पोखरा, पोखरा महानगरपालिका- १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेलहरु सुरु भएका छन । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।
उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोल रहित भएपछि पेनाल्टी सुट आउटमा दीपले ३–२ गोल अन्तरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले संघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।
यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोल रहित भएपछि पेनाल्टी सुट आउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो । मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो ।
रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे ।
सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १/१ गोल गरे । आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो ।
लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १/१ गोलको योगदान दिए ।
सोमबार पनि बिहानबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।















