पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गरेको छ । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो ।

गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो।
यस अगाडी भएको खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो ।
उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पारेको छ । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।
अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल शनिबार दिउँसो २ बजेबाट हुनेछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
















