग गर्ने गर्दछ।  जन्मेदेखि मृत्युसम्म हामीले कुनै न कुनै बेला कुनै न कुनै किसिमले स्वास्थ्य सेवा लिएका हुन्छौँ । स्वास्थ सेवा लिने क्रममा सबैले गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा राख्नु स्वाभाविक हो । गुणस्तरीय स्वास्थ्य सेवा लिने र दिने क्रममा सरकार, स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक वा स्वास्थ्यकर्मी र सेवा लिने र दिने दुबै पक्ष उत्तिकै जिम्मेवार हुनु जरुरी हुन्छ ।

स्वास्थ्य सेवामा गुणस्तरको परिभाषा देश, समाज वा स्वास्थ्यसेवा प्रदायक संस्था अनुसार फरक–फरक हुनुहुँदैन । जहाँ, जसले, जस्तो सेवा प्रदान गरे पनि स्वास्थ्य सेवाको सिद्धान्त, मान्यता र उपयोग विश्वव्यापी रुपमा मूलतः एउटै हुन्छ । किनकि स्वास्थ्य सेवा विज्ञान, अनुसन्धान र सर्वव्यापी मान्यतामा आधारित हुन्छ। तसर्थ, गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्य सेवाग्राही वा बिरामीलाई बिना कुनै हानी, नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै स्वास्थ्यकर्मीको बोली व्यवहार राम्रो हुनु, दक्ष र योग्य स्वास्थ्यकर्मी हुनु, उचित पूर्वाधार हुनु, आवश्यक उपकरण र औजारहरुको व्यवस्था गर्नु, सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु आदि पनि गुणस्तरीय स्वास्थ्य सेवाको लागि अति आवश्यक कुरा हुन् ।

जुनसुकै मुलुक वा समाजमा बसे पनि र  जस्तो आर्थिक हैसियत भए पनि हरेक व्यक्तिको शरीर उत्तिकै महत्वपूर्ण हुन्छ । सिद्धान्तत अमेरिका वा बेलायत जस्ता बिकसित मुलुकमा बसेर त्यहाँको स्वास्थ सेवा जसरि उपभोग गरिन्छ, नेपाल वा अन्य अल्पबिकशित मुलुकमा पनि त्यस्तै स्वास्थ सेवा उपभोग गर्न पाउनुपर्छ ।

मानिसको जीवन अमूल्य हुन्छ । यो अमूल्य जीवनको हेरचाह, रेखदेख र माया गर्ने जिम्मा सबैभन्दा पहिले मानिस आफ्नो नै हो । कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याका बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको राय सल्लाह मान्नु र स्वस्थकर्मीको सल्लाह अनुसार समयमा नै भने अनुसारको  औषधी सेवन गर्नु हरेक व्यक्तिको आफ्नो जिम्मेवारी हो ।

बिरामी मानिसले आफ्नो स्वास्थ राम्रो राख्न स्वास्थाकर्मी वा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नु बिरामीको जिम्मेवारी भएपनि डाक्टरले बिरामीको लागि औषधी लेख्ने बिषयमा विभिन्न कोणबाट प्रश्नहरु उठ्न थालेका छन्। बिरामीको स्वास्थअवस्था ठिक राख्न जुन औषधी जति चाहिन्छ त्यति नै लेख्छन त ? भन्ने प्रश्न अहिले ज्वलन्त रुपमा उठ्ने गरेको छ। डाक्टरले आबश्यक पर्ने भन्दा बढी औषधी लेखे, नचाहिने औषधी लेखे, कम मुल्यमा पाइने औषधीको नाम नलेखेर महँगो औषधीको नाम लेखे र एउटा रोग निको पार्न लेखेको औषधी प्रयोग गर्दा त्यसको नकारात्मक असर परि अर्को रोग सुरु हुने वा मानिसको ज्यान गयो भन्ने सम्मका कुरा बारम्बार सुनिने गरेको छ ।

