पोखरा, पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) ले न्युरो सर्जरीको क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ । वरिष्ठ न्युरोसर्जन डा. यमबहादुर रोकाको नेतृत्वको ७ सदस्यीय विशेषज्ञ टोलीले १३ घण्टासम्मको निरन्तरको खटाईबाट मस्तिष्कको जटिल शल्यक्रिया गरेर ४३ वर्षीय पदमबहादुर पुनको ज्यान बचाएको कुरालाई न्युरो सर्जरी क्षेत्रको महत्वपूर्ण सफलताको रुपमा अस्पतालले लिएको छ । म्याग्दीका पदमबहादुरको मस्तिष्कको संवेदनशील मानिने ‘सिपी एंगल’ (सेरेबेलोपोन्टाइन एंगल) मा रहेको ट्युमर उक्त अस्पतालका चिकित्सकहरूले शल्यक्रियामार्फत निकालेको अस्पतालले जनाएको छ ।
विगत केही महिनादेखि कडा किसिमको टाउको दुखाइ, आँखा सुन्निने, आँखा झ्याप्प बन्द हुने तथा हिँडडुल गर्दा हातखुट्टामा कमजोरी महसुस हुने समस्याबाट पीडित पदमबहादुर सुरुमा उपचारका लागि हिमालय आँखा अस्पताल, पोखरा पुगेका थिए । त्यहाँ आँखाको परीक्षण गर्दा दुवै आँखामा सुजन अर्थात् ‘प्यापिलेडेमा’ देखिएको थियो । त्यसपछि त्यहाँका चिकित्सकले ‘म्याग्नेटिक रेजोनेन्स इमेजिङ’ (एमआरआई) गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझाब अनुरुप वरिष्ठ न्युरोसर्जन डा. रोकाको नामबारे जानकारी पाएपछि जिएमसी पुगेका पदमबहादुरको एमआरआई परीक्षण गर्दा उनको मस्तिष्कको ‘सीपीए’ क्षेत्रमा ट्युमर रहेको वा ‘एकोस्टिक न्युरोमा’ (भेस्टिबुलर स्वानोमा) भएको पुष्टि भएको थियो।
सीपीए क्षेत्रमा गरिने शल्यक्रिया अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिने भए पनि डा. रोकाको नेतृत्वमा डा. बिपिन बजागाईसहितको विशेषज्ञ टोलीले निरन्तर १३ घण्टा प्रयास गरी ट्युमर सफलतापूर्वक हटाएको हो । डा. रोका अनुभवी न्युरोसर्जन हुन् र यसअघि पनि उनले हजारौँ जटिल न्युरोसर्जरी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । डा. रोकाले पोखरामै पहिलो पटक यस प्रकृतिको जटिल ‘सीपीए’ ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । यो सफल शल्यक्रियाले गण्डकी मेडिकल कलेजलाई देशमै उच्चस्तरीय न्युरोसर्जरी सेवा उपलब्ध गराउने विश्वसनीय केन्द्रको रूपमा स्थापित गरेको छ । अस्पताल प्रशासनले अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सकको उपलब्धताले जिएमसीलाई जटिल न्युरोसर्जरीका लागि पोखराको भरोसायोग्य केन्द्रका रूपमा स्थापित गरेको जनाएको छ ।














