Play

सुदुर पश्चिमबाट राजनीतिको संघर्षपूर्ण र रोमान्चक राजनीतिक यात्रामा सक्रिय ‘नैनसिंह महर’

गुरुकुल खबर


कैलाली, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्बाचनका लागि डडेलधुरा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट उमेदवार बनेका छन– ‘नैनसिंह महर’। डडेल्धुराको भूगोल जति विकट र चुनौतीपूर्ण छ, महरको जीवनयात्रा उति नै सङ्घर्षपूर्ण र रोमाञ्चक छ। एउटा सामान्य गोठाले केटादेखि राष्ट्रिय राजनीतिको नीति–निर्माण तहसम्मको चल्दै गरेको उनको यात्रा गरिबी, अभाव, राजकीय दमन र मृत्युलाई समेत जितेर अघि बढेको बढिरहेको भन्दा अत्युक्ति हुँदैन महरको जीवनलाई नजिकबाट नियाल्दा हामी त्यहाँ नेपालको लोकतान्त्रिक आन्दोलन, विद्यार्थी राजनीतिको रूपान्तरण र अबको समृद्धिको मार्गचित्र स्पष्ट देख्न सकिन्छ।

वि.सं. २०३१ सालमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३, लामिकाण्डेको एउटा मध्यमवर्गीय परिवारमा कान्छो सन्तानका रूपमा नैनसिंहको जन्म भएको हो। महाकाली नदीको केही पर लामिकाण्डे गाँउउकाली–ओरालीहरूमा बस्तुभाउ चराउँदै, धुलोमा खेल्दै बित्ने उनको बाल्यकाल नितान्त सरल र बेफिक्री थियो। तर, त्यो सरलताभित्र गरिबीको एउटा कहालीलाग्दो यथार्थ पनि लुकेको थियो। गाउँमा व्याप्त अभाव, अशिक्षा र राज्यको विभेदपूर्ण व्यवहारले उनको बालमस्तिष्कमा गहिरो छाप पार्यो। जब उनी समाजका विभेदहरू देख्थे, जब गरिब जनताको आँसु देख्थे, तब उनलाई लाग्थ्यो– केही त गर्नुपर्छ। ‘नीति परिवर्तन नभई नियति परिवर्तन हुँदैन’ भन्ने चेत उनमा सानैदेखि पलाउन थाल्यो, जसले उनलाई बिस्तारै राजनीतिको कठिन तर अनिवार्य मार्गमा डोर्यायो।

नैनसिंह महरको राजनीतिक जीवन २०४६ सालको ऐतिहासिक परिवर्तनको सेरोफेरोमा भयो। जतिबेला देशमा प्रजातन्त्र पुन:स्थापनाको लहर चलिरहेको थियो, १६ वर्षको कलिलो उमेरमा उनी असिग्राम माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ (ने.वि. संघ) इकाइ अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे। उनको जीवनमा एउटा निर्णायक मोड तब आयो, जब २०४७ साल कार्तिक १६ गते विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका तत्कालीन युवा नेता शेरबहादुर देउवा र एनपी साउद लगायतका हस्तीहरू उपस्थित थिए। त्यो विशाल जनसभामा एक ने.वि.संघ अध्यक्षको हैसियतले महरले गरेको ओजपूर्ण र तर्कसङ्गत भाषणले उपस्थित सबैको ध्यान खिच्यो। शीर्ष नेताहरूले उनको भाषण सुनेर दिएको धाप र हौसला नै उनको राजनीतिक यात्राको ‘टर्निङ पोइन्ट’ बन्यो। सायद त्यही दिन उनले सङ्कल्प गरे– अबको जीवन व्यक्तिगत स्वार्थका लागि होइन, समष्टिगत हित र राष्ट्र निर्माणका लागि समर्पित हुनेछ।

विद्यार्थी राजनीतिलाई सिँढी बनाउँदै अघि बढेका महरले २०५२ सालमा ने.वि. संघ डडेल्धुराको कार्यवाहक अध्यक्ष र २०५६ सालमा निर्वाचित जिल्ला अध्यक्ष भएर काम गरे। तर, राजनीति र जीविकोपार्जनको सन्तुलन मिलाउनु उनका लागि फलामको चिउरा चपाउनु सरह थियो। महँगी र मध्यमवर्गीय पारिवारिक दायित्वले उनलाई थिचिरहेको थियो। यही बाध्यता र सिर्जनात्मक भोकले उनलाई पत्रकारितातिर डोर्यायो। वि.सं. २०५३ देखि २०५७ सम्म उनले ‘कान्तिपुर दैनिक’ रा.स.स र रेडियो नेपालको रिपोर्टरका रूपमा काम गरे। पत्रकारिता उनका लागि समाजलाई गहिराइमा बुझ्ने एउटा आँखीझ्याल थियो। भुइँमान्छेका पीडा, प्रशासनिक ढिलासुस्ती र विकासका तगाराहरूलाई उनले कलमको माध्यमबाट उजागर गरे। उनी नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संस्थापक अध्यक्ष समेत बनेर सुदूरपश्चिममा पत्रकारिताको संस्थागत विकासमा इँटा थप्ने काम गरे। तर, २०५७ सालको चितवन महाधिवेशनमा ने.वि. संघको केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले एउटा कठोर निर्णय लिए। ‘समाचार लेख्ने होइन, अब समाचार बन्ने काम गर्नुपर्छ’ भन्ने निष्कर्षका साथ उनले पत्रकारितालाई बिट मारे र पूर्णकालीन राजनीतिमा होमिए। यो निर्णय जोखिमपूर्ण थियो, तर समयले यसलाई सही साबित गरिदियो।

वि.सं. २०६२/६३ को जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरका लागि २०६४ सालको चैत्र २४ गतेको रात जीवनकै सबैभन्दा कहालीलाग्दो र अविस्मरणीय रात बन्यो। पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा, लोकतन्त्रको पक्षमा माहोल बनाउँदै गर्दा तत्कालीन विद्रोही माओवादीका करिब ८० जनाको हतियारधारी समूहले डडेल्धुरास्थित उनकै नातेदारको निवासबाट मध्यरातमा उनलाई अपहरण गर्‍यो। भर्खरै वैवाहिक जीवनमा बाँधिएका महरलाई नानीगाड नदीको बगरमा लगेर लुटपाट मच्चाइयो र मरणान्त हुने गरी पाशविक कुटपिट गरियो। आक्रमणकारीहरूले उनलाई मृत सम्झेर बगरमा बेवारिसे छोडेर गएका थिए। चार घण्टापछि होस आउँदा उनी बगरमा एक्लै थिए, शरीर रगतपच्छे थियो र हाडजोर्नीहरू दुखिरहेका थिए। मृत्युलाई यति नजिकबाट देखेर फर्केका महर डराएनन्, भागेनन्। बरु, “जनताको सेवा गर्ने मान्छे मृत्युसँग डराउनु हुँदैन” भन्ने अदम्य साहसका साथ भोलिपल्टैदेखि उनी घाइते शरीर लिएरै चुनावी मैदानमा उत्रिए। यो घटनाले डडेल्धुराबासीको मनमा उनीप्रतिको सम्मान र विश्वासलाई अझ गहिरो बनायो। उनी रगत बगाएर माटोको रक्षा गर्ने योद्धा पनि हुन् भन्ने कुरा पुष्टि भयो।

सङ्घर्षको भट्टीबाट खारिएका महरले विद्यार्थी राजनीतिको केन्द्रीय मञ्चमा आफ्नो बलियो उपस्थिति जनाए। २०६४ सालमा केन्द्रीय उपाध्यक्ष हुँदै, २०७३ सालमा सम्पन्न ने.वि. संघको ११औं महाधिवेशनबाट उनी केन्द्रीय अध्यक्षमा निर्वाचित भए। अध्यक्षका रूपमा उनको कार्यकाल विद्यार्थी आन्दोलनको इतिहासमा ‘नीतिगत सुधार र रूपान्तरणको युग’ का रूपमा लेखिएको छ। ने.वि.संघ भित्र दशकौंदेखि विद्यार्थी राजनीतिमा जरा गाडेर बसेको ‘पाका विद्यार्थीहरू’ को सिन्डिकेट तोड्न उनले ‘३२ वर्षे उमेर हद’ को विधान पारित र स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षे उमेर हदको निर्णय विश्वविद्यालयबाट पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे । त्यस्तै, गरिब र जेहेन्दार विद्यार्थीले पैसाको अभावमा उच्च शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर उनले ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने’ नीतिको परिकल्पना गरे र त्यसलाई राज्यको नीति तथा कार्यक्रममा समावेश गराउन सफल भए। आज यो नीतिले हजारौं युवालाई उद्यमशीलता र उच्च शिक्षाको बाटो देखाएको छ। त्रिभुवन विश्वविद्यालयमा सेमिस्टर प्रणाली लागू गराउन र स्ववियु निर्वाचनलाई कम खर्चिलो एवं मर्यादित बनाउनमात्रै होईन कि खुल्ला विश्वविद्यालय स्थापनाको आफ्नो माग समेत पुरा गर्न उनले खेलेको भूमिका अतुलनीय छ।

