Play

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा वावुराम भट्टराईसँग सीआईबीले लियो बयान

आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी


गुरुकुल खबर


पोखरा, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा वावुराम भट्टराईसँग पनि बयान लिएको छ । सीआईबीले यो प्रकरणमा मुछिएका उनीहरु दुई जनासँग बयान लिएसँगै अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।

सीआईबीले आइतबार नै आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी तयारी गरे पनि अन्तिम समयमा भट्टराई र नेपालसँग समेत बयान लिएको हो । यससँगै अनुसन्धान पूर्ण बनेको सीआईबीका अधिकारीहरुको भनाइ छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले सम्भवतः आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने जानकारी दिए । हिजै प्रतिवेदन बुझाउने भनिएपनि प्राविधिक कारणले सम्भव नभएको उनले बताए ।

नेपाल र भट्टराईसँगसमेत बयान लिने योजनाअनुसार सीआईबीले आइतबार प्रतिवेदन नबुझाएको बताइएको छ । सोहीअनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान भएको हो । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले दुई प्रधानमन्त्रीसँग बयान भएको पुष्टि गरिन् ।

ब्युरोले जग्गा हिनामिना आरोपमा १८ जनालाई हिरासतमा राखेर ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘सङ्गठित किर्ते’ मुद्दामा आरोपितलाई पक्राउ गरेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।

सरकारले अधिग्रहण गरिसकेको १४७ रोपनी जग्गा माफियासँग मिलेर हिनामिना गरेको मुद्दा अदालतमा लैजान अब प्रहरी र सरकारी वकिलसँग ४ दिनको समय छ । त्यसमा पनि यसअघि थपिएको समय आजै सकिँदैछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन आएपछि अध्ययन गरेर शुक्रवार अदालतमा मुद्दा दर्ता गर्ने जानकारी दिए ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।

शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन् ।

 

४ भाद्र २०८०, सोमबार १२:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा