- गाेरख बहादुर थापा
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला केवल भौगोलिक रूपमा मात्र विशिष्ट छैन, यहाँको कृषि परम्परा पनि उत्तिकै ऐतिहासिक र सांस्कृतिक रूपमा गहिरो छ। विशेषगरी धान खेती, जुन सामान्यतया तल्लो भेगमा हुने मानिन्छ, जुम्लामा भने उच्च भू-भागमै सफलतापूर्वक गरिने अद्वितीय अभ्यास हो। यही मौलिकताका कारण जुम्लालाई “कर्णालीको मुटु” भनेर चिनिन्छ। यहाँ हरेक वर्ष चैत्र १२ गते “धान दिवस” उत्साहका साथ मनाइन्छ, जसले स्थानीय कृषि चक्रको औपचारिक सुरुवातको संकेत गर्दछ।
परम्परागत कृषि चक्रको सुरुवात
चैत्र १२ गते धानका बीउ भिजाउने चलनले खेतीको आरम्भ गर्छ। त्यसपछि १६ गते ती भिजेका बीउलाई घाममा तताएर घरको न्यानो कुनामा भुजपत्रले छोपेर राखिन्छ। यस प्रक्रियाले बीउलाई अंकुरणका लागि उपयुक्त बनाउँछ। चैत्र २० गतेसम्म ती बीउ उम्री तयार हुन्छन् र “वेर्ना” वेन्ना (नर्सरी) मा छर्ने गरिन्छ। त्यसपछि दैनिक रूपमा पानी र हेरचाह गरिन्छ, जसले राम्रो उत्पादनको आधार तयार गर्छ।
ताग्या संक्रान्ति र सांस्कृतिक अभ्यास
नयाँ वर्षको अवसरमा पर्ने “ताग्या संक्रान्ति” जुम्लाको धान खेतीसँग गहिरो रूपमा जोडिएको छ। यस दिन वेर्नामा पुगेर पूजा गर्ने, गुईठाको धुवाँ लगाउने, पानी अर्पण गर्ने चलन छ। महिलाहरूले रंगीचंगी धागाले बनेको “तागा” लगाउने परम्परा पनि यही दिनसँग सम्बन्धित छ। यस दिन बीउ राम्रो भयो वा बिग्रियो भन्ने प्रारम्भिक मूल्यांकन पनि गरिन्छ।
रोपाइँदेखि गोडाइसम्मको यात्रा
जेठ महिनाको पहिलो हप्तादेखि धान रोपाइँ सुरु हुन्छ। सुरुमा च्युउट्या खेतमा रोपाइँ गरिन्छ भने जेठको दोस्रो र तेस्रो हप्तासम्म सबै खेतमा रोपाइँ सम्पन्न हुन्छ। असार महिनामा गोडाइ गरिन्छ र साउने संक्रान्तिसम्म सबै काम सकिन्छ। यसपछि धान विस्तारै बढ्न थाल्छ र खेत हरियालीले ढाकिन्छ।
धार्मिक विश्वास र प्राकृतिक संकेत
श्रावण–भदौ महिनामा खेतमा हरिया वा निला रेखाहरू (नाग जस्ता आकृति) देखिने चलनलाई विशेष संकेतका रूपमा लिइन्छ। यसलाई “नाग” को रूपमा व्याख्या गर्दै ज्योतिषको सल्लाहअनुसार पूजा गरिन्छ—रक्ते नाग भए बलि चढाइन्छ भने दूधे नाग भए दूध चढाइन्छ। यसले कृषि र धार्मिक विश्वासबीचको सम्बन्धलाई प्रष्ट पार्छ।
न्वागी: उत्पादनको मूल्यांकन
घटस्थापनाको समयमा पाकेको धान काटेर “न्वागी” गर्ने परम्परा छ। यो केवल धार्मिक अनुष्ठान मात्र होइन, वर्षभरको उत्पादनको पारिवारिक समीक्षा पनि हो। धान राम्रो भयो वा नराम्रो भन्ने निष्कर्ष यही दिन निकालिन्छ।
उत्पादनको अन्तिम चरण
कार्तिक महिनामा धान काट्ने र दाइँ गर्ने काम सकिएपछि वार्षिक धान खेतीको चक्र पूरा हुन्छ। यसरी जुम्लाको धान खेती केवल कृषि प्रक्रिया मात्र नभई जीवनशैली, संस्कृति र परम्परासँग जोडिएको समग्र प्रणाली हो।
रैथाने बाली संकटमा
यद्यपि, पछिल्ला वर्षहरूमा काली मार्सी धान र रातो मार्सी धान जस्ता रैथाने बालीहरू लोपउन्मुख अवस्थामा पुगेका छन्। यसको प्रमुख कारणमध्ये “ब्लास्ट रोग” (धानमा लाग्ने रोग) को प्रभावकारी अनुसन्धान र नियन्त्रण नहुनु हो। यदि समयमै संरक्षण, अनुसन्धान र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएनन् भने, यी ऐतिहासिक र पोषणयुक्त बालीहरू सदाका लागि हराउने खतरा बढ्दै गएको छ।
निष्कर्ष
जुम्लाको धान खेती केवल उत्पादनको माध्यम मात्र होइन, यो संस्कृति, परम्परा र पहिचानको जीवित दस्तावेज हो। त्यसैले यसलाई संरक्षण गर्न राज्य, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक छ। आधुनिक प्रविधि र परम्परागत ज्ञानको समन्वय गर्दै जुम्लाको धान खेतीलाई जोगाउनु आजको आवश्यकता हो।
( गोरख बहादुर थापा जुम्लामा संचालित रेडियो कर्णालीका स्टेसन म्यानेजर समेत हुन )














