काठमाडौँ, फागुन २१ गतेको निर्बाचनबाट बनेको प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा ठाकुरको पक्षमा २ सय २९ मत परेको थियो भने उपसभामुखकी अर्की उमेदवार राप्रपाकी सरस्वती लामाको पक्षमा ५ मत परेको थियो।
रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका हुन् ।
२२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । उक्त प्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित थिए । उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृति पार्टीकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातितर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।

उपसभामुखमा निर्बाचित रुवीकुमारी १८ चैत २०५६ मा जन्मिएकी हुन् । उनी धनुषाको मझेलियास्थित ठाकुर बस्तीकी स्थानीय हुन् । रुवी राजनीतिमा आएको दुई महिना मात्र कटेको छ । धनुषाको बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गरिरहेकी उनी साम्पाङसँग भेटेपछि श्रम संस्कृति पार्टीमा आबद्ध भएकी हुन् ।
प्रतिनिधिसभाको कान्छी सांसदमा पर्ने रुवी कम उमेरमा उपसभामुख बन्ने सांसद पनि बनेकी छन् । उनका बाबु सोगराथ ठाकुर रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी हुन् । उनको परिवार दुई बिघा जमिन अधियाँमा लिएर खेती गर्दै आएको छ । ७ महिनासम्म नक्सा बनाउने, टुडी र थ्रिडी डिजाइन जस्ता प्राविधिक काम गरिरहेको अवस्थामा सांसद बनेकी रुवी अब मुलुकको उपसभामुख बनेकी छन् ।
उनी संवैधानिक परिषदमा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख डीपी अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दलका नेतासँगै सहभागी हुनेछिन् । परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक आयोगमा हुने नियुक्तिका लागि सिफारिस गर्नेछ । उनले ती नियुक्तिसँगै संसदमा कानुन निर्माणमा पनि भूमिका खेल्न सक्नेछिन् ।
















