पोखरा, पोखरा रंगशालामा शुक्रबार देखि हुने एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहीबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो।
माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन। प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै प्रतियोगिता सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरे।
उनले भने, “भलिबलको उर्वर भूमि गण्डकी प्रदेशको राजधानी पोखरामा छैटौं संस्करण आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं। आवश्यक तयारी पूरा भइसकेको छ, सबैको सहयोगले प्रतियोगिता सफल हुनेछ भन्ने विश्वास लिएका छौं।”
नेपाल भलिबल संघको स्वीकृति तथा समन्वयमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टोली सहभागी हुनेछन्। यस संस्करणमा विदेशी टोलीको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ। महिलातर्फ थाइल्याण्ड क्विन्स (थाइल्याण्ड) र पुरुषतर्फ माल्दिभ्सको टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीतर्फ महिलामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदानमा उत्रनेछन्।
महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन्। प्रथम हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, दोस्रोले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई ११ हजार ६६६ रुपैयाँ बराबरको उपहार प्रदान गरिने आयोजकले जनाएको छ।
दर्शकका लागि ३ हजार ५ सय रुपैयाँ मूल्यको अनलाइन सिजनल टिकट खल्ती एपमार्फत उपलब्ध गराइएको छ। प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालको तर्फबाट सोभिनियर प्रदान गरिनेछ। साथै दैनिक टिकट काटी प्रवेश गर्ने दर्शकमध्ये एक जना भाग्यमानीलाई एक्सटेप नेपालको तर्फबाट टिसर्ट प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ।
प्रतियोगितालाई थप आकर्षक बनाउन एलईडी लाइट, एलईडी स्क्रिन डिजिटल बोर्ड, ठूलो क्षमताको प्याराफिट तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने प्रतियोगिता आयोजक समितिका सचिव डिबी नेपालीले जानकारी दिए। जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रतियोगितालाई निष्पक्ष र विवादरहित रूपमा सञ्चालन गरिने प्रतिबद्धता टेक्निकल डाइरेक्टर टहल सिंह थापाले व्यक्त गरे। उनले भने, “कहिलेकाहीँ मानवीय त्रुटि हुन सक्छ, तर त्यसलाई न्यूनिकरण गर्न हामी पूर्ण रूपमा सजग छौं।”
छैटौं टाइगर कप भलिबलको सह–प्रायोजकमा बात्सल्य र धारा शुद्ध तोरिको तेल रहेका छन्। प्रतियोगितामा विभिन्न सरकारी तथा निजी संघसंस्थाको सहकार्य र सहयोग रहेको आयोजकले जनाएको छ।















