बाल्टिमोर (अमेरिका), पत्रकारिता, सामाजिक अभियान र राजनीतिमा सक्रिय सतिश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यमा हाउस अफ डेलिगेट्सका लागि चुनावी अभियानमा होमिएका छन। मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य समेत रहेका चापागाईले मेरिल्याण्डको डिष्ट्रिक ७ ए बाट हाउस अफ डेलिगेट्स बन्नका लागि चुनावी अभियान अघि बढाएका छन् । अघिल्लो महिनामा उम्मेद्वारी दर्ता गराएका चापागाईं अहिले चुनावी प्रचार प्रसारमा सक्रियता पुर्वक लागेका छन् ।
मेरिल्याण्ड राज्यमा नेपालीसहित आप्रवासीहरुको बसोबास उल्लेख्य मात्रामा रहेको छ । लामो समयदेखि मेरिल्याण्डको बाल्टिमोरमा बस्दै आएका चापागाई स्थानीयस्तरमा नेपालीहरु सम्बद्ध रहेका बिभिन्न संघ संस्था र अभियानमा पनि निरन्तर सक्रिय रहेका छन् । वाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका पूर्व उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ, अमेरिकाका सल्लाहकार एबम पूर्व मिडिया संयोजक चापागाई नेपाली समुदायका साथै वाल्टिमोरको आप्रवासी समुदायमा पनि परिचित छन् ।
चापागाईले नेपाली समुदायको बाक्लो उपस्थितिका बीच आफ्नो चुनावी प्रचार अभियानको आरम्भ गर्दै आफ्नो उम्मेद्वारी सबै नेपाली समुदायको उम्मेद्वारी रहेको कारण सबैको सहयोगका लागि आग्रह गरेका छन। उनले आफ्नो उम्मेद्वारी सबै नेपालीका सन्ततीहरुका लागि प्रवेशद्धारको रुपमा रहेको बताए । चापागाईको डिष्ट्रिकमा उनको डेमोक्रेटिक पार्टीको प्राईमरीमा २ सिटका लागि ४ जनाको उम्मेद्वारी परेको छ । उनले डेमोक्रेटिक पार्टीभित्र प्राइमरी इलेक्सन लड्न लागेका हुन् । चापागाईसंगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा छन् ।

चापागाई अहिले सोही डिष्ट्रिकबाट उक्त पार्टीको केन्द्रिय सदस्य छन् । चार बर्ष अगाडी चापागाईले ४ हजार १ सय मत ल्याएर पार्टीको केन्द्रिय सदस्य पदमा विजय हासिल गरेका थिए ।आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि मेरिल्याण्डमा राज्यमा यहि जुन २३ मा प्राइमरी निर्वाचन हुदैछ । “पार्टी कै साथीहरुको सल्लाह, सुझाब र सहयोगबाट मैले उम्मेद्वारी दर्ता गराएको छु ।” चापागाईले भने।
प्राईमरी इलेक्सनमा जितेपछि चापागाईले रिपब्लिकन उमेद्वारसंग नोभेम्बरमा उक्त पदको लागि प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । ८३ हजार जनसंख्या रहेको यस डिष्ट्रिकमा ४ प्रतिशत एशियन मूलका मानिसहरुको बसोबास रहेको छ । प्रतिशतका आधारमा यो क्षेत्रमा ४४ दशमलव ९ प्रतिशत रिपब्लिकन, ३४ दशमलव ७ प्रतिशत डेमोक्र्याटिक र १८ दशमलव ९ स्वतन्त्र मतदाता रहेका छन् ।
२००८ देखि बाल्टिमोरमा बस्दै आएका चापागाई नेपालमा रहँदा विभिन्न संचार माध्यमहरुमा रहेर एक दशक बढी पत्रकारिता गरेका थिए , पत्रकारिताकै दौरान प्रशिक्षक देखि नेपाल प्रेस युनियनको पाल्पा जिल्ला सभापति र केन्द्रीय उपाध्यक्ष समेत बनेका उनि नेपाल अमेरिका पत्रकार संघ नेजाका हाल विधान समितिका संयोजक समेत हुन उनि बाल्टिमोरमा व्यवसायीको रुपमा पनि परिचित छन ।
श्रीमती र दुई छोरीका साथ बाल्टिमोरमा बस्दै आएका चापागाई साहित्य क्षेत्रमा पनि निरन्तर सक्रिय छन । उनले रचना गरेका गीतहरु निकै लोकप्रिय रहेका छन् ।















