Play

उमा सुवेदीको नवीनतम उपन्यास ‘परिधि’ माथि पोखरामा विमर्श

गुरुकुल खबर


पोखरा, आख्यानकार उमा सुवेदीको नवीनतम उपन्यास ‘परिधि’ माथि पोखरामा विमर्श भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा वक्ताहरूले कृतिमाथि रन्थनिएका पात्र र तिनको मनोविज्ञानबारे खुलेर चर्चा गरे ।

कार्यक्रममा समीक्षक डा. ईश्वरमणि अधिकारीले उपन्यासलाई ‘दक्षिण भारतीय फिल्म’ (साउथ इन्डियन मुभी) सँग तुलना गर्दै यसमा पाठकलाई बाँधेर राख्ने क्षमता रहेको बताए ।

‘कृति पढिरहँदा मज्जा लाग्छ, अरूको दुःख र विषाद पढ्दा पनि झ्याउ लाग्दैन,’ डा. अधिकारीले भने, ‘परिधि पढिरहेको पाठक बेलाबेला थ्रिलर अनि सस्पेन्स शैलीको दक्षिण भारतीय चलचित्र हेरेझैँ रोमाञ्चित हुन्छ ।’

उपन्यासमा भ्रमपूर्ण मानसिकता र मुखुन्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी संसार रहेको उनको भनाइ छ । बनोट, बुनोट र शैलीका हिसाबले यो सुवेदीका पूर्ववर्ती उपन्यासभन्दा धेरै अर्थमा उत्कृष्ट रहेको डा. अधिकारीले दाबी गरे । यद्यपि, आख्यानमा दीर्घकालसम्म सम्झिने विषय खासै नरहेको र विषाद एवं दुखी आत्माहरूको केन्द्रीयता अलि बढी भएको गुनासो पनि उनले गरे ।

अर्की समीक्षक गौरी तमुले ‘परिधि’ ले नारी जीवनका विभिन्न पाटालाई सम्बोधन गरेको बताइन्

कार्यक्रममा लेखक सुवेदीले कृतिको रचना गर्भबारे खुलाइन् । पोखराको ऐतिहासिक संस्थाको ब्यानरमा आफ्नो कृतिमाथि विमर्श हुँदा खुसी लागेको बताउँदै उनले यसले साहित्यमा लाग्न थप जिम्मेवारी र ऊर्जा मिलेको सुनाइन् ।

प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’ देखि सुरु भएको नेपाली आख्यान लेखनको इतिहास कोट्याए । उनले मायिक यथार्थवाद (म्याजिकल रियालिजम) र स्वैरकाल्पनिक लेखनका सौन्दर्य तथा चुनौतीबारे चर्चा गर्दै समकालीन लेखनका आयाममाथि प्रकाश पारे ।

संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत र सचिव एमडी काफ्लेले सञ्चालन गरेका थिए ।

१८ माघ २०८२, आईतवार १२:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा