सिन्धुली । बिमलाकुमारी काफ्ले उमेरले करिब ४० को हाराहारी पुगिन् । सिन्धुली जिल्लाकी सफल महिला उद्यमीका रूपमा उनी पहिलो नम्बरमै आउँछिन् । जिल्लाकै एक मात्र उद्योगका रूपमा रहेको कोसेली डेरी उद्योग प्रालिकी प्रोपाइटर हुन् काफ्ले । जसले दुग्ध व्यवसाय सञ्चालन गरेको १६ वर्ष भयो । जिल्लाको पहिलो दुग्ध व्यवसाय गर्ने महिला पनि हुन् उनी ।
सुरुमा झन्डै अढाई लाख रुपैयाँ लगानी गरेर तत्कालीन रतनचुरा गाविस हालको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कमा डेरी सुरु गरेकी उनले १० वर्ष सोही ठाउँको जन एकता प्राविमा राहत कोटामा जागिर खाइन् । उक्त विद्यालयको प्रधानाध्यापक पनि थिइन् उनी ।
परिवार, व्यवसाय, जागिर र बालबच्चा हुर्काउने काम सँगसँगै अगाडि बढाउँदै थिइन् । व्यवसायलाई कमलामाई नगरपालिकाको माढी बजारमा २०६७ सालमा थप विस्तार गर्दा उनी विद्यालयको हेडमास्टर थिइन् ।
व्यवसाय बढ्दै गएपछि उनले १० वर्ष गरेको जागिर छोडिन र व्यवसायलाई पुरै समय दिइन् । व्यवसायको व्यवस्थापनमा परिवारमा विशेषगरी श्रीमान नवराज गजुरेलको पूर्णसहयोग छ उनलाई । व्यवसाय स्थापित गर्दाका दिन सम्झिँदै भन्छिन्, ‘म रातिमा ३ घण्टा मात्र सुत्थें, बाँकी समय काममै हुन्थें ।’
हाल उनको उद्योगमा ३ जना महिलासहित २७ जना कर्मचारी कार्यरत छन् । उनको उद्योगमा काम गर्नेले २० हजारदेखि ४० हजारसम्म तलब पाउँछन् । ५ करोड बढीको स्थिर पुँजी छ । दैनिक ३ हजार लिटर दूधको कारोबार हुन्छ । जिल्लाको करिब ७५ प्रतिशत दूधको बजार उनले सञ्चालन गरेको कोसेली डेरीले लिएको छ । महाभारत दुग्ध उत्पादक सहकारी संस्थामार्फत सुरु गरिएको दुग्ध व्यवसाय सफल हुनुको एउटै राज छ ‘किसानलाई सहकारीमा आवद्ध गर्नु, समयमा भुक्तानी दिनु, पशुपालनमा किसानलाई सहजीकरण गर्नु र उचित मूल्य दिनू ।’
सहकारीमार्फत दूध संकलन गर्ने उनको डेरी उद्योगले जिल्लाका दैनिक ११ सय बढी किसानको दूध खरिद गर्छ । दैनिक ५ वटा भाडाका गाडी र २ वटा उद्योगका गाडीले किसानको दूध बोक्ने, शाखा र काउन्टरमा दूधका परिकार पु¥याउने काम गर्छन् ।
पछिल्लो समय दुग्ध व्यवसाय गर्ने डेरीहरू धेरै खुलेका छन् जिल्लामा । ५, ७ वटा अहिले पनि चलिरहेका छन् तर उनीहरूले ब्रान्ड स्थापित गर्न सकेका छैनन् । जिल्लामा कोसेलीको परिकार ब्रान्ड बनेको छ ।
बजार प्रतिस्पर्धात्मक छ । बजारमा रहेका डेरीले भन्दा यो डेरीले किसानलाई झन्डै १० रुपैयाँको हाराहारीमा बढी रकम भुक्तानी गर्छ । अरूभन्दा सस्तोमा बजारमा दुग्धजन्य पदार्थ बिक्री गर्छ । मासिक भुक्तानी गर्ने, कम्प्युटर सिस्टममा डाटा व्यवस्थित गर्ने, फ्याटको आधारमा दूधको भुक्तानी दिने जस्ता कारणले किसान पनि सन्तुष्ट छन् ।
