पोखरा, पोखराको मुख्य बजार क्षेत्रको सडकमा एक महिलामाथि हतियार प्रहार गरेर हत्या गरिएको घटनापछि मानवअधिकार तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । महिलाहरुको एक प्रतिनिधिमण्डलले यस सम्बन्धि ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मालाई बुझाउंदै कारबाहीको माग गरेको हो ।
यहि चैत २५ गते साँझ करिब ७ बजे पोखराको सभागृहचोक नजिक सिर्जना पौडेल केसीको हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको भन्दै शान्त र पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना हुनुले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उनीहरुले उल्लेख गरेका छन् । ध्यानाकर्षण पत्रमार्फत उनीहरुले मृतकका आफन्तलाई न्याय दिलाउन, घटनामा संलग्न दोषीलाई कानुनी कडा सजाय दिन तथा मृतककी नाबालिका छोरीको पालनपोषण, शिक्षा र सुरक्षाको जिम्मा लिन सरकारसंग माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझेपछि कास्कीकी प्रमुख जिल्ला अधिकारी शर्माले उक्त घटनाप्रति आफू संवेदनशील रहेको बताउंदै समाजमा पछिल्लो समय यस्ता जघन्य अपराधका घटनाहरू बढिरहेको भन्दै दुख प्रकट गरिन । उनले यस किसिमका घटनाहरु प्रायः परिवारभित्रैका समस्याबाट हुने गरेको समेत बताइन। परिवारभित्रका समस्या समयमै समाधान नभएपछि त्यसले पछि गम्भीर अपराधको रूप लिन सक्ने उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी शर्माले उक्त घटनामा दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रशासनले आफ्नो तर्फबाट पूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। प्रतिनिधिमण्डलमा सहभागी महिला एबम अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता घटनाको न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन र सुरक्षित सामाजिक वातावरण निर्माणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा कास्कीका विभिन्न मानवअधिकार तथा महिला अधिकारसम्बन्धी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको टोलीको सदस्य समेत रहेकी पत्रकार उमा आले मगरले गुरुकुल खबरलाई जानकारी दिईन।
















