Play

मन्त्री बनेको १३ दिनमै बर्खास्त: किन हटाइए श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार शाह ?

गुरुकुल खबर


काठमाडौँ, रास्वपाका बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारीमा रहेका दीपककुमार साह मन्त्री बनेको १३ दिनमै हटाइएका छन। यहि चैत्र १३ गते मन्त्रीमा नियुक्त भएका शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीको निर्देशनमा हटाइएको बताइएको छ। आंफ्नो श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाउने मोह र विवादस्पद अभिव्यक्ति दिएको उनलाई प्रधानमन्त्री शाहले बर्खास्त गरेको भनिएपनि खास कारण भने खुल्न नसकेको कतिपयको भनाई छ।

मन्त्री साहले आफ्नो श्रीमती जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको राष्ट्रिय बिमा बोर्डको सदस्यको काममा लगाएपछि प्रधानमन्त्री शाहले पदमुक्त गरेको केहीको भनाई छ। बिगतमा बोर्डको सदस्य रहेकी श्रेष्ठलाई स्वास्थ्यमन्त्री निशा मेहताको सहमतिमा स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुन: नियुक्त गरिएको कारण हटाइएको बताइएपनि मन्त्री साहको पछिल्लो अभिव्यक्तिका कारण प्रधानमन्त्री कार्यालयसमेत असन्तुष्ट रहेको र सोहि कारणले उनलाई बर्खास्त गरिएको पनि बताइन्छ ।

प्रधानमन्त्रीको सचिबालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति रबि लामिछाने समक्ष कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सभापति लामिछानेले पनि प्रधानमन्त्री शाहलाई  सिफारिस गरेपछि उनलाई मन्त्री पदबाट बर्खास्स्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

१० औं राष्ट्रिय बिमा दिवसको अवसरमा मन्त्री शाहले देश नेताले मात्रै नभई कर्मचारीले डुबाएको अभिव्यक्ति दिएका थिए । ‘स्वास्थ्य बिमाको तिर्नुपर्ने रकमको बक्यौता ठूलो छ । तीनदेखि चार अर्ब उठ्ने, तर २८ देखि ३० अर्ब खर्च हुन्छ । सरकारले कसरी यो धान्ने हो । हामी सही दिशामा छैनौँ । सबैभन्दा पहिला आत्मालोचना गरौँ । स्वास्थ्य बिमा बोर्डका साथीलाई आत्मालोचना गर्न सुझाव दिन्छु,’ उनले कार्यक्रममा भनेका थिए, ‘स्वास्थ्य मन्त्रालयका साथीहरु भन्छन् स्वास्थ्य बिमा अलग्गै हो । उहाँहरु आफैँ निर्णयहरु लिनुहुन्छ । तर, जहिले पनि एउटा स्वास्थ्य मन्त्रालयको सहसचिवको दबाबमा स्वास्थ्य बिमा बोर्ड चल्नुपर्छ । सबैभन्दा पहिला म स्वास्थ्य मन्त्रालयलाई सच्चिन आग्रह गर्छु ।’

स्वास्थ्य मन्त्री शाहले ‘अहिलेसम्मको अवस्थामा यति कमजोर, यति दयनीय र पीडादायी स्थितिमा स्वास्थ्य बिमा बोर्ड छ भने सबैभन्दा प्रमुख भूमिका स्वास्थ्य मन्त्रालयको भएको’ टिप्पणी गरेका थिए । ‘यो नेताले मात्रै होइन, कर्मचारीले डुबाएको हो यो देश हजुर । मन्त्रीको पद सम्हालेदेखि यस्तो लाग्न थालेको छ । कर्मचारीलाई तपाईँहरु बढी आत्मोचना गर्नुस् । नेताहरु घुमाउने काम बन्द गर्नुस्,’ उनले सम्बोधन गर्दै भने, ‘बोर्डको सदस्य हस्ताक्षर गर्ने मात्रै हो ? हस्ताक्षर गरेपछि के निर्णय भयो थाहा छैन । अध्यक्ष र सदस्यसचिवले जे लेखिदिए पनि चल्दोरहेछ । बोर्ड सदस्यलाई रबरस्ट्याम्प मात्रै प्रयोग गर्ने बन्द गर्नुपर्छ ।’

सदस्यको कार्यकारी भूमिका नभएको भन्दै साहकी श्रीमती श्रेष्ठ तीन पटकभन्दा बढी बोर्डको बैठकमा लगातार सहभागी भएकी थिइनन् । तर, चैत २३ गतेको बैठकमा सहभागी भइन् । त्यसलगत्तै श्रेष्ठको पुन: नियुक्तिसम्बन्धी विषयले चर्चा पाएको थियो । बिना जानकारी तीन पटकसम्म बैठकमा सहभागी नभए कानुनत स्वत: हट्नेछ । ‘स्वास्थ्य बिमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । यो नियुक्ति चार वर्ष अर्थात् २०८४ सालसम्मका लागि हो,’ श्रेष्ठले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन । तसर्थ अहिलेको नियुक्तिसम्बन्धी आइरहेको खबर भ्रामक हो । र त्यसप्रति मेरो खेद छ ।’

अर्कोतर्फ श्रममन्त्री भएलगत्तै साहको ९ वर्ष अघिको पुरानो मुद्दा सार्वजनिक भएको थियो । तत्कालीन महानगरीय अपराध महाशाखा– हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)ले  १६ असोज २०७३ मा एमबीबीएस परीक्षा पास गराइदिने भन्दै तत्कालीन वर्ल्ड वाइड कन्सल्टेन्सीको सञ्चालकको हैसियत रहेको बेला साह र सिन्धुलीका गणेश अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीको विवरण अनुसार काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफू पुतलीसडकस्थित वर्ल्ड वाइड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरूसँग राम्रो चिनजान रहेको भन्दै उनले असोज १५ गतेदेखि काठमाडौँ विश्वविद्यालयबाट हुने एमबीबीएस परीक्षामा पास गरिदिन्छु, तर पैसा लाग्छ भनेर पन्तको आमा विमला पन्तसँग दुई लाख लिने सहमति गरेको आरोप थियो ।
तर, यो मुद्दामा जिल्ला र पुनरावेदनबाट सफाइ दिएको थियो । २०७३ मंसिर १० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले साह र अधिकारीविरुद्धको ठगी मुद्दामा दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । जिल्ला अदालतको फैसला उपर सरकारी वकिल कार्यालयले २०७४ जेठ ३ गते उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ घिमिरे र न्यायाधीश डा. रवि शर्मा अर्यालको इजलासले २०७४ असार ३ गते जिल्ला अदालतको फैसला नै सदर गरेको थियो ।

२६ चैत्र २०८२, बिहीबार १६:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा