काठमाडौँ, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएका कारण पार्टीभित्र चर्को दबाब झेल्नुपरिरहेको बताएका छन् । काठमाडौँमा आफूनिकटका नेता तथा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको तरआफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने दृढता जनाए ।
‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जित उसैको हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु र यसबाट विचलित हुन्न,’ कोइरालाले कार्यकर्तालाई ढाडस दिँदै भने । पार्टीको कठिन अवस्थामा मध्यमार्गी भूमिका निर्वाह गरी कांग्रेसलाई संकटबाट जोगाउनुपर्नेमा उनले जोड दिए । भेलामा सहभागी नेताहरूले पार्टीको १५ औँ महाधिवेशन अन्योलमा परेकोमा चिन्ता जनाउँदै त्यसको सुनिश्चितता हुनुपर्ने माग गरेका थिए।
कोइरालाले आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा समेत गरे । उनले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा लाग्न आह्वान गरे । ‘निर्वाचन सहजताका लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको थिएँ, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा त्यसको प्रत्याभूति हुन सकेको छैन,’ उनले बताए ।
पार्टीभित्र देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई न्यायाधीशहरूको निर्णय मान्य हुने कोइरालाले स्पष्ट पारे । उनले नेता–कार्यकर्तालाई निर्वाचनसँगै १५ औँ महाधिवेशनको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् । कार्यक्रममा सुझाव दिने क्रममा जिल्ला तहका नेताहरूले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा आफूहरू विश्वस्त रहेको बताएका थिए ।















