पोखरा, आगामी फागुन २१ गते हुने निर्बाचनको क्रममा नेपाली काँग्रेसले कास्की जिल्लाको सबै क्षेत्रमा चुनाबी गतिबिधिलाई निरन्तरता दिनुको साथै मतदाता केन्द्रित बनाएको छ। यसक्रममा कास्कीको क्षेत्र न. १ अन्तर्गत पोखरा -१० मा वडास्तरीय सम्पर्क कार्यालय र कास्की क्षेत्र न.२ को चुनाब प्रचार सम्बन्धि क्षेत्रिय कार्यालय पोखराको सृजनाचोकमा स्थापना गरिएको छ। कास्की क्षेत्र न. ३ अन्तर्गत पोखरा महानगरपालिका -२३ ठुलाखेतमा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। यसका साथै कांग्रेसका उमेदवारहरु आआफ्नो क्षेत्रका मतदातासंगको भेटघाटमा केन्द्रित हुन थालेका छन।
कास्की -२ को सृजनाचोकमा कांग्रेसको क्षेत्रिय चुनाब प्रचार कार्यालय उद्घाटन
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त सम्पर्क कार्यालयको उद्घाटन नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेदवार माधव प्रसाद बाँस्तोलाले संयुक्त रुपमा गरेका थिए ।
कार्यालयको उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेशका सभापति शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नरहेको बताए । उनले पार्टीको जिम्मेवारी युवाको काँधमा गएकाले अब युवाका माग काँग्रेसले सम्बोधन गर्ने बताए । लामो समयदेखि प्रजातन्त्रका लागि लड्दै आएको नेपाली काँग्रेस बलियो पार्टी भएको देख्ने चाहना हरेक नेपालीको भएकाले त्यसै अनुसार पार्टी अगाडि वढ्ने उनको भनाई थियो ।
नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बाँस्तोला “मधु” ले नेपाली काँग्रेसले जेन्जीका मागलाई समेटेर अगाडि वढ्ने वताउँदै काँग्रेसले विशेष महाधिवेशनबाट पार्टी सभापति युवालाई नै सुम्पिएको बताए । आफ्नो विचारमा स्पष्ट रहेको नेपाली काँग्रेस संविधान संशोधन मार्फत संविधानका त्रुटी कमजोरी सच्याएर अगाडि वढ्ने प्रतिवद्धता मतदाता माझ व्यक्त गरे ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोसीले सुधारिएर आएको काँग्रेसलाई नेपाली जनताले विश्वास गर्ने बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ८ का एकाई समापति रमेश बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।
कास्की -३ अन्तर्गत पोखरा -२३ ठुलाखेतमा सम्पर्क कार्यालय उद्घाटन

आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की -३ ले पोखरा महानगरपालिका–२३ ठुलाखेतमा वडास्तरीय चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ।नेपाली कांग्रेस पोखरा -२३ कार्यसमितिका सभापति भरतराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभामा कास्की क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए।
सम्पर्क कार्यालयको उद्घाटन पुर्व पोखराबाट गएको कांग्रेसका उमेद्वार सहितको टोलि वडा न. २३ का बिभिन्न स्थानमा पुगेर मतदाताहरु संग भेटघाट गरेको थियो। उमेद्वारसहितको टोलि पामेबाट चापाकोटको बिभिन्न स्थान हुँदै बामदी, ठुलाखेत, घाटीछिना, कुतिमडांडा लगायतका क्षेत्रमा पुगेर मतदातासंग भेटघाट गरेको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनोज गुरुङले सस्तो लोकप्रियताका लागि जनतामा असम्भव आशा बाँड्नु भन्दा जनताका वास्तविक समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने बताए । उनले कास्की क्षेत्र नम्बर ३ का विभिन्न क्षेत्र र समुदायमा पुगेर नागरिकका सुझाव संकलन गरि तिनलाई समेटेर आफ्नो प्रतिबद्धता पत्र तयार गर्ने उल्लेख गरे । समानुपातिक तर्फका उमेदवार आई बहादुर गुरुङले कांग्रेस सधैं जनताको आवाज सुन्ने पार्टी भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र न.३ को चुनाब प्रचार प्रसार समितिका संयोजक युवराज कुँवर, संविधान सभा सदस्य शारदा पौडेल, गण्डकी प्रदेशका सांसद प्रकाश बराल, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेका कास्की क्षेत्र नम्बर ३ का सचिव लक्ष्मी प्रसाद पौडेललगायत वक्ताहरूले आ–आफ्ना भनाई राखेका थिए ।
क्षेत्र न.१ को पोखरा -१० मा सम्पर्क कार्यालय स्थापना

नेपाली कांग्रेस कास्की क्षेत्र न.१ अन्तर्गत पोखरा महानगरपालिका वडा कार्यसमिति पोखरा १० मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरिएको छ। सम्पर्क कार्यालयको उद्घाटन क्षेत्र नम्बर १ उम्मेदवार तिलकबहादुर रानाभाटले गरेका थिए। सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवारसहित कांग्रेसले उक्त वडामा मतदातासंग भेटघाट गरी सुझाव संकलन गरेको छ।
उक्त वडाको रामबजार जेष्ठ नागरिक सेवा केन्द्रमा पुगेर जेष्ठ नागरिक सँग सुझाव लिनुको साथै कृष्ण मन्दिर, गौरी मार्ग, हस्पिटल चोक, स्वर्णिम टोल, अन्नपूर्ण टोल, जनप्रिय टोल र नागिन टोलका बासिन्दासँग सुझाव संकलन गरिएको छ । कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले नागरिकबाट प्राप्त सुझाव नै आफ्नो प्राथमिकता र योजना बन्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका रानाभाटले देशलाई एक्काइसौँ शताब्दीको प्रतिस्पर्धामा उत्रन सक्ने बनाउनुपर्ने कुरामा जोड दिएका थिए। उनि नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति २६ को कार्यकर्ता भेटघाटमा पनि सहभागी बनेका थिए।















