Play

चुनाबमा हार व्यहोरेपछि कारण खोज्दै कांग्रेस: ‘निर्बाचन समिक्षा र अबको बाटो’ बिषयमा पोखरामा छलफल

कांग्रेसलाई अगाडी बढाउन केन्द्रिय समिति गम्भीर छ - गगन थापा, केन्द्रीय समिति भंग गरेर महाधिबेशन तयारी समिति बनाऔं- शंकर भण्डारी


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगनकुमार थापाले नेपाली काँग्रेसमा एकता र अनुशासनको खाँचो औंल्याउदै काँग्रेसले आंफ्नो काम गर्ने तौरतरिकामा परिबर्तन गर्न आबश्यक रहेको बताएका छन । सभापति थापाले पुरानै किसिमले पार्टीलाई अगाडि लैजान नसकिने भन्दै हरेक कार्यकर्ताले आफ्नो समीक्षा आफैँ गर्न र आफ्नो कार्यशैली बदल्न जरुरी भएको बताए ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्बाचनमा नराम्रो पराजय भोगेको नेपाली काँग्रेसले  ‘निर्वाचन समीक्षा र काँग्रेसको अबको बाटो’ विषयमा बिभिन्न प्रदेशमा अन्तरक्रिया एबम समिक्षा कार्यक्रम आयोजना गर्दैछ।

यसै क्रममा गण्डकी प्रदेशको पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति थापाले देशकै पुरानो र इतिहास बोकेको नेपाली काँग्रेस अप्ठेरो अबस्थामा पुगेको स्वीकार गरे। उनले भने ‘अहिले कांग्रेस अप्ठेरो अबस्थामा पुगेको छ, अब काँग्रेसलाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा केन्द्रीय समितिले चिन्तन गरिरहेको छ।’

कांग्रेस सभापति थापाले संसारभर पपुलिजम र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठेरोमा परेको बताउँदै सबैतिर राजनीतिक र आर्थिक उदारवाद आवश्यक देखिएको बताए । यतिबेला जेनजीदेखि वृद्धसम्मका कुरा सुन्ने र नेपाली काँग्रेस पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा केन्द्रीय समितिले अभियान संचालन गर्न लागेको स्पष्ट पार्दै थापाले काँग्रेसलाई कसरी जनतामाझ लोकप्रिय बनाउने भन्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने कुरामा समेत जोड दिए।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट काँग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नरहेको दाबि गरे । अब पार्टीलाई एकढिक्का बनाएर कसरि अगाडि बढाउन सकिन्छ भन्नेबारे चिन्तन गर्न सबै नेताहरु लाग्नुपर्नेमा जोड दिँदै उपसभापति शर्माले सभापति थापाको नेतृत्वलाई अगाडि बढाउँदै पार्टीले आफ्नो कार्ययोजना तीव्र पार्नुपर्ने उल्लेख गरे ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले फागुन २१ को निर्वाचनको परिणामले आन्तरिक रुपमा समीक्षा गर्दै सच्चिएर जान मौका मिलेको बताउँदै पार्टीभित्र कुन कुन बिषयमा सुधार आबश्यक छ भन्नेमा सबै गम्भीर बन्नुपर्ने बताए । काँग्रेसले वैशाखदेखि ‘जरा अभियान’ सुरु गर्ने बताउँदै पौडेलले अब जनतासँग काँग्रेस जोडिएर उनीहरुका हरेक समस्यामा साथ दिन आवश्यक भएको पनि उल्लेख गरे । ‘पार्टी एकताको आधार १५ औं महाधिवेशन हो, यसलाई सफल बनाउन हामी सबै जुटौं,’ महामन्त्री पौडेलले भने ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेसले निर्वाचनमा पराजय भोगेको भएपनि पद्दतिमा जितेको बताउँदै नेपाली जनताले कांग्रेसलाई आगामी ५ वर्षका लागि मेहनत गर्न सुझाव दिएको उल्लेख गरे । ५ वर्षको मेहनतबाट कांग्रेसलाई मुलुकको पहिलो पार्टी बनाउने अभियानमा सबै नेता कार्यकर्ता जुट्नसमेत चालिसेले आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काँग्रेसले यस्तो पराजय पहिलाका वर्षहरुमा पनि भोग्दै आएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

