पोखरा, यातायात ब्यबस्था कार्यालय पोखरामा कामको लागि पुगेका सर्बसाधारण सेवाग्राहीलाई दुख र हैरानी दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यातायात कार्यालय परिसरमा लेखापढी गर्दै आएका १८ जना लेखापढी ब्यबसायीहरुलाई पक्राउ गरेर छाडेको छ।
उनीहरुलाई अबदेखि सेवाग्राहीमाथि अभद्र व्यवहार नगर्ने, कार्यालय भित्र बिचौलियाको काम नगर्ने, नियमानुसार तोकिएको भन्दा बढी शुल्क नलिने र सेवाग्राहीले स्पष्टसंग देखिने गरि तोकिएको सेवाशुल्क लेखेर राख्नुपर्नेजस्ता प्रतिबद्दता जनाएपछि प्रहरीले मुक्त गरेको जनाएको छ।
प्रहरीले बिचौलियाको आरोप लगाएर पक्राउ गरेपनि उनीहरुलाई कुनै कारबाही समेत नगरी सामान्य प्रतिबद्दता गराएर छोडेपछि त्यसबारेमा बिभिन्न प्रश्नहरु समेत उब्जिएका छन ।
लेखापढी ब्यबसायीको रुपमा बर्षौंदेखि त्यहाँ रहेर यातायातसंग सम्बन्धित बिभिन्न सेवा दिंदै आएकाहरुलाई नै बिचौलियाको आरोपमा पक्राउ गर्नु अनि बिना कारबाही छोड्नुले प्रहरी र यातायातका कर्मचारीको मिलेमतोमा लेखापढी ब्यबसायीसंग बार्गेनिंग मात्र गरिएको त हैन भन्ने प्रश्न समेत उब्जिएको छ ।
पठाओ र इनड्राइभ जस्ता एप्लिकेसनको नाममा ठगि गरेको आरोपमा १० जना पक्राउ
सहज र सुपथ मुल्यमा यातायात सेवा प्रदान गर्ने उद्देश्य लिएर पठाओ र इनड्राइभ जस्ता एप्लिकेसन मार्फत अनलाइन सेवा दिने भनि अनुमति लिएकाहरुले अफलाइन सेवा दिएको र ग्राहक तथा उपभोक्तालाई ठगि गरेको आरोपमा पोखराको बिभिन्न स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन राइड सेयरिङ एपहरूमा आबद्ध भई वा नरही ‘अफलाइन’ मा मोटरसाइकल चलाएर यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार यात्रुहरूलाई अनावश्यक दुःख र हैरानी दिएको गुनासो आएपछि प्रहरीले चलाएको विशेष अपरेसनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको बस्नेतले जानकारी दिए ।
पोखराको बिभिन्न स्थानबाट पक्राउ पर्नेहरुमा स्याङ्जाको भिरकोट नगरपालिका–८ घर भई हाल पोखरा–१४ मझेरीपाटन बस्ने ४४ वर्षीय कृष्णकुमार गहतराज, काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ३० वर्षीय बिक्की लामा र स्याङ्जाको बिरुवा गाउँपालिका–२ घर भई हाल पोखरा–१७ पावरहाउस बस्ने २८ वर्षीय आकाश बिक, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने २६ वर्षीय श्याम काफ्ले र सोही ठाउँका हाल पोखरा–३ नदीपुर बस्ने २५ वर्षीया रेश्मा काफ्ले, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ घर भई हाल पोखरा–९ नयाँबजार बस्ने ३४ वर्षीय अब्जल मिया रहेका छन
यसैगरी स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–३ नदीपुर बस्ने २५ वर्षीय अमृत सुनार र पोखरा–११ फूलबारीका ३७ वर्षीय सूर्यबहादुर नेपाली म्याग्दीको भगवती गाउँपालिका–२ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने २९ वर्षीय अनिल पाइजा र गोरखाको गोरखा नगरपालिका–१४ घर भई हाल पोखरा–७ रत्नचोक बस्ने ३९ वर्षीय नबिल आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














