काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले आंफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा नियुक्ति गर्दा खुला प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइने बताएका छन। यस अगाडिका सरकारले सिफारिसमा आधारित नियुक्ति प्रणाली अपनाउने गरेको बताउंदै उनले त्यस किसिमको प्रक्रिया अन्त्य गरि पारदर्शी र मेरिटोक्रेसीमा आधारित छनोट प्रक्रिया लागू गर्ने प्रतिबद्दता व्यक्त गरेका हुन । कास्की जिल्लाको निर्बाचन क्षेत्र न. १ बाट निर्बाचित सांसद पौडेलले अब सबै निकायमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गरी सुशासन, पारदर्शिता र व्यावसायिकता स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
मन्त्रालयमा केहि संचारकर्मीसंगको कुराकानीमा मन्त्री पौडेलले अब लोक सेवा आयोगको सहभागितामा खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिहरू छनोट गरेर नियुक्ति गरिने दाबि गरे। ‘पहिले जस्तो नाम सिफारिस गरेर मन्त्रिपरिषद्बाट नियुक्ति गर्ने प्रचलन अन्त्य हुन्छ,’ उनले भने, ‘ अब योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति हुनेछ।’
विगतमा मन्त्रीको तजबिजका आधारमा गरिएका धेरै नियुक्तिहरू विवादित बनेको र केहि भ्रष्टाचारमा समेत मुछिएको बताउंदै मन्त्री पौडेलले सुशासन कायम गर्न नयाँ प्रणाली आवश्यक भएको स्पष्ट पारे । अहिले पनि मन्त्रालयअन्तर्गतका प्रमुख निकायहरूमा नेतृत्व रिक्त छ। नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद खाली छन् । यस अगाडिको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निगमको बोर्ड संचालक सदस्य अमृतमान श्रेष्ठलाई कामचलाउ कार्यकारी निर्देशक तोकेर काम गरिरहेको थियो ।
यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अनियमितताको आरोपमा मुद्दा दर्ता भएपछि उक्त पदमा पनि निमित्त महाप्रबन्धकको रुपमा देवचन्द्रलाल कर्णले जिम्मेवारी सम्हालिरहेका छन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमलगायत २५ वटा संस्थाहरू रहेको र यिनमा १ सय ७१ जनासम्म राजनीतिक नियुक्ति गर्न मिल्ने अबस्था रहेको बताइएको छ।
