नेपाली काँग्रेस तनहुँका सभापति जितप्रकाश आलेले मतदाता बढाउनेभन्दा पनि नेता बढाउने अभियानमा कांग्रेस लागेकै कारण निर्वाचनमा कांग्रेसले कमजोर नतिजा हात पारेको बताए । यसैगरी नेपाली काँग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले जेनजी समूहका मागलाई पार्टी नेतृत्वले समयमै सम्बोधन गर्न नसक्दा कांग्रेसको पक्षमा मतदाता नदेखिएको बताए ।

स्याङ्जा क्षेत्र न – २ का उम्मेदवार भागवतप्रसाद मल्लले जेनजी समूहको साथै विदेशमा रहेका युवा समेट्न नसक्दा, सुशासनमा ध्यान नदिँदा र माथिल्लो तहका नेता कार्यकर्ताले तल्लो तहका नेता कार्यकर्तालाई बेवास्ता गर्दा देशैभरि कांग्रेसले पराजय भोग्नुपरेको सुनाए ।

कास्की -३ का उमेदवार मनोज गुरुङले चुनाबको शुरुवातको दिनमा कांग्रेसको पक्षमा दखिएको माहौल पछिल्लो समय कायम हुन नसकेको भन्दै जनप्रतिनिधि वा नेताको कारण हो वा पार्टी भित्रको मतभेदको कारण हो कांग्रेसमा मत दिनेहरुले समेत अरुलाई रोज्न पुगेको भन्दै आश्चर्य प्रकट गरे ।

कास्की क्षेत्र २ का उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ ले काँग्रेसले काँग्रेसलाई नै भोट नदिएका कारण पराजयको अवस्था सृजना भएको ठोकुवा गरे । बास्तोला जस्तै गण्डकीका अधिकांश उम्मेदवारले पनि काँग्रेसकै नेता तथा कार्यकर्ताको अन्तरघातका कारण चुनावी परिणाम कांग्रेसको पक्षमा आउन नसकेको दाबि गरे।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका नेपाली काँग्रेसका सभापति, ११ जिल्लाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुले आआफ्नो भनाई राखेका थिए। नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुलाई नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले स्वागत गरेका थिए ।

कार्यक्रममा फागुन २१ को निर्बाचनमा उमेदवार बनेकाहरुलाई बोल्न दिइएको भएपनि बिशेष महाधिबेशनको पक्षमा नलागेका १४ औं महाधिबेशनबाट निर्बाचित सहमहामन्त्री जिबन परियार लगायतका कतिपय नेताहरुलाई भने आयोजकले बोल्ने समय नदिईएको बताइएको छ।

केन्द्रीय कार्यसमिति र भातृसंस्था भंग गरेर कांग्रेस महाधिवेशनमा  जानुपर्छकांग्रेस नेता शंकर भण्डारी 

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एबम पुर्व मन्त्री शंकर भण्डारीले पार्टीको बर्तमान केन्द्रीय कार्यसमिति र बिभिन्न भातृ संस्था भंग गरेर नेपाली काँग्रेस महाधिवेशनमा जानुपर्ने कुरामा जोड दिए । पार्टीको बिशेष महाधिबेशन पश्चात पार्टीको आधिकारिकताको बिषयमा बिबाद रहेको तर्फ लक्षित गर्दै कांग्रेस नेता भण्डारीले १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिता पाएपनि त्यो केन्द्रीय समितिलाई समेत भंग गरि महाधिबेशन आयोजक समिति गठन गरेर महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।

पार्टीको १५ औं महाधिबेशन सम्पन्न गर्न सानो आकारको आयोजक समिति बनाउन उपयुक्त हुने भण्डारीले सुझाब दिए । ‘पार्टीका नेताहरु माथि सरकारले प्रतिशोध साँधेर फसाउन खोज्दा पनि पार्टीको तर्फबाट कुनै धारणा नआउनु ठूलो कमजोरी हो’ भण्डारीले बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगन र उपसभापति विश्वप्रकाश तर्फ फर्किएर भने ।

कांग्रेस पार्टी र नेताहरुमाथि यस अगाडि पनि पटकपटक प्रहार हुने गरेकोले यस पटकको प्रहारलाई अन्यथा मान्न नहुने भण्डारीको भनाई थियो । त्यस्तै भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा कांग्रेसले जायज प्रश्न समेत उठाउन नसक्नु कांग्रेसको कमजोरी भएको भण्डारीले बताए । उनले संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दूराष्ट्रको एजेण्डालाई कांग्रेसले अगाडि बढाउन आबश्यक रहेको र यहि एजेण्डाले कांग्रेसलाई नयाँ जीवन दिनसक्ने बिश्वास भण्डारीले व्यक्त गरे ।

२८ चैत्र २०८२, शनिबार ००:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा