पोखरा, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ८.४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरामा सम्पन्न बैंकको १३औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांशसहितका प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभामा बोल्दै पूर्वसञ्चालक विश्वमोहन अधिकारीले देशको विद्यमान आर्थिक चुनौतीका बाबजुद बैंकले हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताए ।
अर्का पूर्वसञ्चालक मनोविज्ञान श्रेष्ठले आगामी वर्ष सेयरधनीलाई दोहोरो अंकमा प्रतिफल दिने गरी कार्ययोजना बनाउन सुझाव दिए । डा. प्रदीप घिमिरेले गुणस्तरीय बैंकिङ सेवा र डिजिटलाइजेसनमा जोड दिन आग्रह गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिबहादुर बुढाथोकीले शाखा सञ्जालमार्फत वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी दिगो लगानी प्रवर्द्धन, डिजिटल उपकरण विस्तार र हरित बैंकिङमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्दै अघि बढ्नेछौं ।’ कार्यक्रममा बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।















