पोखरा, नेपाली कांग्रेसको बिशेष महाधिबेशनबाट सभापति बनेका गगनकुमार थापा महाधिबेशनपछि पहिलो पटक पोखरामा आएर कार्यकर्तासंग भेटघाट गरि बिभिन्न सुझाब लिनुको साथै निर्देशन दिएर साँझ काठमाडौँ फर्किएका छन। फागुन २१ गते हुने चुनाबलाई लक्षित गरेर पार्टीको गण्डकी प्रदेश कार्यसमितिको बैठक सहित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा परेको देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको र त्यसका लागि कांग्रेसले चुनाबमा जित्नुपर्नेमा जोड दिए ।
काठमाडौँबाट विमानमा पोखरा आएलगत्तै सभापति थापा नेपाली काँग्रेसको गण्डकी प्रदेश कार्यालयमा पुगेका थिए । त्यहाँ केहि समय बसेर आगन्तुक पुस्तिकामा केहि कुरा लेखेलगत्तै उनि नेपाली काँग्रेस कास्कीको कार्यालयमा पुगेर कार्यकर्ताको भेलालाई सम्बोधन गरेका थिए।
त्यसपछि उनले पोखराको न्युरोडमा आयोजित पार्टीको गण्डकी प्रदेश कार्यसमितिको बैठक सहित त्यहाँ उपस्थित पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गरे । बैठकपछि थापाले गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट आएका आसन्न चुनाबका उमेदवार र नेता कार्यकर्ताहरुसंग छुट्टाछुट्टै भेटघाट गरेर बिभिन्न सुझाब लिनुको साथै पार्टीको सांगठानिक अबस्थाको बारेमा जानकारी लिएका थिए।

कास्की कांग्रेसको कार्यालयमा आयोजित कार्यकर्ता भेला र गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने ‘अहिले समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरू प्रति चरम अविश्वास कायम छ यस्तो संवेदनशील अवस्थामा देश सम्हाल्नको लागि जिम्मेवार राजनीतिक शक्तिको खाँचो छ । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ उत्तेजना जसले पनि फैलाउन सक्ने भएकोले चेतनाको राजनीति गर्ने शक्ति मुलुकमा चाहिएकोमा त्यो शक्ति नेपाली कांग्रेस हो।’

‘नागरिकहरूमा रीस छ । त्यो रीस गहिरो छ । राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ, यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ । समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ । यो बेलामा नेपाली कांग्रेसले यो जिम्मेवारी सम्हाल्नुपर्ने आबश्यकता छ।’
कांग्रेस सभापति थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन पनि कार्यकर्तासंग आग्रह गरे। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अबको सरकार कांग्रेसको मात्र नभनेर सय सिट पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् । ‘मधेशका जाँदै गर्दा मैले साथीहरूलाई अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्, नारा नै लगाउने भए अबकी बार सय पार भनेर नारा लगाउनुस् भनेको छु,’ सभापति थापाले भने ।
उनले आगामी निवार्चनबाट कांग्रेसलाई बहुमतमा पुर्याउन सकिने जिकिर पनि गरे । ‘त्यहाँ पुर्याउने हो यसपालि । मज्जाले जाने हो,’ थापाले भने, ‘सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’ सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्नेमा जोड दिए । ‘मेहनत गर्नुपर्नेछ । पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर,’ उनले भने, ‘ल मेहनत गरौँ त एकपटक । १० लाख क्रियाशील भएको पार्टी हो यो । वडा–वडा, टोल–टोलमा संगठन गर्ने पार्टी हो यो।’

सभापति थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई बदल्ने पनि बताए । ‘हामी बदलिएर आएका छौँ । बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि,’ उनले भने, ‘यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ । कांग्रेस सभापति थापाले कार्यकर्ताहरुसंग भेटघाट गरि निर्देशन दिनुको साथै आसन्न चुनाबमा कांग्रेसले जित्न नसके मुलुकको राष्ट्रियता र शासन ब्यबस्थामाथि वा लोकतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिने उल्लेख गरे।
सभापति थापाले आसन्न चुनाबमा कुनै पनि पार्टीसंग तालमेल वा गठबन्धन नहुने स्पष्ट पार्दै चुनाब पछि सरकार बनाउने सवालमा वा सरकारमा टिक्ने सवालमा कुनै पनि दलसंग सम्झौता नहुने अडान दोहोर्याए।
सभापति थापा समक्ष जिल्ला जिल्लाका कार्यकर्ताहरुले कांग्रेस बदलिएको भन्ने नाराले प्राथमिकता पाएपनि तल्लो तह सहित बिभिन्न संरचनामा त्यस्तो अनुभुती कार्यकर्ताहरुले गर्न नपाएको गुनासो गरेका थिए। बिशेष महाधिबेशनको कारण आसन्न चुनाबमा हुनसक्ने ठुलो क्षती जोगिएको भएपनि बिदेशमा रहेका नेपाली एबम युवा र पार्टीमा हाल मौन जस्तै देखिएका केहि नेताहरुलाई कांग्रेसको पक्षमा सक्रिय हुने बाताबरण तयार गर्न सभापति थापाले बिशेष अपिल गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यकर्ताहरुको गुनासोलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले कांग्रेस बदलिएको र नयाँ कांग्रेस भनेको कांग्रेसको पुरानो पुस्तासंग सम्बन्ध बिच्छेद गर्ने नभएर बिगतको इतिहास र गौरबलाई जोगाउदै, नयाँ पुस्ताको उर्जा र पुरानो पुस्ताको अनुभवलाई जोड्दै अगाडी बढ्ने भनिएको स्पष्ट पारे। ‘नेपाली काँग्रेस रुपी रुखको जरा पहिले देखि नै गडिरहेको छ। त्यहि जरालाई कायम राखेर रुखमा रहेका केहि अँहंकारी पातहरुलाई मात्र हटाउनुपर्ने आबश्यकता रहेको उनको भनाई थियो। तर अहंकारी पातहरु भनेर कुन कुन नेता वा कसलाई हो भन्ने उनले केहि खुलाएनन।
बिशेष महाधिबेशनपछि पार्टीमा कुनै गुट नरहेको भन्दै थापाले भने। ‘कतिपयलाई बिशेष महाधिबेशनपछि पार्टीको आधिकारिकता सम्बन्धि बिबाद अदालतमा विचाराधीन रहेको कारण भोलि अदालतले केहि निर्णय गर्छ कि भन्ने शंका होला, तर त्यो शंका छोड्दिनुस, विधिवत रुपमा बिशेष महाधिबेशन भएको हो। अब अदालतबाट केहि हुँदैन, अहिले सभापतिको रुपमा मैले नेतृत्व गरेको छु र यसलाई निरन्तरता दिन्छु।’
कांग्रेस सभापति गगन थापाले कास्की कांग्रेसको कार्यालयमा कार्यकर्ताहरुलाई गरेको सम्बोधन (जस्ताको तस्तै):

यस कार्यक्रमका श्रद्धेय सभाध्यक्षज्यू, गण्डकी प्रदेशका श्रद्धेय सभापतिज्यू, केन्द्रीय समितिका साथीहरू, नेपाली कांग्रेसका नेता एवं वर्तमान सहमहामन्त्री जीवनजी, यहाँ मन्चासिन र यहाँ तल रहनुभएका सबै अग्रज मान्यवरहरू, साथीहरू, सबैलाई हार्दिक जय नेपाल !
म सबै ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। र यो नयाँ जिम्मेवारी लिइसके पछाडि पहिलो पटक गण्डकी प्रदेश आएको छु। भर्खर हामी गण्डकी प्रदेशको कार्यालयमा गयौँ र त्यहाँ पार्टीको सभापतिजी, साथीहरूले न्यानो स्वागत गर्नुभएको छ। र अहिले तपाईँहरूको बीचमा एकछिन भए पनि आउने मौका पाएको छु, सभापतिजी र साथीहरूलाई हार्दिक आभार प्रकट गर्छु।
केही वर्ष अगाडि म मेरो परिवारसहित पुनहिल आएको थिएँ, ट्रेकिङको लागि दसैँको बेलामा। फर्केर आउँदै गर्दा घान्द्रुकमा रात बिताएँ। र बिहानतिर मलाई, मैले नाम सम्झेसम्म ध्रुव आले दाइ हो जस्तो लाग्छ मलाई, उहाँले मलाई त्यो अन्नपूर्ण कन्जरभेसनको कार्यालय भन्दा अगाडि लिएर जानुभएको थियो। र एउटा स्पटमा लगेर उभ्याउनु भयो। र त्यहाँ लगेर के भन्नुभयो भने– ‘यही ठाउँबाट हो माओवादीहरूले हामीलाई अपहरण गरेर लिएर गएको, र दिलमान गुरुङ, ईश्वर गुरुङको हत्या गरेको ठाउँ पनि यही हो। दिलमान गुरुङ, ईश्वर गुरुङको हत्या भयो, हामी तीन जना साथीहरू अपहरणमा पर्यौँ’ भनेर उहाँले ती घटनाहरू सम्झाउनु भयो।
र अन्तिममा जाने बेलामा, म कांग्रेसको महामन्त्री थिइनँ, मलाई एउटा कुरा भन्नुभएको थियो– ‘हामीले तपाईँहरूसँग केही पनि मागेका थिएनौँ। तर तपाईँले हामीलाई रूखमा पनि मतदान गर्न नदिने? हाम्रो मतदान गर्ने अधिकार पनि खोस्ने? अनि तपाईँहरूले माथिको नेताहरूले भन्नुभएको आदेश हामीले मान्दिनुपर्ने? अनि कांग्रेसले ठीकठाक गरेको छ भनेर भन्दिनुपर्ने? हामीले तपाईँहरूसँग केही पनि मागेका छैनौँ, तर हाम्रो परिवारलाई गएर हामीले के भन्ने? हाम्रो मन दुख्दैन?’ भनेर भन्नुभएको थियो।
मसँग उत्तर थिएन। म चुपचाप लागेर बसेँ। तर म आज कांग्रेसको महामन्त्रीको रूपमा उत्तर लिएर कास्की आएको छु– अब कसैले पनि रूख बाहेक अन्त कतै पनि मतदान गर्नु पर्दैन। कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा, गण्डकीका सबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका साथीहरूले छाती फराकिलो बनाएर गएर रूखमा गएर मतदान गर्ने हो।

यो केवल एउटा निर्वाचन, निर्वाचनसँग जित्ने कुरा, विश्वासको कुरा मात्र होइन। यो नेपाली कांग्रेस पार्टीको आस्थाको कुरा पनि हो यो। एउटा विश्वासको कुरा पनि हो। हाम्रो गौरवको कुरा पनि हो। र यो निर्वाचन सम्म जोडिएको विषय मात्र होइन, यो निर्णयले नेपाली कांग्रेस पार्टीलाई आफ्नो जिम्मेवारी पुरा गर्नका निम्ति यसले यसलाई एउटा प्रेरणा पनि दिन्छ।
मैले सधैँ भन्दै आएको छु– नेपाली कांग्रेस पार्टी, राष्ट्रिय पार्टी हुने कि नहुने भन्ने कुरा निर्वाचनले निर्धारण गर्छ। निर्वाचनको मतले निर्धारण गर्छ। जनताले चाहे बनाइदिन्छन्, नचाहे हराइदिन्छन्। तर नेपाली कांग्रेस पार्टी ‘राष्ट्रिय शक्ति’ हो भन्ने कुरा चाहिँ यसको इतिहासले निर्धारण गरेको सत्य हो। राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक छ। राष्ट्रिय पार्टी भएपछि संसदमा उसले हैसियत पाउँछ, कहीँ सरकार बनाउला, कहीँ प्रतिपक्षमा बस्ला, त्यो जिम्मेवारी हो। तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा, त्यो राष्ट्रको त्यो बेलामा आएका समस्याहरूलाई उसले चिन्छ, त्यो समस्याहरूलाई पर्गेल्छ, त्यो समस्याहरूलाई म सम्बोधन गर्छु भनेर एउटा सङ्कल्प गर्छ र सम्बोधन पनि गर्छ। त्यो राष्ट्रिय शक्ति हो।
२०३३ सालमा हामी मेलमिलाप दिवस भनेर हामी सम्झिन्छौँ। कहिलेकाहीँ हामी यत्तिकै आउँछौँ, बीपीको तस्बिरमा माल्यार्पण गर्छौँ र बीपी कोइरालाले यसो भन्नुभएको थियो भनेर पुराना कुराहरू सम्झन्छौँ। सम्झनाको पनि आफैँ एउटा महत्त्व हुन्छ। तर त्यसको गर्भमा गएर हेर्यो भने नेपाली कांग्रेस पार्टीले त्यो बेलामा के गरेको? त्यो राष्ट्रिय शक्ति भएको हुनाले गर्दा त्यो सोच आयो, त्यसको भूमिका निर्वाह गरेको। त्यो बेलामा नेपाल जस्ता साना–साना देशहरू, चाहे त्यो सिक्किम होला, अरु यस्ता अरु थुप्रै देशहरूको आफ्नो अखण्डता माथि प्रश्न आइसके पछाडि, नेपाली कांग्रेसको नेताहरूले राष्ट्रिय शक्ति भएको हुनाले गर्दा– ‘हाम्रो प्रजातान्त्रिक आन्दोलन केही समयको लागि पछाडि परे पनि पर्छ, हाम्रो ज्यान गए पनि जान्छ, हातमा सातवटा आठवटा फासीको मुद्दा लिएर बीपी नेपाल आउनुभएको। केही फरक पर्दैन। तर हामी त राष्ट्रिय शक्ति हो। नेपालको अखण्डता जोगाउनका निम्ति त्यो बेलाको राजासँग पनि हामीले हात मिलाउनुपर्छ, यो शक्तिसँग पनि हामी सँगै जानुपर्छ। त्यसैले हामी जेल परे परौँला, फासीमा झुन्डिए झुन्डियौँला तर हाम्रो जिम्मेवारी हो, हाम्रो आन्दोलन पछाडि परे पर्ला।’ राष्ट्रिय शक्ति हो।
२०६० सालमा, सबैभन्दा बढी मानिस कसको मारिएका थिए? सबैभन्दा बढी घाउ कसलाई लागेको थियो? सबैभन्दा बढी साथीहरू कसको लखेटिएका थिए? जताततै कांग्रेस लखेटिएको थियो, मारिएको थियो। निहत्था साथीहरू, घरमा बसिरहेका साथीहरू, आफ्नो काम गरिरहेका साथीहरू। युद्धमा गएको होइन नि माओवादीको जस्तो हाम्रो साथीहरू, कोही बन्दुक बोकेर गएको होइन नि। तर त्यो बेलामा राष्ट्रिय शक्तिको जिम्मेवारी के थियो? देशको त्यो बेलाको सबैभन्दा ठुलो मुद्दा के थियो? हिंसा सबैभन्दा ठुलो मुद्दा थियो। हिंसाले छियाछिया बनाएको थियो। त्यही भएर राष्ट्रिय शक्ति नेपाली कांग्रेस भएकोले गर्दा नेपाली कांग्रेसले सङ्कल्प गर्यो– हिंसाबाट देशलाई बाहिर निकाल्छु। आफ्नो छातीमा गोली हान्ने माओवादीसँग गएर हात मिलाएको हो नि त हामीले। घाउ बिर्सेर हात मिलाएको हो नि त। यो राष्ट्रिय शक्तिको जिम्मेवारी हो।
आज नेपाली कांग्रेसले त्यही राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नुपर्ने छ। आजको विषय के हो त नेपालको? हामीले केवल भाद्र २३, २४ भनेर तिथि मिति घोकेर मात्र हुन्न। त्यसको गर्भमा के छ? मैले सरसर्ती हेर्दै गर्दा मूलत दुइटा कुरा छ।
एउटा– नागरिकहरूको रिस छ। त्यो रिस, त्यो गहिरो छ। र अर्को– राज्यका संस्थाहरू प्रति, चाहे त्यो संविधान होला, अड्डा होला, अदालत होला, राजनीतिक दल होला, नेतृत्व होला– सबै प्रति एउटा चरम अविश्वास छ। र अब यो अविश्वास झाँगिदै झाँगिदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा एउटा ठुलो कोलाहल छ। भित्रभित्र आगो बलिरहेको छ।
यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो– यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो। यसलाई मिलाएर लिएर जाने जिम्मेवारी हाम्रो हो। हिजो कुनै बेला नेपाल भित्रकै हामी फरक फरक समुदायका मानिसहरू आ–आफ्नो अधिकारको लागि उठ्यौँ, लड्यौँ, जुन स्वाभाविक थियो। तर एउटा शक्ति चाहिएको थियो जसले सबै जातजाति समुदायलाई मिलाएर लिएर जाने। २०७० सालमा संविधान निर्माण गर्ने बेलामा त्यो भूमिका हामीले निर्वाह गरेको। त्यो राष्ट्रिय जिम्मेवारी हामीले निर्वाह गरेको।
आज नेपाली कांग्रेस पार्टीले, म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु– तपाईँहरू अब घर–घर जानुपर्ने छ। मतदाताहरूको बीचमा जानुपर्ने छ। मतदान गर्नुहोस् नगर्नुहोस् त्यो उहाँहरूको छनौटको कुरा हो। तर हाम्रो सन्देश लिएर तपाईँहरू जानुपर्ने छ। भाद्र २४ गते देश दन्दनी बल्यो, अर्को वर्षको भाद्र २४ गते बल्दैन भन्ने कुराको जिम्मा कसले लिन्छ? कांग्रेसले लिन्छ। हामी छौँ। हामी बल्न दिन्नौँ। हामी सम्हाल्छौँ। कुनै पनि खालको हिंसाको दलदलमा नेपाललाई पर्न दिन्नौँ। कुनै पनि खालको उत्तेजनाको राजनीतिमा नेपाललाई पर्न दिन्नौँ। हामीसँग त्यो चरित्र छ। हामीसँग त्यो मूल्यबोध छ। हामीसँग त्यो अनुभव छ। हाम्रो क्यारेक्टर नै त्यही हो। हाम्रो पार्टी कुनै पनि एक्सट्रिम (Extreme) मा जानै सक्दैन। हामी घृणाको राजनीति गर्नै सक्दैनौँ, हामी प्रतिशोधको राजनीति गर्नै सक्दैनौँ। हाम्रो क्यारेक्टर नै मिलाउने हो।
आज नेपालमा एउटा मिलाउने शक्ति चाहिएको छ। नेपालमा एउटा सम्हाल्ने शक्ति चाहिएको छ। रिस छ, त्यो रिसलाई त्यसलाई सम्बोधन पनि गर्नुपर्ने छ। त्यो कसले गर्छ? त्यो क्यारेक्टर को सँग छ? हामीसँग छ। यो प्रुभन (Proven) कुरा हो। तपाईँहरूले यो सन्देश घर–घर लिएर जानुपर्ने छ। त्यसैले पहिलो सन्देश– नेपाली कांग्रेसले यो देश सम्हाल्छ। यो सम्हाल्ने जिम्मेवारी कांग्रेसले पुरा गर्छ। देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ, त्यो तागत हामीले राख्नुपर्ने छ। उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई, त्यो कांग्रेस हो। हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ।
हामीलाई गाली गर्नुस्, गाली खान्छौँ। हामीलाई आलोचना गर्नुस्, आलोचना सुन्छौँ। प्रश्न गर्नुस्, उत्तर खोज्छौँ। समस्या बताउनुस्, समाधान खोज्छौँ। तर तपाईँहरूकै बीचमा बसेर, नभागेर, हामी मिलाउँदै मिलाउँदै मिलाउँदै लिएर जान्छौँ। हामी पुरानो पुस्ता र नयाँ पुस्तालाई पनि मिलाउँछौँ। पहाड र मधेसलाई पनि मिलाउँछौँ। देश भित्र रहेका र बाहिर रहेकालाई पनि मिलाउँछौँ। सबैको बीचमा मिलाएर लिएर गएर नेपालमा फेरि एक पटक एक–अर्का प्रतिको विश्वास र भरोसा कायम राख्छौँ, यो कांग्रेसले गर्छ भन्ने यो सन्देश लिएर तल जानुपर्ने छ।
तर सम्हाल्ने शक्ति मात्र चाहिएको हो त अहिले देशलाई? सम्हालेर मात्र यहीँ अडिने हो त फेरि? सम्हाल्नुपर्ने छ पहिला। तर नागरिकहरूले खोजेको त सम्हाल्ने मात्र होइन। सम्हाल्ने सँगसँगै एउटा यस्तो शक्ति खोजेको जसले सम्हालोस् पनि, तर सँगसँगै सुधारोस् पनि। जसले बदलोस् पनि। कांग्रेस आज एउटा सङ्कल्प गरेर आएको छ आफ्नो अधिवेशनबाट– हामी यो देशलाई सम्हाल्छौँ, हामी यसको व्यवस्थालाई सुधार्छौँ। सुधार्ने पनि खोजेको, नागरिकहरूले खोजेको त्यही भएर हो नि त।
आज नागरिकहरूको बीचमा गएर सोध्यो भने– मधेस जाऔँ, पहाड जाऔँ, युवामा जाऔँ, बुढामा जाऔँ, जहाँ गएर सोध्यो भने पनि सबैभन्दा ठुलो रिस के सँग छ? सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने के भन्छ उसले? करप्सन (Corruption)। भ्रष्टाचार। हाम्रो काठमाडौँ जाने सडक वा यहाँ पोखराबाट हाम्रो यहाँका गण्डकीका अनेकौँ ठाउँमा जाने सडकहरू बन्न थालेको वर्षौँ भयो। अहिले त बन्दै छ अलिकति राहत भएको छ। तर हाम्रो सडकहरू समयमा किन बन्दैन भनेर त्यसको जरामा गएर नागरिकलाई सोध्यो भनेदेखि भने– कहीँ न कहीँ कसै न कसैले पैसा खायो होला, घुस खायो होला, नेताले खायो होला त्यसकारणले गर्दा बन्दैन होला। उसले यही न भन्छ? वैदेशिक रोजगारमा जानलाई, कतार जानलाई, मलेसिया जानलाई आजै पनि हामी कुरा गर्दै गर्दा दुई हजार मानिसहरू केटाहरू छोडेर जान्छन् आज। तिनलाई गएर सोध्यो भनेदेखि पनि किन जानुपर्यो होला भनेर सोध्यो भने उसले के भन्छन्? देशमा रोजगारी छैन। रोजगारी किन छैन? उद्योग धन्दा खोलेन। उद्योग धन्दा किन खोलेन? किनभने देखि यहाँ नेपालमा करप्सन छ। त्यसकारणले गर्दा लगानी गर्न मान्छे आएन होला भनेर भन्छ।
जुन ठाउँमा, जुन समस्याको बारेमा हामीले चर्चा गर्यौँ भने पनि त्यसको जरामा गएर करप्सन, त्यो करप्सनका बारेमा एउटा पर्सेप्सन (Perception) वा धारणा छ। यो कारणले गर्दा नागरिक रिसाएका छन्। नेपाली कांग्रेस पार्टीले यो पाँच वर्षको अवधिमा, कांग्रेसले जिम्मेवारी लिँदै गर्दा गर्ने के हो? हामी व्यक्तिले चमत्कार गर्छौँ भन्ने कुरामा विश्वास गर्दैनौँ। मसँग जादुको छडी छैन। तपाईँले भोलि कांग्रेसले बहुमत प्राप्त गर्यो, तपाईँले मलाई प्रधानमन्त्रीको कुर्सीमा लगेर राख्दिनुभयो, त्यसपछि गएर मैले २४ घण्टामा यो गर्छु, ४८ घण्टामा यो गर्छु भनेर जादुको छडी लिएर आउने कुरामा न मसँग छ, न नेपाली कांग्रेसले त्यो कुरामा विश्वास गर्छ। कांग्रेसले के कुरामा विश्वास गर्छ? नेतासँग नियत हुनुपर्छ। त्यो नियत ठीक भएको नेताले ठीक नीति बनाउँछ। त्यो ठीक नीति पुरा गर्नेलाई कार्यान्वयन गर्ने सङ्कल्प राख्यो भने परिणाम आउँछ। हामीले संस्थाहरू बलियो बनाउने हो। हामीले प्रक्रियाहरू ठीक बनाउने हो। हामीले नियम कानुन ठीक बनाउने हो। हामीले प्रणाली ठीक बनाउने हो। र नेपालका सन्दर्भबाट, नाराका साथमा अगाडि बढ्ने हो– ‘नेपालमा भ्रष्टाचार हट्छ, नेपाल अगाडि बढ्छ’ भन्ने नाराका साथ नेपाललाई अगाडि बढाउने हो।
तपाईँले घर–घर गएर, घर–घर गएर मतदातालाई विश्वास दिलाउनुपर्छ– भ्रष्टाचार नेपालको सबैभन्दा ठुलो मुद्दा हो। र भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा, यो बदलिएर आएको नेपाली कांग्रेस हो, जसको टाउको देखि पुच्छर सम्म प्रत्येक नेता एउटा सङ्कल्प गरेर आएको छ– नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ भन्ने एउटा भरोसा तपाईँहरूले घर–घर गएर टोल–टोलमा गएर मतदाताको बीचमा गएर दिलाउनुपर्ने छ।
म अब धेरै समय लिन्न। पार्टीको प्रदेशको कार्यक्रममा गएर अहिले पछाडि तपाईँहरू आउनुहोला। बैठक पछाडि म अरु थप कुराहरू राख्छु तर यो अन्त्यमा जाने बेलामा एउटा कुरा भनेर जान्छु म। यो निर्वाचनमा सबैभन्दा ठुलो हाम्रो भर भनेको तपाईँहरू हो। पार्टीका साथीहरू। जो सङ्गठनको विभिन्न तहमा बसेर काम गरिराख्नु भएको छ। हामीले भर्खर एउटा अधिवेशनको प्रक्रिया सकेर आएका छौँ। अब यो विशेष महाधिवेशन, यो–त्यो भन्न पनि छाडिदिनुस्। सकियो त्यो अध्याय अब। सिङ्गो नेपाली कांग्रेस हामी एक ठाउँमा छौँ। एक ढिक्का छौँ। एउटै तागतका साथमा छौँ, एक मनका साथमा छौँ। यो–त्यो विभाजनको केही पनि कुरा छैन। यो निर्वाचन सक्छौँ, फेरि पार्टीको साथीहरूको बीचमा बृहत् संवाद गर्छौँ, सबै साथीहरूलाई सम्हाल्छौँ, सबैलाई एउटै आँखाले दृष्टिकोणले हेर्छौँ र त्यस पछाडि पार्टीका अरु बाँकी रहेका कामहरू छन्, अधिवेशन गर्नुपर्ने छ, यी कुराहरू म लिएर जान्छु।
कोही साथीलाई काखा, कसैलाई पाखा हुँदैन। पार्टीको नेतृत्वको आँखाबाट हिजो को कहाँ उभिएको थियो, यसको केही पनि अर्थ हुँदैन। सबैसँग समान ढङ्गको, पार्टीको नेतृत्वले जस्तो व्यवहार सबैसँग गर्नुपर्यो, त्यस्तै व्यवहार गरेर हामीहरू अगाडि बढ्छौँ। त्यसैले पार्टीका साथीहरूलाई मेरो पहिलो आग्रह– सबै साथीहरू एक ढिक्का भएर निर्वाचनमा होमिनु पर्नेछ।
मेरो दोस्रो आग्रह– हिजो नेपाली कांग्रेस पार्टी छोडेर जानुभएको साथीहरू। कुनै न कुनै कारणले जानुभएको छ, चित्त दुखाएर जानुभएको छ, मन दुखाएर जानुभएको छ। ती सबै साथीहरूलाई हृदय खुल्ला राखेर अब हामीले स्वागत गर्नुपर्ने छ। सबै साथीहरूलाई ‘घर फर्क’ भन्नुपर्ने छ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, तपाईँको चित्त दुख्नुपर्ने कारणहरूलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ। यो भनेर तपाईँहरूले फिर्ता बोलाउनुपर्ने छ। यति धेरै पुरानो साथीहरू हुनुहुन्छ यो पार्टीमा, गाउँ–गाउँमा हुनुहुन्छ। त्यो परिवारका सदस्यहरू छन्। हिजो नेपाली कांग्रेसमा दुःख गर्नुभएको छ। हिजो पार्टीमा दुःख गरेको साथीहरूलाई खोजी–खोजी कन अब, उहाँहरूले पार्टीको नेतालाई खोज्नु पर्दैन, हामी खोजी–खोजी कन भेट्न जान्छौँ। उहाँहरूको हात समात्छौँ। उहाँहरूको आशीर्वाद लिन्छौँ। उहाँहरूको परिवारलाई फेरि कांग्रेससँग जोड्छौँ। तर यो अभियानमा तपाईँहरूको साथ चाहिएको छ। हिजो नेपाली कांग्रेसमा निष्क्रिय हुनुभएको प्रत्येक साथीलाई तपाईँले गएर, फेरि गएर भेट्नुपर्ने छ, ती साथीहरूलाई गएर भन्नुपर्ने छ– यो नयाँ कांग्रेस हो, तपाईँको घर हो, तपाईँले चाहेको जस्तो कांग्रेस बनाउँछु भनेर आएका छन्, एक पटक यिनीहरूलाई विश्वास गर्नुपर्छ भनेर तपाईँले मेरो सन्देशवाहक भएर तल घर–घरमा, टोल–टोलमा गएर बताउनुपर्ने छ।
हिजो २७ लाख भन्दा बढी मतदाताले नेपाली कांग्रेस पार्टीको रूख चिन्हमा मतदान गरेका हुन् समानुपातिकमा। त्यो बेलामा कति धेरै गुनासोहरू थियो। यो भएन, त्यो भएन भन्ने गुनासोहरू थियो। त्यो गुनासोहरूको बीचमा पनि मतदान गर्नुभएको। त्यो २७ लाख मतदातालाई तपाईँले चिन्नुहुन्छ। किनभने तपाईँ तल काम गर्नुभएको छ, टोलमा हुनुहुन्छ, गाउँमा हुनुहुन्छ, वडामा हुनुहुन्छ, चिन्नुभएको छ। आज ती मतदाताहरूको बीचमा फेरि तपाईँ एक पटक पुग्नुपर्ने छ। र कसैको मन हल्लिएको छ भने तपाईँले गएर भेटेर भन्नुपर्ने छ– हिजो तपाईँले त्यस्तो अप्ठ्यारो बेलामा कांग्रेसलाई मत दिनुभयो, तपाईँको चित्त दुख्दा दुख्दै मत दिनुभयो। तपाईँले कांग्रेसमा यो–यो कुरा बदलिनुपर्छ भनेर भन्नुभयो। तपाईँले भनेको आधारमा केटाहरूले जोखिम उठाएर, बदलिएर आएका छन्। अब तपाईँले कांग्रेसको रूख भन्दा दायाँ–बायाँ मन गर्न पाउनुहुन्न, हात हल्लाउन पाउनुहुन्न भन्ने कुरा तपाईँले गएर घर–घरमा गएर टोल–टोलमा गएर बताउनुपर्ने छ।
हिजो प्रत्यक्ष निर्वाचनमा हामीहरूले पाएको मत र समानुपातिकमा पाएको मत हेर्यो भनेदेखि भने समानुपातिकमा हामीले पाएका मतहरू, प्रत्यक्षमा कांग्रेसको उम्मेदवारलाई मत हाल्नुभएको छ, समानुपातिकमा मत हाल्नुभएको छैन। ती मतदाताहरूको बीचमा पनि तपाईँहरू जानुपर्ने छ। तपाईँले हिजो मत किन दिनुभएन? तपाईँले यो–यो कारणले गर्दा दिनुभएन। ती कारणहरूको सम्बोधन गरेर हामीहरू आएका छौँ, त्यसकारणले गर्दा तपाईँ मत दिनुपर्छ भनेर भन्नुपर्ने छ।
विदेशमा, पोखराका, कास्कीका, गण्डकीका थुप्रै साथीहरू हुनुहुन्छ। हाम्रै छोराछोरीहरू छन्, भाइ भतिजाहरू छन्, टोलका, छरछिमेकका साथीहरू छन्। ती तन्नेरीहरूलाई, उनले उहाँबाट फोन गर्ने होइन, यहाँबाट तपाईँले फोन गरेर भन्नुपर्ने छ– तिमी हिजो कांग्रेससँग रिसाएका थियौ, त्यसैले फोन गरेर केही भन्यौ होला, अहिले कांग्रेस बदलिएर आएको छ, तिमीले फेरि हिजो कांग्रेसलाई माया गरेको जस्तै तिमीले माया गर्नुपर्छ, तिमीलाई गर्नुपर्ने माया कांग्रेसले गर्छ भन्ने कुरा तपाईँले गएर बताउनुपर्ने छ।
त्यो जेन–जी (Gen-Z) उमेर समूहका युवाहरू, जो नयाँ भोटर छन्, ती भोटर एक–एक जनालाई तपाईँले भेट्नुपर्छ। र उनलाई गएर भन्नुपर्छ– तिमीहरू सडकमा आयौ, सडकमा आएर आह्वान गर्यौ, सडकमा आएर पुकार गर्यौ, बदलिनुपर्छ भनेर भन्यौ। तिम्रो आवाजलाई कसैले सुन्यो र सम्मान गर्यो भने त्यो केवल नेपाली कांग्रेस मात्रै हो, त्यसैले कांग्रेस तिम्रो पार्टी हो। जेन–जी को पार्टी हो, युवाहरूको पार्टी हो। तपाईँले गौरवका साथ भन्नुपर्छ– यो नेपालको सबैभन्दा पुरानो पार्टी कुन हो? कांग्रेस हो। नेपालको सबैभन्दा नयाँ पार्टी कुन हो? त्यो पनि कांग्रेस हो। त्यो तपाईँले बताउनुपर्छ। यो पुरानो भएकोमा गौरव गर्छ। यसका पुराना मूल्यहरू छन्। यसका अनुभवहरू छन्। यसका सङ्घर्षका कथाहरू छन्। जो कांग्रेसको विरासतसँगै जोडिएको छ। हाम्रा गौरवका कुराहरू हुन्। तर यो सँगसँगै यसले समयको मागलाई पनि बुझेको छ। नयाँ युगको नयाँ चेतना छ। पार्टीहरू बदलिएर आउन भन्ने छ, त्यसलाई पनि बुझेको छ। त्यसैले यो तिम्रो पार्टी हो, तिमीले बनाएको पार्टी हो, तिम्रो आवाज बोल्ने पार्टी हो, तिमीले सुन्ने पार्टी हो। यो पार्टीको नेतृत्व तिमीहरूको बीचमा रहने पार्टी हो। तिमीहरू जस्तै हो, तिमीलाई ठाउँ दिने पार्टी हो, तिमीलाई सँगै लिएर हिँड्ने पार्टी हो। तपाईँले गएर बताउनुपर्छ।
कोलाहल छ अहिले। हल्ला छ अहिले। कोलाहलबाट नभागौँ। हल्लाबाट नतर्सिऔँ। पार्टीको सङ्गठनको तागत छ। तपाईँहरू सामाजिक सञ्जालमा एक्टिभ हुनुहुन्छ, क्रियाशील हुनुस्। तर नेपाली कांग्रेस पार्टी सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस्। हाम्रो तागत भनेको हामी घर–घर पुग्न सक्छौँ। हामी गाउँ–गाउँ पुग्न सक्छौँ। टोल–टोल पुग्न सक्छौँ। अब हिजोको जस्तो चुनावी प्रचार–प्रसारले हुँदैन अब। उम्मेदवार जहाँ गयो, त्यहाँ सँगसँगै, उम्मेदवार सँगसँगै, घर दैलो भनेर हिँडेर हुँदैन अब। उम्मेदवार बरु चार जना मान्छे लिएर बोकेर हिँडे हुन्छ। आफ्नो कुरा गए हुन्छ। तर जो जुन टोलको हुनुहुन्छ, जुन वडाको हुनुहुन्छ, तपाईँको टोलमा कति घर छ? २०० घर होला, ३०० घर होला। कति जना मतदाता छ? ६०० मतदाता होला, ५०० मतदाता होला। हामीहरू कति जना छौँ? १० जना १५ जना छौँ। १० जना १५ जनाले अबको २०–२२ दिनसम्म, बाहाक लगाएर, तपाईँले अहिले मैले भनेको कुरा घरमा गएर, आधा घण्टा बसेर, बासँग कुरा गर्नुस्, हजुरबासँग कुरा गर्नुस्, नातीसँग कुरा गर्नुस्, छोरीसँग कुरा गर्नुस्। आधा घण्टा समय दिनुस्। कुरा बुझाउनुस् र भन्नुस्– यो बदलिएर आएको कांग्रेस हो, यसले नेपाल बदल्ने सङ्कल्प गरेको छ, बदल्छ। त्यो विश्वास दिलाउनुस्। संवाद गर्नुस्। कुरा सुन्नुस्। त्यहाँ गएर भन्नुपर्ने छ हामीले। केवल सामाजिक सञ्जालको भ्युज र लाइक्सको पछाडि मात्र कुदेर हुँदैन। त्यहाँ क्रियाशील हुनुपर्छ। त्यहाँ पनि लाग्नुपर्छ। तर हाम्रो आफ्नो जुन ओरिजिनल तागत छ, त्यो तागतलाई बिर्सेर हुँदैन। हाम्रो तागत सङ्गठनको तागत हो। हाम्रो तागत तपाईँ हो। हामी टोल–टोलमा छौँ, गाउँमा छौँ, वडामा छौँ, पँधेरोमा छौँ, आँगनमा छौँ। सबै ठाउँमा हामीहरू छौँ। हामी त्यो कुरालाई छाडेर, अब हामी केवल, हामी चाहिँ अब सबै कुराको चुनाव चाहिँ सामाजिक सञ्जालमा मात्रै छ, हामी पनि त्यहाँ मात्र हुनुपर्छ भनेर हुँदैन। त्यहाँ पनि हुनुपर्छ। तर त्यहाँ भन्दा बढी हामी मनमा पुग्नुपर्छ, मनमा छुनुपर्छ। त्यसैले मेरो पार्टीको सबै साथीहरूलाई आग्रह छ। अझै हामीसँग समय छ। हामीसँग हाम्रो सन्देश पनि छ। हाम्रो सङ्कल्प पनि छ। हामी नयाँ सोचका साथ आएका छौँ। नयाँ शैलीले काम गर्छौँ। ५ वर्षमा देशमा के गर्ने भन्ने कुराको बारेमा ठोस योजना सहित आएका छौँ। तर यो सन्देश तल पुर्याउन सकेनौँ भने, त्यसले हामीलाई अप्ठ्यारो पार्छ।
त्यसैले मेरो एउटै तपाईँहरूसँग आग्रह छ, म त्यही कुरा आज गण्डकी प्रदेशको बैठकमा भन्न पनि आएको, पछि बसेर कुराकानी गरौँला। अरु सब कुरा ठीकठाक छ। एउटै कुरा हो– हाम्रो निर्वाचनको प्रचार–प्रसार गर्ने तरिका हामीहरूले अलिकति बदल्नुपर्ने छ। एउटा पनि घर छुट्नुहुन्न। एउटा पनि मतदाता छुट्नुहुन्न। प्रत्येक मतदातासँग चुनाव अगाडि एक पटक राम्रोसँग, घरमा गएर, नमस्कार, जय नेपाल भनेर, उम्मेदवारको अनुहार देखाउँदै, एउटा पर्चा छाडेर हिँडेर हुँदैन अब। त्यहाँ बस्नुपर्छ, त्यहाँ कुरा गर्नुपर्छ, कुरा सुन्नुपर्छ, कुरा सुनाउनुपर्छ। उसले गाली गर्ला सुन्नुपर्छ। हामी गालीबाट भाग्ने मान्छे होइन नि। हामी आलोचनाबाट भाग्ने मान्छे होइन नि। हामी प्रश्नबाट भाग्ने शक्ति होइन नि। त्यहाँ जाने, भििड्ने, कुरा सुन्ने, कुरा बुझाउने। यो कांग्रेसको प्रचारको शैली हुनुपर्छ।
र नेपाली कांग्रेस पार्टीको अघि नै सायद सभापतिजीले सङ्केत गर्नुभएको कुरा यति भनेर टुङ्ग्याउँछु। यो १६५ निर्वाचन क्षेत्रमा चुनाव लडेको नेपालको आजको एउटा मात्र पार्टी हो, कुनै अर्को पार्टी छैन, जसको १६५ क्षेत्रमा उम्मेदवार छ। र कांग्रेसको कुनै पनि मतदाताले, जो सुकैले आएर भनोस्, रूख चिन्ह भन्दा बाहेक अन्त कतै पनि मत… यो नयाँ कांग्रेस हो यो। यसले बन्द कोठाभित्र गएर कहीँ खासखुस गर्दैन। यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा, यो कुनै यो कांग्रेसमा त्यो एक्सेप्टेबल (Acceptable) हुँदैन। त्यसैले कहीँ कतै कोही कुनै अलमलमा नपर्नुस्। कास्कीको तीनै क्षेत्र, गण्डकीका १८ क्षेत्र, सबै ठाउँमा रूख, रूख, रूख… रूख बाहेक अरु केही पनि छैन।
यही सन्देश लिएर तपाईँहरू जानुहुन्छ भन्ने विश्वास राख्दै, मैले साथीहरूलाई भनेको छु, अस्ति मधेसमा जाँदै गर्दा, ‘अबकी बार’ यो सरकार उर्कार नारा लाउनुभयो, छोड्दिनुस् नारा ल। नारा नै लाउने भए– ‘अबकी बार सय पार’ भनेर नारा लाउनुस्। त्यहाँ पुर्याउने हो यसपाली। मज्जाले जाने हो। सकिन्छ पुग्न। मज्जाले सकिन्छ। बहुमतसम्म पुग्न सकिन्छ। पार्टी प्रतिको, तर केवल एउटै कुरा छ, दुःख गर्नुपर्ने छ। मेहेनत गर्नुपर्ने छ। पार्टीको, पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर, ल मेहेनत गरौँ त एक पटक। १० लाख क्रियाशील भएको पार्टी हो यो। वडा–वडा, टोल–टोलमा सङ्गठन भएको पार्टी हो।
त्यसैले, त्यसकारणले गर्दाखेरि म फेरि तपाईँहरूलाई अन्तिममा आग्रह गर्छु– हाम्रो आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ, बुझौँ, तल्लो तहसम्म जाऔँ र गएर भनौँ– हामी देश सम्हाल्छौँ पनि, हामी व्यवस्थालाई सुधार्छौँ पनि। हामी बदलिएर आएका छौँ, बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि। यही विश्वास लिएर तल्लो तहसम्म तपाईँहरू जानुहुन्छ भन्ने विश्वास राख्दै, सभापतिजी लगायत साथीलाई धन्यवाद दिँदै मेरो कुरा टुङ्ग्याउँछु।
धन्यवाद ! नमस्कार ! जय नेपाल !















