पोखरा, भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवद्र्धन अभियन्तासँग पोखरा सहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ । विहारबाट पोखरा सहित हिमाल पारीको जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्य घुमेर फर्किएको टुरिज्म एशोसिएसन अफ विहारका प्रेजिडेन्ड सोनुुकुमार सिंह, ट्राभल इन्फ्लुन्सर एवम् अनडिस्कोभर्ड भेन्चर्स प्रा.लि.का डाइरेक्टर आशिष कौशिक, सोही संस्थाका डाइरेक्टर एण्ड को फाउन्डर अभिनाश कौशिक, सोही संस्थामा आवद्ध फोटाग्राफर सुनिल शर्मा लगायतको टोलीसँग पोखरा पर्यटन परिषद् सहित पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिले छलफल गरेका हुन्् ।
उक्त अवसरमा भारतीय टोलीका तर्फबाट मुस्ताङसम्मका पर्यटकीय गन्तव्य पुग्ने क्रममा तयार गरिएको भिडियो प्रस्तुत गरिएको थियो भने पोखरा भ्रमण वर्ष २०२५ ले तयार गरेको गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । छलफलमा कार्यक्रमका अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेश भारतीय पर्यटकको आकर्षक गन्तव्य भएको बताउँदै यहाँको प्रबर्द्दनमा सहयोग गर्न भारतीय टोलीसँग आग्रह गरे । उनले प्राकृतिक सौन्दर्यतासँगै आतिथ्यतामा पोखरा अग्रणी स्थानमा रहेको समेत बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा सहित यस क्षेत्रको गन्तव्य प्रवद्र्धनमा सहयोग गर्न भारतीय टोलीसँग आग्रह गरे । विहारबाट हतार गरेर सिधै हिमाली गन्तव्यहरूमा पुग्दा त्यसले पर्यटक स्वयम्को स्वास्थ्य जोखिमी हुने बताउँदै उनले पोखरामा आएर आराम गर्दै यहाँका पर्यटकीय गन्तव्यको अवलोकन सहित उक्त क्षेत्रमा पुग्नुुपर्ने बताए । कतिपय भारतीय सवारीसाधन कानुनले दिएको प्रयोजन विपरित यहाँ व्यवसाय गर्न खोजेको ध्यानाकर्षण गराउँदै पहारीले त्यस्ता गतिविधि नियन्त्रण हुनुु आवश्यक भएको बताए ।
परिषद्का पूर्व अध्यक्ष सोम थापाले ट्राभल्स इन्फ्लुन्सरको कुनै पनि पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा ठूलो भूमिका हुने बताउँदै यहाँका पर्यटकीय स्थलको प्रबर्द्दनका लागि सह्हयोग गरिदिन आग्रह गरे । पोखरा सहित गण्डकी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य रहेको बताउँदै थापाले समय लिएर यहाँका पर्यटकीय स्थल घुम्ने वातावरणका लागि सहयोग गरिदिन पनि आग्रह गरे ।
टुरिज्म एशोसिएसन अफ विहारका अध्यक्ष सोनुुकुुमार सिंहले धेरै सुन्दर गन्तव्यहरू यस क्षेत्रमा रहेको बताउँदै यी स्थलहरूको प्रबर्द्दनमा आफ्नो तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गरे । ठूलो जनसंख्या भएको विहारबाट पर्यटकको आकर्षण बढाउन सकेमा त्यसले पोखरा सहित यो क्षेत्र लाभान्वित हुने उहाँको भनाइ थियो । उनले भारतको पटना, बिहारबाट पोखरामा यातायातमा सिधै पहुँच भएमा त्यसले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।
ट्राभल्स इन्फ्लुन्सर अभिषेक कौशिक लगायतले यस प्रदेशको मार्फा लगायतका स्थानहरू उत्कृष्ट गन्तव्यका रुपमा पाएको अनुभव सुनाउँदै आँफूहरूले भिजुुवल रुपमा यी स्थानको प्रचारप्रसार गर्ने जानकारी गराए । छलफलमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले भारतीय पर्यटकको बसाई लम्ब्याउन वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षहरू टिकाराम सापकोटा, चिरञ्जीवि पोखरेल, पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई लगायत पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो ।