नेपाली राजनीतिमा प्रायः नेताहरूलाई ‘पढ्ने–लेख्ने’ बानी नभएको आरोप लाग्ने गर्छ। तर, नैनसिंह महर यसको एक सुखद अपवाद हुन्। उनी एक गहन अध्ययनशील र वैचारिक स्पष्टता भएका नेता हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका महरले प्राज्ञिक साधनालाई कहिल्यै टुटे्न दिएनन्। सन् २०२५ मा राजनीतिशास्त्रमै प्रथम श्रेणीमा एम.फिल उत्तीर्ण गरी हाल राजनितिक अर्थशास्त्रमाविद्यावारिधि गरिरहेका महरले राजनीतिलाई ज्ञान र विचारसँग जोड्ने प्रयास गरेका छन्। उनका ‘शिक्षाका चुनौतीहरू’, ‘महाकाण्ड’, ‘अबको कांग्रेस’, ‘संकल्प’ लगायत आधा दर्जनभन्दा बढी अनुसन्धानात्मक र वैचारिक कृतिहरू प्रकाशित छन्। यी पुस्तकहरूमा उनले नेपालको शैक्षिक सुधार, राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र समसामयिक राजनीतिक मुद्दाहरूमा गहिरो विमर्श गरेका छन्। विचार बिनाको राजनीति दिशाहीन हुन्छ भन्ने मान्यता राख्ने महरले लोकतान्त्रिक संस्कार र सुशासनको प्रवर्द्धनका लागि ‘स्कुल अफ डेमोक्रेसी’ को स्थापना गरे। आज यो संस्थाको सञ्जाल विश्वका ३३ भन्दा बढी देशमा फैलिएको छ र यसले हजारौं युवालाई लोकतन्त्र, नेतृत्व र नागरिक दायित्वका विषयमा प्रशिक्षित गरिरहेको छ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट केन्द्रीय सदस्य र पार्टीको महत्वपूर्ण ‘शिक्षा विभाग’ को प्रमुखको जिम्मेवारीमा रहेका महरले मुलुकको शैक्षिक रूपान्तरणका लागि स्पष्ट खाका कोरेका छन्।  निशुल्क स्वास्थ्य, शिक्षा संगै व्यवस्थित यातायात,सञ्चार र उद्यमशिलता सहितको युवा रोजगार, जनताको अधिकार काग्रेसको सरकार भन्ने मुल एजेण्डा बनाएर महरशिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण अपनत्व र दायित्व हुनुपर्छ भन्ने समाजवादी मान्यताका प्रखर वक्ता हुन्। “जबसम्म शिक्षा र स्वास्थ्यमा हुने व्यापार रोकिँदैन, जबसम्म गरिबको छोराले र धनीको छोराले एउटै गुणस्तरको शिक्षा पाउने वातावरण बन्दैन, तबसम्म समुन्नत नेपालको परिकल्पना अधुरै रहन्छ,” भन्ने उनको दृढ बुझाइ छ। संविधानमा मौलिक हकका रूपमा लेखिएको निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्थालाई व्यवहारमा उतार्न उनी निरन्तर नीतिगत पैरवी गरिरहेका छन्। जिल्लाको विकासका लागि पुर्व प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेर महरले विकास कार्य सम्पन्न गर्न योगदान दिएका थिए ।

