पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्बाचनको क्रममा कास्कीका बिभिन्न निर्बाचन क्षेत्रमा नेपाली काँग्रेसले प्रचारात्मक अभियान शुरु गरेको छ । यसैक्रममा कास्की क्षेत्र न. १ मा नेपाली कांग्रेसको चुनाब प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन तथा कास्की क्षेत्र न. ३ मा कांग्रेस कार्यकर्ता भेला र प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका उमेदवार मनोज गुरुङ र समानुपातिक तर्फका उमेदवार आइबहादुर गुरुंगको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कास्की क्षेत्र न. १ अन्तर्गत महानगरपालिका–२६ कालिकाचोकमा कांग्रेसको क्षेत्रीय निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन नेपाली काँग्रेसका पुर्व महामन्त्री एबम पुर्व सभामुख तारानाथ रानाभाटले गरेका थिए भने कास्की -३ को कार्यक्रम पोखरा -२५ हेमजामा सम्पन्न भएको थियो र कार्यक्रमका प्रमुख अतिथि थिए पार्टीका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा ।


कांग्रेसले चुनाबी प्रचारको क्रममा आयोजना गरेका दुईवटा क्षेत्रियस्तरका कार्यक्रम अन्तर्गत क्षेत्र न.१ मा आयोजित कार्यक्रममा पार्टीका क्षेत्रिय सभापति राजेन्द्रमणी लामिछाने स्वागत मन्तब्य र पार्टीबाट कास्की -१ का उमेदवार तिलक रानाभाटले मात्र आंफ्नो भनाई राखे । कास्की ३ मा आयोजित समारोहमा बोल्ने बक्ताहरुको संख्या झन्डै डेढ दर्जन पुगेको थियो। कार्यक्रममा कास्की क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फका उमेदवार मनोज गुरुङ र समानुपातिक तर्फका उमेदवार आइबहादुर गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए।
कास्की क्षेत्र न. १ को कार्यक्रममा प्रमुख अतिथि पार्टीका पुर्व महामन्त्री तारानाथ रानाभाटलाई कार्यालयको उद्घाटन गर्न लगाईए पनि उनलाई बोल्नको लागि समय दिईएन । पुर्व महामन्त्री रानाभाटलाई बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर कार्यालयको उद्घाटन गर्न भनिएपछि रानाभाटले सोहि अनुसार बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेका थिए। प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर पनि उनलाई बोल्न नदिई त्यस क्षेत्रका कांग्रेसको उमेदवार रहेका तिलक रानाभाटलाई मात्र बोल्न लगाएर कार्यक्रम समापन गरिएपछि त्यहा रहेका एक कांग्रेस नेताले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेर रानाभाटको अपमान गरिएको अनुभूति भएको बताए।
क्षेत्र न. ३ मा आयोजित कार्यक्रममा गाउँ गाउँबाट आएका कार्यकर्ताहरुको उपस्थिति उल्लेखनीय रहेपनि मुलुकको पछिल्लो राजनीतिक अबस्था सहित नेपाली कांग्रेसको अबस्था र कांग्रेसले चुनबा जित्नसक्ने आधारहरुको बारेमा जानकारी गराउने र कार्यकर्ताहरुलाई उत्प्रेरित गर्ने किसिमको अभिव्यक्ति आउन नसकेको भन्दै कतिपय कार्यकर्ताले गुनासो गरेका थिए। सोहि कार्यक्रममा उमेदवारहरु मनोज गुरुङ र आइबहादुर गुरुंगको चिनारी प्रस्तुत गरिएको थियो।

२०५६ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका मनोज गुरुङ पार्टीको क्षेत्रिय सभापति र नेपाल तरुण दलको अध्यक्ष समेत हुन। उनि करिब दश बर्षदेखि नेपाल तरुण दल कास्कीको अध्यक्षको रुपमा कार्यरत छन। यसका साथै उनि कम्युनिटी सपोर्ट ग्रुप भन्ने संस्थामा पनि २०६५ देखि अध्यक्षको जिम्मेवारीमा छन। यस बाहेक उनि बिभिन्न शैक्षिक संस्थामा समेत संलग्न रहेको बताइएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा गुरुङले प्रमाणपत्र तहसम्मको अध्ययन गरेको उक्त समारोहमा जानकारी दिईयो।
समानुपातिक तर्फका उमेदवार आईबहादुर गुरुङ नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय छन। उनि २०३६ को जनमत संग्रहताका नै कांग्रेसको पक्षमा खुलेका थिए। स्नातक तहसम्म अध्ययन गरेका गुरुङ नेपाली कांग्रेस कास्कीको क्षेत्र न.२ को सभापति समेत दुई पटक बनिसकेका छन। यसबाहेक उनि लामो समय महाधिबेशन प्रतिनिधिको रुपमा पार्टीमा क्रियाशील छन। गुरुङ समुदाय भित्रको शिक्षित मात्र नभएर कांग्रेस र प्रजातन्त्रप्रति निष्ठावान कार्यकर्ताको रुपमा उनलाई लिने गरिएको छ ।
कास्की क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उमेदवार तिलक रानाभाट र क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछानेले पार्टीभित्रको एकता, अनुशासन र सक्रियतामै चुनावी सफलता निर्भर रहने बताए। उनीहरुले कास्की क्षेत्र नम्बर १ मा कांग्रेसले विगतमा पुर्याएको योगदानको स्मरण गर्दै लोकतन्त्र, संविधानको रक्षा र विकासका लागि कांग्रेस उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरु समेत सयौँको संख्यामा सहभागी थिए। चुनाबी प्रचार प्रसारलाई प्रभावकारी बनाउन जनसम्पर्क, घरदैलो, कोणसभा तथा विभिन्न अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने बुझिएको छ। क्षेत्रीय सचिवहरू ओमप्रकाश गुरुङ र सरोज केसीले कार्यक्रम संचालन गरेको चुनाब प्रचार प्रसार समितिले जनाएको छ ।

क्षेत्र न. १ को कार्यक्रममा सहभागी भए पनि बोल्ने अवसर नपाएका कांग्रेस केन्द्रिय सदस्य कृष्ण केसी, पुर्व सहमहामन्त्री जिबन परियार, जिल्ला सभापति किशोरदत्त बराल लगायतका केहि नेताहरु लगत्तै क्षेत्र न.३ को कार्यक्रममा पुगेर आआफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा सहित पुर्व केन्द्रीय सदस्य शारदा पौडेल, चुनाव प्रचार प्रसार समिति कास्की -३ का संयोजक युवराज कुँवर, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, कास्की -३ का कार्यबाहक सभापति पुष्पेन्द्र पाण्डे, पोखरा -२४ का कांग्रेस सभापति प्रताप बहादुर कार्की, वडा न. २५ का कांग्रेस सभापति मधुसुदन त्रिपाठी, नेका पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा -२ का वडाध्यक्ष दिवसमान प्रधानांग, दलित कोटाबाट महाधिबेशन प्रतिनिधि बनेका उदय नेपाली, महाधिबेशन प्रतिनिधि बिष्णुबहादुर क्षेत्री, क्षेत्रिय समितिका प्रबक्ता महेश तिमिल्सिना, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन लगायतले आआफ्नो भनाई राखेको बुझिएको छ। स्थानीय एबम लोकप्रिय भजन गायक भरत गौतमले कार्यक्रममा चुनाबी गीत प्रस्तुत गरेका थिए।
उक्त समारोहमा बोल्ने क्रममा कास्की कांग्रेसका उपसभापति एबम क्षेत्रिय चुनाब प्रचार समितिका संयोजक युवराज कुँवरले नेपाली काँग्रेस बदलिएको बताउंदै यस अगाडीको चुनाबमा उमेद्वार बन्नेहरुले पार्टीमा टिकट किन्नुपरेको तर यसपटक भने कसैले टिकट किनेको वा बेचेको भन्ने नसुनिएको उल्लेख गरे । सोहि समारोहमा यस अगाडी सोहि क्षेत्रबाट प्रदेश र संघको चुनाबमा कांग्रेसबाट टिकट लिएका प्रकाश बराल, शारदा पौडेल र शुक्रराज शर्मा लगायतका नेताहरु पनि सोहि कार्यक्रममा सहभागी थिए। अन्य बक्ताहरुले उमेदवार मनोज र आइबहादुरको योगदानको बारेमा चर्चा गर्दै चुनाब जिताउन सक्रिय भएर लाग्न आग्रह गरे।
सोहि कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र न. ३ स्तरीय चुनाब प्रचार प्रसार समिति गठन गरिएको जानकारी दिईयो समितिमा कास्की कांग्रेसका उपसभापति युवराज कुँवर संयोजक, खिमलाल बाँस्तोला र बिष्णुबहादुर क्षेत्री सहसंयोजक, मनपति भण्डारी कोषाध्यक्ष, एबम पार्टीको क्षेत्रिय समितिका सचिब र सहसचिब हरुलाई प्रचार समितिमा पनि सोहि पदको जिम्मेवारी दिईएको बताइएको छ। ८ हजार १ सदस्यीय चुनाब प्रचार प्रसार समितिको अतिरिक्त अनुगमन, घोषणा पत्र तयारी, युवा परिचालन, जेनजी परिचालन, महिला परिचालन, जनजाती परिचालन, मिडिया परिचालन लगायतका बिभिन्न उपसमिति गठन गरिएको जानकारी उक्त समारोहमा दिईएको थियो ।
यसैगरी कास्की -१ मा कांग्रेसको चुनाब प्रचार प्रसारको लागि पार्टीका क्षेत्रिय सभापति राजेन्द्रमणी लामिछाने संयोजक रहेको १ हजार १११ सदस्यीय समिति गठन गरिएको छ। यसैगरी अप्सरा श्रेष्ठको संयोजकत्वमा महिला परिचालन समिति, डम्बरजंग गुरुंगको संयोजकत्वमा युवा परिचालन समिति, अमर केसीको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति,बिकास लामाको संयोजकत्वमा भात्रीसंस्था समन्वय समिति, राजिब भण्डारीको संयोजकत्वमा जेनजी परिचालन समिति गठन गरिएको छ।

यसैगरी लेखबहादुर गुरुङको संयोजकत्वमा अन्तराष्ट्रिय जनसम्पर्क समिति, अमर धितालको संयोजकत्वमा सांस्कृतिक समिति, देबराज बरालको संयोजकत्वमा प्रजातन्त्र सेनानी एबम जेष्ठ नागरिक समन्वय समिति, राम गुरुङको संयोजकत्वमा तमु संस्था परिचालन समिति, मिलन तिवारीको संयोजकत्वमा संघसंस्था समन्वय समिति, नबिन सिग्देलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शान्ति खनालको संयोजकत्वमा आमा समुह एबम टोल विकास संस्था समन्वय समिति, बाबुराम गिरिको संयोजकत्वमा उधोग बाणिज्य क्षेत्र समन्वय समिति गठन गरिएको क्षेत्र न.१ को कार्यक्रममा सहभागी नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य समेत रहेका शिरोमणी बरालले जानकारी दिए ।
















