पोखरा, नेपाली कांग्रेसका आम कार्यकर्ताहरुलाई उत्साहित बनाउन आव्हान गरिएको बिशेष महाधिबेशनले केन्द्रीय समितिको बिघटन गर्ने तयारी गरेपछि पार्टीका नेता कार्यकर्ताहरुमा फेरी निरुत्साहित बन्न थालेका छन। कांग्रेसप्रति आशा देखिन थालेकोमा पुन बिशेष महाधिबेशनबाट बर्तमान कार्यसमिति बिघटन गर्ने तयारी बिशेष महाधिबेशन पक्षधरहरुले गरेपछि देशभरका कार्यकर्तामा पार्टी दुई चिरामा बिभाजन हुने कि भन्ने चिन्ताले निराशा छाएको छ।
जिल्ला जिल्लाका कार्यकर्ताहरुले बिशेष महाधिबेशनबाट पार्टी र देशको अबस्था बदल्न नयाँ नीतिहरु पारित गर्दै कांग्रेसलाई एकढिक्का बनाएर उत्साहाको साथ चुनाबमा जाने अपेक्षा गरेकोमा केन्द्रिय समिति बिघटनको एजेन्डा ल्याएर पार्टीलाई विभाजन तर्फ धकेल्न खोजिएको भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन। यस्तै बिषयमा उत्पन्न किचलो मिलाउन विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षबिच बालुवाटारमा आज बिहान शुरु भएको बार्ता जारी छ ।
विशेष महाधिवेशन पक्षधरले यस अगाडी खम्बबहादुर खाँतीको नेतृत्वमा गठन गरिएको पार्टीको निर्बाचन समितिलाई बिघटन गर्दै नयाँ निर्वाचन समिति समेत गठन गरेको जनाएका छन। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
यो समितिलाई निर्बाचन प्रक्रिया अगाडी बढाउने जिम्मेवारी दिने बिशेष महाधिबेशन पक्षधरको भनाई छ। बिशेष महाधिबेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ समिति घोषणा गरेमा नेपाली काँग्रेसमा बिभाजन आउने करिब निश्चित जस्तै छ त्यसैले पनि पार्टीलाई बिभाजन हुन् नदिन यतिबेला पार्टीका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाई सहित अन्य नेताहरु पनि निरन्तर एकपक्षिय एबम बहुपक्षिय रुपमा बार्ता र सम्बादमा जुटिरहेका छन ।
विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे छन् । देउवा र शेखर कोइरालाका समेतको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । स्रोतका अनुसार वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुट्न कठिन भइरहेको छ ।
‘चुनावको टिकटमा पुर्णबहादुरको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका पार्टी पुनरसंरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने प्रस्ताव उहाँहरूले ल्याउनुभएको छ’, देउवा पक्षबाट वार्तामा खटिएका एक नेताले भने, ‘त्यसबाहेक गुटगत ४० प्रतिशत भागबण्डा पनि दिनुपर्ने र देउवा सभापतिबाट हट्नुपर्ने प्रस्ताव आएका छन् जसले वार्ता लम्बिइरहेको छ ।’
विशेष महाधिवेशन पक्षधरको प्रस्ताव सबै पूरा गर्न नसकिने देउवा पक्षले अडान लिएको छ । ‘हामीले मिलाएर जाऔं भनेका छौँ, सबै माग पूरा हुन पनि सक्दैनन् । सहमतिका लागि ‘गिभ एण्ड टेक’ को मोडालिटी अपनाउनुपर्छ भन्ने छ’, देउवा पक्षका एक नेताले भने ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र जारी छ भने पार्टीको संस्थापन पक्षले आज बिहान ११ बजे बोलाएको केन्द्रीय समितिको बैठकको समय सारेर दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।














