पोखरा, पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रमका लागि पोखरा महानगरपालिकाको तर्फबाट सहयोग उपलब्ध भएको छ ।
पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो ।
बृद्धाश्रममा बिहिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उल्लिखित सामग्री हस्तान्तरण गरेका थिए । बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने वडाध्यक्ष कार्कीले जानकारी दिए ।
राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गरे । संस्थापक अध्यक्ष लिगलका अनुसार बृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय दिदै आएको बृद्धाश्रमको सञ्चालनलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बृद्धाश्रम सञ्चालक समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ ।















