काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धमा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको दोश्रो दिन एमाले कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भने ‘भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले मेरो संलग्नता रहेको भन्ने कुराको पुष्टि हुनसक्दैन ।’
‘अहिले खासगरी नेकपा एमाले अध्यक्षको तथा तत्कालीन प्रधानमन्त्रीको बारेमा फौजदारी अपराध अनुसार छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गरेको छ । त्यो अपराध अनुसार घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घटना प्रत्यक्ष रूपमा घटाइएको हुनुपर्नेछ,’ उनले भने, ‘भवितव्यले होस् कि लापर्बाही होस् जुनसुकै परिस्थितिमा पनि उसको उपस्थिति घटनास्थलमा आवश्यक छ । प्रधानमन्त्रीले न गोली चलाउँछ, न चलाउने आदेश दिन्छ ।’ ओलीले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने ।
पुर्व प्रधानमन्त्री ओलीले गृहमन्त्री, प्रहरी महानिरीक्षकमाथि पनि कारबाही सिफारिस गर्नु निराधार भएको बताए । ‘त्यो अत्यन्तै निराधार र कानुनी हिसाबले प्रधानमन्त्री, गृहमन्त्री, आईजीपीका बारेमा सिफारिस गर्नै नमिल्ने, कानुनी हिसाबले गर्नै नमिल्ने कुरा हो । जो घटनास्थलमा उपस्थितै छैन ।’ उनले कारबाहीको सिफारिस पनि पूर्वाग्रही भएको बताएका छन् । ‘हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि, केही नभेटेपछि बलजफ्ती लगेर ती दफाहरू ठोसेको छ । यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति प्रकट भएको मात्रै हो त्यस कारण यो निन्दनीय छ ।’उनको भनाई थियो ।














