पोखरा, पोखराको मुख्य बजार क्षेत्र सभागृहचोक नजिकै हतियार (खुँडा) प्रहार गरेर एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्बजनिक गरेको छ । बुधबार बेलुका करिब ७ बजेतिर सडकमा हिँडिरहेको अवस्थामा ४२ बर्षीय सिर्जना पौडेल केसीलाई अज्ञात व्यक्तिले हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट पत्ता लागेको छ । मृतक सिर्जना पोखरा महानगरपालिका वडा न. ५ जिरो किलोमिटर नजिक घर भएपनि पछिल्लो समय पोखरा महानगरपालिकाको वडा नम्बर १८ सेदीमा बस्दै आएकी थिइन् ।
एक युवकको हतियार प्रहारबाट रक्ताम्य अबस्थामा सडकमा ढलेकी ति महिलालाई तत्कालै नजिकैको गण्डकी मेडिकल कलेजमा उपचारार्थ लागिएको भएपनि डाक्टरले उनको मृत्यु भैसकेको जनाएका थिए । घटना भएको तिन दिनपछि शुक्रबार प्रहरीले ति महिलाको हत्यामा संलग्न रहेको आरोपमा पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो ।
पोखराको सभागृह नजिकको सडकमा उभिरहेको अबस्थामा हतियार प्रहार गरेर शिवालय चोक तर्फ भागेका युवक सन्तोष भन्ने शिशिरलाई रुपन्देहीको बुटवल नगरपालिका – २ मनकामना टोलबाट र कुशललाई पोखराबाट शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । कास्की प्रहरीले अभियुक्तहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । प्रहरीले घटनामा अन्य मतियार वा सहयोगीको संलग्नता भए नभएको बारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान जारी रहेको बताएको छ ।

( महिलाको हत्यामा प्रयोग गरिएको र प्रहरीले बरामद गरेको स्कुटर र हतियार )
ति महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेकामध्ये सन्तोष यसअघि पनि अभद्र व्यवहार, चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको र कुशल लागुऔषध मुद्दामा जेल परिसकेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घटना पारिवारिक बेमेल र सम्पत्तिको विवादका कारण भएको देखिएको छ ।
मृतक सृजना पोखराको जिरो किलोमिटर चोक नजिक खसीको मासु सहित रेस्टुरेन्टको ब्यापार गर्ने कृष्ण क्षत्री अर्थात ‘खसी कृष्ण’ को दोश्री श्रीमती हुन । कृष्णको पहिलेकी श्रीमतीको मृत्यु भएको र जेठी श्रीमतीतर्फ १ छोरा र २ छोरी रहेको बुझिएको छ। कृष्ण क्षेत्रीका जेठी श्रीमतीतर्फका छोरा हाल लागुऔषध मुद्दामा जिल्ला कारागार कास्कीमा थुनामा रहेको छन।
३ वर्षअघि कृष्णको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी सिर्जनासँग उनकी ४ वर्षकी छोरी रहेकी थिइन् । कास्की जिल्ला अदालतले बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्र विवाद चुलिएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न व्यक्तिले अनुहारमा मास्क र हेलमेट लगाएर स्कुटरको नम्बर प्लेट समेत छोपेर आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा ७ मुस्ताङ चोकबाट बरामद गरेको छ । त्यस्तै, हत्यामा प्रयोग गरिएको रगत लागेको धारिलो हतियार (खुँडा) पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराई र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यो घटनाको सफल अनुसन्धान गरेको हो ।

