अब कुरा आउँछ, डाक्टरले किन अनाबश्यक रुपमा औषधी बिरामीलाई सिफारिस गर्छन त ? यो बिषय केहि वर्ष यता विभिन्न किसिमबाट बहसमा आउने गरेको छ। डाक्टरले बिरामीको लागि लेख्ने औषधीको नाम “ब्रान्ड” मा उल्लेख नगरी जेनेरिकमा लेख्नुपर्ने भन्ने कानुनी व्यवस्था समेत लागु भएको छ

जनस्वास्थ सेवा ऐन २०७५ को दफा २९ को १ मा चिकित्सक तथा स्वास्थाकर्मीहरुले बिरामीको लागि औषधी सिफारिस गर्दा जेनेरिक नाम लेख्नुपर्नेछ भन्ने उल्लेख छ । तर पनि यो कार्यान्वयन हुन सकेको छैन । ऐनको दफा २९ को बुँदा २ मा “गुणस्तरीय स्वदेशी उत्पादनको हकमा ऐन कार्यन्वयन भएको मितिले दुई वर्ष भित्रमा जेनेरिकमा नाम सिफारिस गर्न मिल्ने” र बुँदा ३ मा “पेटेन्ट र नया औषधीको हकमा ब्रान्ड नाममा सिफारिस गर्न बाधा पर्नेछैन” भन्ने कुरा उल्लेख भएकोले त्यही कुरालाई आधार मानेर हुनुपर्छ, ऐन आएको ५ वर्ष बितिसक्दा समेत जेनेरिक नाममा बिरामीलाई औषधी सिफारिस गर्ने कानुनी ब्यबस्था प्रभाबकारी रुपमा कार्यन्वयन हुन सकेको छैन

औषधि कम्पनीहरुको लोभलाभ र प्रभावमा परेर चिकित्सक एबम स्वास्थाकर्मीहरुले आफ्नो अनुकुलका औषधिहरुको सिफारिस ब्रान्ड नाममा गरिरहेको आवाज उठेपछी  सरकारले यो कानून निर्माण गरेको हो । तर कानुनको कार्यन्वयनमा भने सरकार कमजोर देखिएको छ, सरकारले कानुन कार्यन्वयन गर्ने क्रममा अस्पताल फार्मेसी साथै जनस्वास्थ विभागले यस अगाडी केहि प्रयास गरेको भएपनि त्यो प्रयास डाक्टरको बिरोधका कारण निरर्थक बनेको कतिपयको भनाई छ ।

डाक्टरले औषधी लेख्दा बिरामीको लागि कुन खालको औषधी चाहिएको हो भनि औषधीको केमिकल नाम मात्र लेखे हुनेमा कुनै कम्पनी बिशेषले उत्पादन गरेको औषधीको ब्रान्ड नाम लेख्नु भनेको डाक्टर नै त्यो औषधी कम्पनीको प्रतिनिधि बन्नु जस्तै हो, जुन औषधी कम्पनीले डाक्टरलाइ विभिन्न प्रभावमा पार्नसक्छ, त्यहि कम्पनीको उत्पादन वा औषधीको नाम डाक्टरले सिफारिस गर्नेगरेको छन , पोखरामा कानुन ब्यबसायी समेत रहेका पोखराका पर्यटन ब्यबसायी गणेश बहादुर थापा भन्छन, ” औषधीको वास्तविक उपभोक्ता भनेका बिरामीहरु हुन् र उनीहरुको शरीरको लागि आबश्यक औषधीको कम्पोजिसन वा केमिकल जे चाहिन्छ, त्यो डाक्टरले लेख्नुपर्ने हो तर आफुलाई जुन कम्पनीको औषधीको नाम लेख्दा बढी फाइदा हुन्छ त्यहि औषधीको ब्रान्ड नाम डाक्टरले लेख्नुले औषधीको वास्तविक उपभोक्ता बिरामी नभएर डाक्टर नै हुन्  भन्ने बुझिन्छा ।अर्को तर्फ स्वास्थ सेवा ऐनमा डाक्टरले जेनेरिक नाम लेख्नु पर्ने भनिए पनि त्यसो नगर्नु ब भनेको कानुनी ब्यबस्थाको खिल्ली उदाउनु जस्तै हो ।”

पोखरामा कार्यरत सिनियर क्लिनिकल फार्मेसिस्ट वृन्दा राणा डाक्टरले बिरामीको लागि औषधी लेख्दा जेनेरिक नाममा लेखिदिए बिरामीले सस्तोमा औषधी प्राप्त गर्ने बताउछिन. उनले यस बिषयमा सर्बसाधारणले पनि चासो राख्नुपर्ने आबश्यकतामा जोड दिंदै यो पंक्तिकार संग भनिन” “बिरामीलाइ भैंसीको दुध खानुपर्ने रहेछ भने डाक्टरले भैंसीको दुध खानुपर्छ भनेर सल्लाह दिने या प्रेस्क्रिप्शनमा लेख्ने हो तर नेपालमा त डाक्टरहरुले भैंसीको दुध मात्र नभएर रामबहादुर वा श्यामबहादुरले नै पालेको भैंसीको दुध किनेर खानु भनेर लेख्छन, जसले गर्दा रामबहादुर/ श्यामबहादुरले पालेको भैंसीको दुध बिग्रेको भएपनि त्यहि खानुपर्ने बाध्यता बिरामीलाइ छ,  तर अरुले उत्पादन गरेको दुध राम्रो भए पनि त्यसले बजार नपाउने अवस्था छ”।

उनका अनुसार डाक्टरले जेनेरिकमा नाम लेख्ने हो भने बिरामीलाई औषधी समेत धेरै सस्तो पर्न आउँछ, यसका साथै ठुला औषधी कम्पनीले डाक्टरलाई विभिन्न किसिमबाट प्रभावमा पार्ने तर सानो कम्पनीले ठुलो कम्पनी संग त्यस किसिमको प्रतिष्पर्धा गर्न नसक्दा सानो लगानीका औषधी कम्पनी समेत मारमा परेको बतांईन्छ्।

ग्याष्ट्रिकको उपचार गर्न जाने सामान्य बिरामीलाई डाक्टरले “पानट्रोप्राजोल” भनेर जेनेरिक नाम लेखे हुनेमा डाक्टरले औषधीको ट्रेड वा ब्रान्ड नाम प्यान्टप, प्यान्तोडाक, पल्सर, पानोसिड डी आर, प्यान्तियम, पेन्टोसिद, प्यान्सेफ लगायत आफुलाई मन पर्ने मात्र नभएर जुन कम्पनीले आफ्नो हितमा काम गरेको छ त्यहि कम्पनीको औषधीको नाम लेख्ने गर्छन, यसले गर्दा बिरामीले औषधी खोज्न विभिन्न मेडिकल चाहार्दै हिड्नुपर्ने हुन्छ र त्यो औषधीको मूल्य पनि महँगोमा तिर्नुपर्ने हुन्छ ।

हाल औषधीको जेनेरीक नाम करिब ४ सय वटा रहेपनि ब्रान्ड नाम वा ट्रेड नाम भने ११ हजार भन्दा बढी छन् जसले गर्दा बिरामीहरु औषधि खोजि गर्दा आफै अलमल पर्ने अवस्था आउँछ ।

डाक्टरले जेनेरिक नाम लेख्ने हो भने बिरामीलाई औषधी सस्तोमा पाइने मात्र नभएर औषधी खोज्न धेरै सजिलो हुने धारणा औषधी ब्यबसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको छ। उनि भन्छन, यस्तो हुन सके बिरामीले महँगो मूल्य तिर्नु पर्दैन, अहिलेको भन्दा आधा मुल्यमा औषधी पाउँछन, विभिन्न नामको औषधी भनेर सबैतिर खोजेर हिड्नुपर्दैन र औषधी कम्पनीले पनि अनाबश्यक रुपमा एमआर राखेर अस्पतालहरुमा कुदाउने र डाक्टरहरुलाई फकाउने गर्नुपर्दैन, जसका कारण औषधी कम्पनीको खर्च पनि कम हुन्छ ।

