पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी गण्डकी प्रदेशमा तालिमरत १० हजार ४४८ जना निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना कक्षा दिइएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीले निर्वाचन सुरक्षा र सडक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो ।
प्रदेशका विभिन्न जिल्लामा भर्ना भई हाल तालिम लिइरहेका निर्वाचन प्रहरीलाई प्रचलित ट्राफिक ऐन, नियम, सार्वजनिक सडकको प्रयोग र सुरक्षा जस्ता महत्त्वपूर्ण विषयमा जानकारी गराइएको छ ।
निर्वाचनका बेला सुरक्षाकर्मीहरू सडकमा प्रत्यक्ष खटिनुपर्ने भएकाले उनीहरूलाई ट्राफिक नियमका आधारभूत पक्षबारे सचेत बनाइएको हो ।
विसं २०८२ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा प्रयोजनार्थ भर्ना भएका यी प्रहरीलाई सडक सुरक्षाका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो । तालिममा सहभागी निर्वाचन प्रहरीले निर्वाचनको समयमा भिडभाड व्यवस्थापन र सडक सुरक्षामा यसले ठूलो सहयोग पुग्ने बताए ।















