पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्बाचनको लागि मंगलवार देशभरका निर्बाचन क्षेत्रमा विभिन्न राजनीतिक दलको तर्फबाट एबम स्वतन्त्ररुपमा उमेदवारी दर्ता गरिएको छ। तोकिएको निर्बाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारहरुले आआफ्नो मनोनयन पत्र पेश गरेको हुननिर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारको दर्ता किताबअनुसार यस क्षेत्रमा साना र ठूला गरी १६ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसैक्रममा कास्की जिल्लाका ३ वटा निर्बाचन क्षेत्रमा पनि शान्तिपूर्ण रुपमा उमेदवारी दर्ता गर्ने कार्य पुरा भएको र बिभिन्न दल र स्वतन्त्र गरि ४९ जनाले उमेदवारी दर्ता गराएको निर्बाचन आयोगको कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले गुरुकुल खबरलाई जानकारी दिए ।
कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामघाटमा मंगलबार मुख्य दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहका साथ आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार यस क्षेत्रमा साना र ठूला गरी १६ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
जस अनुसार नेपाली कांग्रेसका तर्फबाट तिलक बहादुर रानाभाट र नेकपा एमालेबाट बैन बहादुर क्षेत्री (अधिकारी) ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडक राज पौडेल र नेकपा माओवादी केन्द्रबाट कुमार परियार चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट बाबु राम थापाले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रमा अन्य राजनीतिक दलहरूबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ जस अनुसार उज्यालो नेपाल पार्टीबाट मनिसा द्वा, राष्ट्रिय जनमोर्चाबाट रवि मोहन ढकाल, जनता समाजवादी पार्टी नेपालबाट राम काजी चर्माकार र आम जनता पार्टीबाट हर्क बहादुर थापाले उम्मेदवारी दिएका छन्। यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट श्री मान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिन बहादुर दर्जी र नेशनल रिपब्लिक नेपालबाट यज बहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरि नेपाल मानवताबादी पार्टीबाट आश बहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्ण बहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विल बहादुर तामाङ लामा र नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा (एकीकृत मार्क्सवादी लेनीनवादी) बाट पनि उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउतले मनोनयन दर्ता गराएका छन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार ड्यामसाइटस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका १२ र ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्बजनिक गरेको म्बिबरण अनुसार नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला र नेकपा एमालेका तर्फबाट रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उत्तमप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रबाट प्रेमबहादुर थापा चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।
अन्य राजनीतिक दलहरूमध्ये नेपाल मजदुर किसान पार्टीबाट विनीता अबाल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट ओमबहादुर गुरुङ र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ उम्मेदवार बनेका छन् । यस्तै, नेपाल जनमुक्ति पार्टीबाट खयमबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हेमबहादुर थापा पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा ५ जनाले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रतर्फ विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरन्जन कोइराला, निर्दोष विक्रम पौडेल र वसन्तराज घिमिरेले उम्मेदवारी दिएका हुन् । फागुन २१ गते हुने निर्वाचनका लागि कास्की २ मा यसपटक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मालेपाटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार यस क्षेत्रमाउमेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका मनोज गुरुङ र नेकपा एमालेका तर्फबाट दामोदर पौडेल बैरागी रहेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विना गुरुङ र नेकपा माओवादी केन्द्रका तर्फबाट कमल खड्का विश्वकर्माले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट अर्जुनप्रसाद खनाल चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री र नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरीले उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले मनोनयन पेस गरेका छन् । यसैगरी नेशनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतु र श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले उम्मेदवारी दिएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि सबै उम्मेदवारहरूले आ–आफ्नो एजेन्डासहित तयारी सुरु गरेका छन् ।