जनस्वास्थ सेवा ऐन २०७५ मा डाक्टरले औषधीको सिफारिस जेनेरिक नाममा लेख्नुपर्ने व्यवस्था गरेको र त्यसो गर्दा बिरामीहरुलाई अहिले भन्दा आधा सस्तोमा औषधी मिल्ने सम्भावना भए पनि जेनेरिक नाम लेखेर औषधी सिफारिस गर्ने अभ्यास अझैपनि डाक्टरहरुले शुरु गरेका छैनन्। हाल डाक्टरले औषधीको नाम जेनेरिकमा  नलेख्दा  बिरामी वा सर्बसाधारणले  औषधीको मूल्य दोब्बर भन्दा बढी तिर्नुपरेको अवस्था छ ।

गण्डकी मेडिकल कलेजका सहप्राध्यापक एबम फिजिसियन डा सरोज पोखरेलका अनुसार केन्द्र बाट प्रभावकारी नीति बनाउन सके मात्र जेनेरिक नाममा औषधीको सिफारिस गर्ने व्यवस्था लागु हुनसक्छ, अहिले पाटन अस्पताल र पाल्पा मिसन अस्पताल लगायत केहीमा जेनेरिक नाम लेख्ने गरिएको तर अन्य स्थानमा भने अझै यस्तो व्यवस्था लागु हुन सकेको छैन ।

डा पोख्रेल भन्छन, डाक्टरले जेनेरिक नाम लेखेर पठाएपछि बिरामीले कम गुणस्तरयुक्त औषधी प्रयोग गरे भने रोग निको नहुन सक्छ, यस्तो अबस्थामा  एकातिर बिरामीको रोग निको नहुने र अर्को तिर डाक्टरले अपजस पाउने परिस्थिति सिर्जना हुन्छ। जेनेरिक नाम लेख्दा बिरामीले सस्तोमा औषधी पाउन सक्छन् नि ? भन्ने प्रश्नमा डा पोखरेलको जवाफ थियो, “हामी डाक्टरहरु औषधीको जेनेरिक नाम लेख्न तयार छौं, यसबाट हुने फाईदा बिरामीले पाए त ठिकै हुन्थ्यो तर डाक्टर र बिरामीको पक्ष नभएर तेस्रो पक्ष अर्थात् फार्मेसीहरुले फाइदा वा बढी मूल्य लिन्छन नि ।”

हाल नेपालमा करिब १ सय २५ वटा कम्पनीले विभिन्न किसिमका औषधी उत्पादन गर्न ईजाजत लिएको भए पनि ८३ वटा कम्पनीले औषधी उत्पादन गरिरहेको छन् । नेपालमा आवश्यक पर्ने करिब ६५ अरब रुपैयाको औषधीमध्ये करिब ३५ देखि ४० प्रतिशत औषधी नेपालमा उत्पादन हुनेभएपनि ६० देखि ६५ प्रतिशत औषधी भने विदेशबाट आयात हुनेगरेको छ नेपालमा हाल ३ सय भन्दा बढी बिदेशी कम्पनीले औषधीजन्य बस्तुको ब्यापार गर्दै आएका छन् ।

६५ अरब रुपैयाको कारोबार हुने औषधी ब्यापारमा बिरामी वा सर्बसाधारणको हित हुनेगरि राज्य पक्ष, अस्पताल र स्वस्थाकर्मी वा चिकित्सकहरु साथै औषधी उत्पादकहरु गम्भीर बनिदिने हो भने नेपालमा स्वास्थ सेवा प्रभाबकारी र सस्तो हुने निश्चित छ ।

१८ माघ २०८०, बिहीबार १७:१२ मा प्रकाशित
Nabintech