Play

अमेरिका-इरानको बार्तालाई निरन्तरता दिन विश्व समुदायको अपिल : कुटनीतिक प्रयास कमजोर, युद्धको जोखिम बढ्दो

गुरुकुल खबर


एजेन्सी / काठमाडौँ, पश्चिम एसियामा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबिचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पारेका छन् । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताए । यसैबिच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ ।

तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ ।

यद्यपि, अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ ।

इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले साे क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताए ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले पनि देश कुनै दबाबमा नझुक्ने स्पष्ट पारेका छन् । “यदि युद्ध थोपरियो भने हामी लड्छौँ, र यदि संवाद आयो भने संवादमै अघि बढ्छौँ”, उनको भनाइ उद्धृत गरिएको छ । उता, विदेशमन्त्री अब्बास अराघचीले वार्ता सम्झौताबाट ‘इन्च मात्र टाढा’ पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान बदलेको आरोप लगाएका छन् ।

यसबिच, तनावको सीधा असर ऊर्जा बजारमा देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ब्रेन्टको मूल्य तीव्र रूपमा बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा अवरोधको जोखिमले आपूर्ति अनिश्चित बनेपछि मूल्य उक्लिएको हो ।

क्षेत्रीय स्तरमा पनि द्वन्द्व शान्त हुने सङ्केत देखिएको छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायल–हिजबुल्लाह युद्ध अन्त्य गर्न प्रयास जारी रहेको बताएका छन् । उनले इजरायली सेना फिर्ता गराउने, कैदीहरू मुक्त गराउने र ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने लक्ष्यमा काम भइरहेको उल्लेख गरे ।

तर इजरायलले भने आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिने सङ्केत दिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाहबाट आउने खतरा नियन्त्रणमा आएको दाबी गरे, यद्यपि ‘सुरक्षा क्षेत्रभित्र युद्ध जारी’ रहेको स्वीकार गरे ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन युनिफिलले इजरायली ट्याङ्कले आफ्ना गाडीहरूमा दुईपटक ठक्कर दिएको र दक्षिण लेबनानका केही मार्ग अवरुद्ध गरिएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ ।

लेबनानमा जारी आक्रमणका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र कुल मृतक सङ्ख्या दुई हजार ५५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले भने वर्तमान युद्धविराम लेबनानमा लागू नहुने बताउँदै हिजबुल्लाहविरुद्ध कारबाही जारी राख्ने अडान दोहोर्याएको छ ।

यसैबीच, पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन् । वार्ताको मध्यस्थकर्ता गरेको पाकिस्तानले युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको भन्दै दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तव्य भएको बताएको छ ।

‘दुई पक्षहरूले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ’ पाकिस्तानका विदेशमन्त्री इशाक दारले भने, ‘इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता र संवादका लागि पाकिस्तानले आगामी दिनमा पनि आफ्नो भूमिकालाई महत्त्वका साथ अघि बढाउनेछ ।’ जारी खाडी द्वन्द्व समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली संघका विदेश मामिला हेर्ने शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताए ।

रुसले पनि आगामी दिनमा युद्धविराम मध्यस्थताका लागि इच्छा देखाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिम एसियामा शान्ति स्थापनाका लागि मध्यस्थताको प्रयासमा सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

‘रुसी नेता पुटिनले द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधानलाई अझ सहज बनाउन र पश्चिम एसियामा न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परतामा जोड दिनुभएको छ,’ क्रेमलिनद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । बेलायतले वार्ता निष्कर्षविहीन अवस्थामा टुंगाउँदै दुवै देशका वार्ता टोली फर्कनुले निराश बनाएको बताएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्युजसँग भने, ‘वार्तामा सफलता हासिल नगर्नु र इरानमा जारी युद्धको अन्त्य नहुनु निराशाजनक हो । कूटनीतिमा वार्ता सफल नहुँदासम्म तपाईं असफल भएको मानिन्छ । सबै वार्ताहरू सफलतामा समाप्त नहुन सक्छन्, यसको मतलब यो होइन कि प्रयास जारी राख्नुको कुनै औचित्य छैन ।’

अस्ट्रेलियाले पनि थप वार्ताको आग्रह गरेको छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले एक विज्ञप्ति जारी गर्दै ‘अहिलेको प्राथमिकता युद्धविरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु’ रहेको बताएका छन् ।

३० चैत्र २०८२, सोमबार ११:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा