पाेखरा, पूर्वाधार र विपद् व्यवस्थापन अनि शहरी योजनाको क्षेत्रमा गरेको कामको मूल्यांकनका आधारमा नगरपालिकाहरुको संस्था ‘नेपाल नगरपालिका संघ’ले पोखरा महानगरपालिकालाई पुरस्कृत गरेको छ ।
देशभरका नगरपालिकाहरुमध्ये पुर्वाधार र विपद ब्यबस्थापन संगै शहरी योजनाको क्षेत्रमा गरिएको मूल्यांकनमा ९५ प्रतिशत अंक प्राप्त गरेर पोखरा महानगरपालिका सर्वोत्कृष्ट घोषित भएर ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्राप्त गर्न सफल भएको हो ।

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
पोखराले देशभरका अन्य नगरपालिकाहरुलाई पछाडी पार्दै उक्त अवार्ड प्राप्त गरेपछि पोखरामहानगरका प्रमुख आचार्यले यो अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीका लागि निकै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीहरुका लागि निकै महत्वपूर्ण छ ।’
आचार्यले यो सफलता नगरवासीहरुको निरन्तर साथ र विकास प्रतिको प्रतिबद्धताका कारण सम्भव भएको उल्लेख गरे । उनले खुसी व्यक्त गर्दै सामाजिक संजाल मार्फत महानगरवासी र महानगरपालिका परिवारलाई बधाई तथा शुभकामना दिनुको साथै आंफुले उक्त अवार्ड ग्रहण गरेको तस्बिर समेत सार्बजनिक गरेका छन् ।
















