पोखरा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । सोमबार लमजुङको बेसीशहरमा नेपाली कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका हुन ।
‘बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३ र ४ को नीति संविधानमा अङ्कित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।
उनले पार्टीका नेता कार्यकर्तालाई चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्न आग्रह गरे । स्वस्थ आलोचना स्वाभाविक हुने तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने तथा चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य गर्न नहुने भन्दै उनले कांग्रेसले भाषण र घोषणा पत्रमार्फत अरुलाई गालि नगर्ने बताए ।
जेनजी विद्रोहको भावनाबमोजिम शासनमा सुधार गर्ने उपसभापति शर्माको भनाई थियो ।‘देशको शासनमा जे जस्तो सुधार गर्न जरुरी छ । त्यसको केस्रा केस्रा केलाएका छौँ ,’ उपसभापति शर्माले भने, ‘हामीले जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौँ ।’














