काठमाडौँ, सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।
घिमिरेले कांग्रेस एमालेलगायतले दायर गरेको रिटको सुनुवाइ अगाडि बढाउन बिहीबार प्रधानन्यायाधीश राउतलाई भेटेर ध्यानाकर्षण गराइने जानकारी दिए ।
‘कांग्रेस एमालेलगायतका दर्जन बढी रिट संसद् पुनर्स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन । आलटाल गरिरहेको छ,’ घिमिरेले भने, ‘रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ । जे हो न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भन्दै भोलि ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशको समय लिएका छौँ ।’
घिमिरेले एमालेका सांसदलाई पनि सर्वोच्च जानका लागि खबर गरेको जानकारी दिए । कांग्रेसका ६५ पूर्व सांसदले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन्।पुनर्स्थापनाका लागि रिट दायर गर्ने काठमाडौँ उपलब्ध सबै पूर्वसांसद बिहिबार सर्वोच्चमा जाने घिमिरेले जानकारी दिए ।
















