पोखरा, नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बाँस्तोलाले बदलिएर आएको काँग्रेसले अब देशमा सुशासन र समृद्धिका लागि इमान्दार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा–१६ स्थित बाटुलेचौरमा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको आज (आइतबार) उद्घाटन गर्दै उम्मेदवार बास्तोलाले लामो इतिहास बोकेको नेपाली काँग्रेसले जेन्जीका मागलाई सम्बोधन गर्ने र उनीहरुलाई सँगै लिएर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।
देशमा संकट पर्दा काँग्रेसले नै समाधान गर्दै आएको बताउँदै राणा शासन हटाउँदा होस् वा प्रजातत्र र नयाँ संविधान निर्माणमा काँग्रेसले नै प्रमुख भूमिका खेल्दै आएको छ, उनले भने– यतिवेला देश रहने वा नरहने संकटमा परेको अवस्थामा काँग्रेसले नै देशलाई बचाउने छ ।प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, स्वतन्त्र प्रेस र न्यायलयप्रति विश्वास राख्ने नेपाली काँग्रेसको सामाजिक सञ्जाल बन्द गर्ने उद्देश्य छैन्, उनले भने “सूचना प्रविधिमा विश्व साँघुरो भएको क्षणमा काँग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने कल्पना पनि गर्न सक्दैन ।’
पोखरा–१६ राजनीतिको उर्भरभूमि र कास्कीको राजनीतिक जग पनि यही वडाबाट बस्दै आएको उनले बताए । यहाँको पर्यटक, विकास, गुफाहरुको संरक्षण, सडक, काली खोला नियन्त्रण लगायतका क्षेत्रमा आफ्नो पहल हुने बताए । साथै आजै उम्मेदवार वास्तोलाले बाटुलेचौरका मतदातासँग सुझाव संकलन तथा मतमाग्ने काम गरेका छन् ।















