वीरगन्ज, पर्सा जिल्लाको वीरगन्जमा सामुहिक कुटपिटबाट एक प्रहरी जवानको बीभत्स हत्या गरिएको छ। कुटपिटबाट मारिनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर-९ मा घर भएका प्रहरी जवान विकास चौरसिया रहेको बताइएको छ। आइतबार अपरान्हतिर केही युवकहरूको समूहले प्रहरी जवान चौरासियालाई सामुहिक आक्रमण गरि निर्घात कुटपिट गरिरहेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते रहेका चौरसियाको उद्धार गरेको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरिदिएका थिए।
घटना सार्वजनिक भएपछि पर्सा जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्न रहेको आरोपमा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चारजना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना भने प्रहरीले सार्बजनिक गरेको छैन तर पक्राउ पर्नेमा एकजना महिला समेत रहेको श्रोतले जनाएको छ। पर्सा प्रहरीले उनीहरूमाथि सूक्ष्म अनुसन्धान भैरहेको र घटनाको बास्तबिक कारण पत्ता लगाउन प्रयास भैरहेको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो हत्याको पछाडि प्रेम सम्बन्ध मुख्य कारण हुन सक्ने देखिएको छ। मृतक प्रहरी जवानको कुनै एक महिलासँग प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि, घटनाको पूर्ण विवरण र हत्याको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
कैलालीमा पनि सामुहिक आक्रमणबाट युवाको मृत्यु
यसैगरी कैलाली जिल्लाको गौरीगंगा नगरपालिका- ११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको पनि सामुहिक कुटपिट गरेर हत्या गरिएको छ। अघिल्लो साता भएको उक्त घटनामा संलग्न भएको अभियोगमा चार जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय बिशाल विक र ३० वर्षीय धर्म विक रहेको प्रहरीले जनाएको छ।
बाख्रा चोरी गरेको विषयमा बिबाद उत्पन्न भएपछि उनीहरुले सुरेश भुललाई शनिबार राति कुटपिट गरेको र उनीहरुको आक्रमण बाट गम्भीर घाइते भएका सुरेशको स्थानीय निसर्ग अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । सुरेशको मृत्युपछि प्रहरीले आक्रमणकारी चारजनालाई पक्राउ गरेको हो यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।
पछिल्ला केहि दिनमा बिरगंजमा मात्र नभएर पोखरा र ललितपुर जस्ता शहरमा पनि दिउँसै सांघातिक आक्रमण गरेर ज्यान गुमाएका घटनाहरु सार्बजनिक भैरहेका छन। पोखराको मुख्य बजार क्षेत्र सभागृहचोकमा अघिल्लो साता स्थानीय ४२ बर्षीय सम्झना पौडेल केसीको सडकमा पैदल हिंडिरहेको अबस्थामा खुँडा प्रहार गरेर हत्या गरिएको थियो। यसैगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा एक सन्जिब नेपाली नामका युवाको छुरा प्रहारबाट सुमित र सृजन नेम्वांग गरि दुईजना दाजुभाइको ज्यान गएको थियो ।