उनले नेतृत्व गरेको उद्योगका ४ वटा आफ्नै काउन्टर छन् । ३० वटा शाखाबाट दूधका परिकार बिक्री वितरण हुन्छन् । तैपनि जिल्लामा उपभोक्ताको माग पूरा गर्न नसकिएको काफ्लेले बताइन् ।
उद्योगले दूधबाट दही, घिउ, पनिर, छुर्पी, खुवा, पुस्टकारी, पेडा, कुल्फी, आईसक्रिमलगायतका सामग्री उत्पादन गर्छ । सिन्धुली जिल्लाभरि, काठमाडांै, सर्लाही, विराटनगर, इटहरीलगायतका ठाउँमा उत्पादित सामग्री बिक्री वितरण हुन्छ । तथापि जिल्लामा नै अत्यधिक बजार छ । विशेषगरी कोसेलीको छुर्पी काठमाडांै हँुदै अमेरिकासम्म जाने काफ्लेले बताइन् ।
उनको उद्योगमा मासिक ५० लाखको हाराहारीमा कारोबार हुन्छ । ३० देखि ३५ लाख रकम किसानलाई मासिकरूपमा भुक्तानी गर्छन् । कारोबार धेरै हुँदै गएपछि अहिले उद्योगलाई कम्पनीमा लगिएको छ । २०७७ सालदेखि कोसेली डेरी उद्योग प्रालि भएको छ । बर्सेनि राज्यलाई करिब डेढ लाख बढी कर तिरिरहेको छ यो उद्योगले ।
उनको डेरीलाई स्थानीय तहको सहयोग त छैन नै विरोध तीव्र छ । बजार धेरै लिएकोमा सरकारी निकायलाई समेत औडाहा छ । न कुनै पुरस्कार त न कुनै अनुदानमा उनको जोड रहन्छ । आफ्नै लगानी, आफ्नै मेहनतमा उद्योगले गति लिइरहेको छ ।
सफल उद्यमीका नाममा पहुँचका आधारमा धेरैलाई राज्यले पुरस्कृत गरेको छ तर काफ्लेले कहिल्लै पनि पुरस्कारको आश गरिनन् । न त राज्यका निकायले उनलाई पुरस्कार प्राप्त गर्ने लायक नै देख्यो । बरु राजनीतिक पहुँच देखाएर अस्वस्थ प्रतिस्पर्धा गरी उद्योग धराशायी बनाउन राजनीतिक तबरबाट दुःख दिइरह्यो । जसमा राज्यका केही निकाय पनि सक्रिय रहे । तैपनि कहिल्लै विचलित भइनन् उनी । ‘कसैको आश न निराश’ उनी भन्छिन् । दुई वर्षअघि उनलाई बाग्मती प्रदेश सरकारले पेवा कार्यक्रममार्फत २ लाख कुल्फी किन्ने मेसिनका लागि अनुदान दियो । त्योबाहेक महिला उद्यमी भएकै कारण कुनै सुविधा लिएकी छैनन् उनले ।
तुलनात्मकरूपमा किसानलाई महँगो मूल्य दिने र सस्तोमा बजारमा दुग्ध सामग्री पठाएको यो उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले २०७४ सालमा गुणस्तर मापनको अनुज्ञापत्र दिएको छ । पटक पटक गुणस्तरीयतामा प्रश्न उठाउँदै प्रतिस्पर्धीले उजुरी दिए पनि अनुगमनमा हालसम्म गुणस्तरमा फेल हुनुपरेको छैन उनको उद्योगले । भन्छिन्, ‘गुणस्तर कायम गरेपछि न त प्रचार नै चाहिन्छ, न त सरकारको नुन ।’
उद्यमीदेखि नेतृत्वसम्म
उनी उद्यमी मात्र हैन सामाजिक, राजनीतिक नेतृत्व पनि हुन् । हाल सिन्धुली उद्योग वाणिज्य संघको सचिव, जिल्ला महिला उद्यमी संघको सचिव, अखिल नेपाल किसान महासंघको जिल्ला कोषाध्यक्ष हुन् उनी । यस्तै अन्य दर्जनको हाराहारीमा आर्थिक, धार्मिक तथा सामाजिक संघसंस्थाहरुमा आवद्ध छिन् उनी । उनको विचारमा नेतृत्व कला हो, क्षमता र बाँच्ने सीप पनि हो । ‘उद्यमसँगै नेतृत्व लिनुपर्ने रहेछ भन्ने लागेर नेतृत्वमा आएँ’, उनी भन्छिन् ।