काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औँल्याएका छन् । काठमाडौंमा आयोजित नेविसंघ र तरुण दलका नेताहरूसँगको छलफल कार्यक्रममा उनले युवा कांग्रेस आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनु त छ नै सँग सँगै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस् ।’
युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलहरूबाट काँग्रेसका काम गर्न इच्छा राखेका नेताहरूका लागि स्कुलका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।
२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्युँताइएको स्मरण गर्दै अहिले अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ ।
पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फ त्यसको उठान गर्न सकिने उनले बताए । राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने ट्रेनिंङ सेन्टरका रूपमा युवा कांग्रेस लाई विकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेश द्वार बनाउन सकिने महरको भनाई छ ।