डडेल्धुराबाट प्रतिनिधि सभाको उम्मेदवारी दिँदै गर्दा उनले आफ्नो गृहजिल्लाको समग्र विकासका लागि व्यावहारिक र वैज्ञानिक योजनाहरू अघि सारेका छन्। उनी सपना मात्र बाँड्दैनन्, आधार पनि प्रस्तुत गर्छन्। कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरेर मात्रै ग्रामीण अर्थतन्त्र माथि उकास्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन्। परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई बदलेर जडीबुटी, फलफूल र नगदे बालीको उत्पादनमा जोड दिने, र त्यसका लागि प्रशोधन केन्द्रहरू स्थापना गर्ने उनको योजना छ। डडेल्धुराको धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावनालाई उनी ‘आर्थिक क्रान्ति’ को माध्यम बनाउन चाहन्छन्। उग्रतारा, परशुराम धाम,घटालथान, अजयमेरुकोट, भागेश्वर, आलतिाल, गन्यापधुरा र नवदुर्गाजस्ता ऐतिहासिक स्थलहरूको प्रवर्द्धन गरी धार्मिक पर्यटनको सर्किट बनाउने र महाभारत लेकको चिसो हावापानीलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्दै पहाडकी रानी डडेल्धुरालाई राष्ट्रिय र अन्तराष्ट्रियपर्यटक केन्द्र बनाएर हजारौ युवाहरुलाई रोजगारीको प्रबन्ध गर्नु उनको सोच छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, नैनसिंह महरले आजको जल्दोबल्दो समस्या– युवा पलायनलाई गम्भीरतापूर्वक लिएका छन्। दैनिक हजारौं युवा हातमा राहदानी बोकेर विमानस्थलमा लाम लाग्नुपर्ने बाध्यताको अन्त्य उनका लागि गम्भीर राष्ट्रिय चुनौती हो। उनी ‘डडेल्धुरा फर्क अभियान’ मार्फत विदेशमा रहेका युवाहरूको सीप, पुँजी र प्रविधिलाई स्वदेशमै भित्र्याउने वातावरण बनाउन चाहन्छन्। ‘पढ्दै कमाउँदै’ नीतिलाई प्रभावकारी रूपमा लागू गर्ने र स्थानीय स्तरमै उद्यमशीलताको विकास गर्ने उनको एजेन्डाले युवा पुस्तामा नयाँ आशा जगाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारीकारूपमा हेरिएका महरमा विरासत र आधुनिकताको सङ्गम पाइन्छ।कन्सट्रक्टिभ स्टुडेन्ट लिडर अवार्ड २०१० जेएनसी बेलायतबाट सम्मानीत महरसंग एकातिर पुराना पुस्ताको जस्तो त्याग, सङ्घर्ष र जेलनेलको अनुभव छ भने अर्कोतिर उनीसँग २१औं शताब्दीको ‘जेन्जी’ पुस्ताको भावना बुझ्ने, प्रविधिमैत्री र विश्वव्यापी दृष्टिकोण राख्ने क्षमता छ। उनी सामाजिक सञ्जालमा सक्रिय छन्, डिजिटल साक्षरताको कुरा गर्छन् र विश्व रङ्गमञ्चमा भइरहेका परिवर्तनहरूबारे अपडेट रहन्छन्। संयुक्त राष्ट्रसंघको युवा सभा होस् वा युरोप र अस्ट्रेलियाका मञ्चहरू, उनले नेपालको शिर उँचो बनाउने गरी आफ्नो प्रस्तुति दिएका छन्।

नेपालको संविधानले धेरै कुरालाई जनताको अधिकारका रुपमा स्थापित गरे पनि कानुन निर्माणको अभावमा कार्यान्वयन हुन नसक्दा जनतामा निरासा छाएकाले संविधानको संरक्षण र पूर्ण कार्यान्वयनका लागि सांसद वनेर कानून निर्माणमा आफ्नो ध्यान केन्द्रीत गर्ने उनको भनाई छ ।डडेल्धुरा जिल्लालाई शैक्षिक हवको रुपमा बिकास गर्ने  र डडेल्धुरा जिल्लाका धरोहरको रुपमा रहेका अमरगढी किल्ला र अजयमेरुकोटलाई विश्व सम्पदा सुचीमा राख्न पहल गर्ने योजना रहेको छ ।

समग्रमा भन्नुपर्दा, नैनसिंह महरसँग मिसन छ, भिजन छ र त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति पनि छ। उनको सादगी जीवनशैली, पारदर्शी व्यवहार र निरन्तरको जनसम्पर्कले उनलाई जनताको मनमा स्थापित गराएको छ। डडेल्धुराले फेरि एकपटक राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने सक्षम नेतृत्व पाएको छ। सङ्घर्षको लामो यात्रा पार गरेर, विचारको निखार ल्याएर र समृद्धिको स्पष्ट खाका बोकेर उभिएका नैनसिंह महर, अबको डडेल्धुरा र नेपालको विकास यात्राका एक अपरिहार्य सारथी हुन्।देउवाको नेततृत्वमा सुदुरपश्चिम र बिशेष गरि डडेल्धुरा जिल्लाको बिकासमा महरले महत्वपुर्ण भुमिका निभाउदै आएका कारण उनि सुदुर पश्चिमको आशा लाग्दो पात्रको रुपमा हेर्न थालिएको छ।

९ माघ २०८२, शुक्रबार १४:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा