पोखरा, पोखरा महानगरपालिका –२२ स्थित परिवर्तन युवा क्लबले दोस्रो संस्करणको ‘त्रिभुवन स्मृति कप फाइभ–ए–साइड’ फुटबल प्रतियोगिता गर्ने भएको छ ।नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा प्रतियोगिता गर्न लागिएको हो । पौडेलको २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनामा परेर निधन भएको थियो आगामी फागुन ७ देखि ९ गतेसम्म पोखरा–२२ सिम्लेपाखा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताको विजेता टोलीले ८० हजार ५५५ रुपैयाँ र उपविजेताले ४० हजार ५५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि विधागत पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि फागुन ६ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ । प्रत्येक टिममा अधिकतम ८ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ । राष्ट्रिय तथा ‘ए’ डिभिजन खेलेका खेलाडीले भने प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदीप बरालले खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै भाइचारा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पौडेलले जिबनको छोटो समयमा गरेको कामको मुल्यांकन गर्दै समाजमा सकारात्मक योगदान पुर्याउने युवालाई सोहि समारोहमा ‘त्रिभुवन युथ अवार्ड’ बाट सम्मान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको अवसरमा फागुन ७ गते पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ । शिविरमा रक्तचाप, मधुमेह र मुटु परीक्षणलगायतका सेवा उपलब्ध हुनेछन् । वृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिका लागि उपचारमा विशेष छुटको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक (टाइटल स्पोन्सर) एसियन कन्क्रिटो रहेको छ ।
कार्यक्रममा स्वर्गीय पौडेलकी धर्मपत्नी प्रतिभा पौडेल लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव दक्षिणा बराल, स्वागत उपाध्यक्ष सरस्वती बराल र विषयवस्तुमाथि प्रकाश पार्ने काम सहसचिव प्रेरणा ढकालले गरेका थिए । विसं २०७३ मा स्थापित क्लबले सिम्लेपाखा क्षेत्रमा खेलकुद र सामाजिक चेतनाका कार्यक्रम गर्दै आएको छ ।
















