काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र तिनलाई सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन्। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपो बेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।” पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यताको सङ्घर्ष भएको जनाउँदै महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा हजारौँ नरनारी सडकमा आएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको पक्षलाई मनन गर्न आवश्यक रहेको बताए।

महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबार भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।” महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताए । “कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” उनले भने ।ब कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताए।
सभापति देउवाले उद्घाटन गरेको र काबा सभापति उपस्थित भएको हेर्ने चाहना थियो
उनले मुलुकमा त्यत्रो घटना भइसकेपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अनदेखा र सामान्य घटनाका रूपमा लिन नमिल्ल्ने बताए। महामन्त्री थापाले यो विशेष महाधिवेशनलाई नाम जस्तै विशेष बनाएर टुङ्ग्याउनुपर्ने बताउँदै आफूहरूले बिशेष महाधिबेशनको उद्घाटन पार्टी सभापतिले गरेको र कार्यवाहक सभापति उपस्थित भएको हेर्न चाहे पनि त्यो हुन नसकेको बताए । कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको भएको बताउँदै उनले कांग्रेसले विगतदेखि नै त्यही कार्य गर्दै आएको स्मरण गरे । महामन्त्री थापाले पार्टीका लागि निर्वाचन मात्र ठूलो कुरा नभएकाले त्यसभन्दा फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए ।
उनले भने, “नागरिकमा भरोसा जोगाउनु छ, कांग्रेसले नै २००७ सालदेखि नडगमगाइ जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास छ । अहिलेको नवयुवामा आशा जगाइराख्न युवालाई मुलुकमै बसिराख्ने तथा कामका लागि विदेशिनुपर्ने बाध्यता हटाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउछौँ ।” महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मान्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठूलो कोही नभएको स्पष्ट पारे ।
पार्टीलाई फुटबाट जोगाएर अझ सशक्त बनाउछौं- महामन्त्री शर्मा
उक्त समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको मुख्य लक्ष्य सद्भाव, सुशासन र समुन्नति हुनुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीलाई फुटबाट जोगाएर अझ सशक्त बनाउने संकल्प व्यक्त गरे।

महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता कायम राख्न ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) अनिवार्य सर्त भएको टिप्पणी गरे। उनले नेतृत्वले आफूले गरेका राम्रा कामको जस लिने मात्र नभई कमजोरीहरू सच्याउन पनि तयार हुनुपर्ने धारणा राखे। विशेष महाधिवेशन प्रतिनिधिहरू अनुशासित रहेको चर्चा गर्दै उनले यो भेलाले कुनै आवेगमा नभई विवेकपूर्ण निर्णय गरेर देश र पार्टीको हितमा काम गर्ने विश्वास दिलाए।
जेनजी आन्दोलनले उठाएका सुशासनका मागहरूलाई कांग्रेसले नै सम्बोधन गर्न सक्ने दाबी गर्दै शर्माले बदलिएको परिस्थिति अनुसार पार्टी पनि बदलिएर अघि बढ्नुपर्ने बताए। उनले गत भदौ २३ र २४ गतेका घटना र त्यसक्रममा गुमेका जीवनका बारेमा गम्भीर छानबिन हुनुपर्ने माग समेत गरे। सरकारमा बस्नेहरूले जनतामा विश्वास जगाउन नसकेकै कारण युवाहरूको आन्दोलन चर्किएको उनको विश्लेषण थियो।
पार्टीभित्र रूपान्तरणको मुद्दालाई नेतृत्वले पटक-पटक बेवास्ता गरेकाले नै आज कार्यकर्ताहरू जागरुक भएर सडकमा आउनुपरेको शर्माको भनाइ थियो। उनले निजी क्षेत्रले हासिल गरेका उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा उनीहरूलाई थप प्रोत्साहन गर्ने नीति ल्याइने स्पष्ट पारे। महाधिवेशनको बन्द सत्रमा जनजीविकाका सवाल र जनताका असन्तुष्टिबारे सघन छलफल गरी ठोस संकल्पका साथ अघि बढ्ने अठोट उनले व्यक्त गरे।
नदि र पुल एकै ठाउँमा भएजस्तो पार्टी नेतृत्व र कार्यकर्ता एकै ठाउँमा हुनुपर्छ -आचार्य
नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीको विशेष महाधिवेशन पक्षधरको विजय भएको उद्घोष गर्दै देशभरका महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले विधिको शासन चाहनेहरूको जित भएको दाबी गरे। आचार्यले पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको सम्बन्धलाई नदी र पुलको संज्ञा दिँदै रोचक टिप्पणी गरे। उनले पार्टी नेतृत्व (पुल) र आम कार्यकर्ता (नदी) अलग भएर बस्न नसक्ने तर्क गरे। ‘पार्टीको नेता पुल एकातिर लिएर उभिने अनि मेची-महाकालीका प्रतिनिधिहरू नदीको रूपमा अर्कातिर हुने अवस्था रहन सक्दैन,’ उनले भने, ‘नदी र पुल सधैँ सँगै हुनुपर्छ, बहुमत प्रतिनिधि जहाँ छन्, वास्तविक पार्टी त्यहीँ हुन्छ।’

उनले यो महाधिवेशनले पार्टीभित्र विधान र विधिको पुनर्स्थापना गरेको जिकिर गरे। अबका दिनमा पार्टी हिजोको जस्तो ढर्रामा नचल्ने र कुनै पनि पदाधिकारीले बहुमत प्रतिनिधिको भावनालाई बेवास्ता गर्ने आँट गर्न नसक्ने उनको चेतावनी थियो। विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने मान्यता राख्नेहरूका लागि यो उपस्थिति एउटा बलियो आधार बनेको उनले बताए। कार्यक्रममा आचार्यले मुलुकको भविष्य र पार्टीको रूपान्तरणका लागि युवा नेताहरूले अबको कार्यभार सम्हाल्नुपर्नेमा जोड दिए। महाधिवेशनले तय गर्ने नयाँ विधिले नै आगामी दिनमा काँग्रेसलाई जनतामाझ बलियो बनाएर लैजाने विश्वास उनले व्यक्त गरे।
बिशेष महाधिबेशनमा सहभागी केन्द्रीय नेताहरु

नेपाली कांग्रेसको विशेष महाधिवेशन केही बेर अघिबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित नभएपनि महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी बनेका थिए । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी भएका थिए ।
केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी सहभागी छन् । त्यस्तै, पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि उद्घाटन समारोहमा सहभागी बनेका थिए ।
महाधिबेशन ब्यबस्थित गर्न ६ सय जना स्वयंसेवक
नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरू खटाइएको जानकारी दिए । महाधिवेशन स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ। सुरक्षाको दृष्टिले समेत स्वयंसेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।
साँझ ६ बजेसम्म २ हजार १८५ प्रतिनिधिको नाम दर्ता
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार साँझसम्म २ हजार १८५ जनाले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन सचिवालय सदस्य युवराज पाण्डेले साँझ ६ बजेर ५ मिनेटसम्म २ हजार १८५ जना महाधिवेशनले नाम दर्ता गराएको बताए । नाम दर्ता गराउने क्रम जारी रहेकोले कति महाधिवेशन प्रतिनिधिले आइतबार बेलुकीसम्म दर्ता गरे भन्ने यकिन भएको छैन । दुई हजार दुई सय भन्दा बढीले दर्ता गरेको भनिए पनि फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबारमात्र यकिन विवरण आउने छ । दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो । सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।
बन्द सत्र सोमबार बिहान १० बजेबाट
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखिमात्र हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो ।व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्द सत्र चालु हुनेछ ।















