Play

एसओएस गण्डकीमा वार्षिक खेलकुद समारोह: अनुशासनको अर्को नाम खेलकुद हो- सचिब पौडेल

गुरुकुल खबर


पोखरा, एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ वार्षिक खेलकुद कार्यक्रम शनिवार सम्पन्न भएको छ । यस वर्षको खेलकुद दिवसमा समावेश गरिएका जम्मा ६५ खेलमध्ये अघिल्ला दुई दिन ४९ खेलहरू र समापनका दिन १६ ओटा खेलहरु सम्पन्न गरिएका थिए।  खेलकुद कार्यक्रममा विद्यालयको माछापुच्छ्रे सदन यस शैक्षिक सत्रको विजेता सदन बन्न सफल भएको छ भने धौलागिरि सदन उपविजेता बनेको छ । त्यस्तै उत्कृष्ट मार्चपास प्रस्तोता अन्नपूर्ण तथा गौरीशङ्कर सर्वाधिक अनुशासित सदन घोषित भए । त्यस्तै कक्षा ११ र १२ तर्फ गौरीशङ्कर सदन विजेता तथा अन्नपूर्ण सदनले उपविजेताको उपाधि प्राप्त गरे ।

वार्षिक खेलकुद कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, स्लो साइकलिङ, टग अफ वारलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भए भने शिशुकक्षाका विद्यार्थीहरूका बीचमा रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, पेपर रिलेलगायतका खेलहरू आयोजना गरिएका थिए ।

खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पासको साथै २ सय ५६ विद्यार्थीहरू सम्मिलित एउटा समूहले ‘स्वागत’ ‘एसओएस’ हुँदै अन्तिममा नेपालको राष्ट्रिय झन्डाको रूपाकृति निर्माण हुने गरी साङ्गीतिक नृत्य पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा तामाङ संस्कृतिमा प्रचलितसेलो, मगर संस्कृतिमा प्रचलित कौरा नृत्य तथा नेवारी संस्कृतिमा प्रचलित लाखे नृत्यका अतिरिक्त अन्य विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो ।

खेलकुद अवधिभरि विद्यालयमा क्रियाशील जुनियर रेडक्रस तथा गण्डकी मेडिकल कलेजमा कार्यरत भूतपूर्व विद्यार्थीहरू सहभागी रहेको चिकित्सकहरूको एक समूहले खेलकुदस्थलमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो । समारोहमा अभिभावकहरूका बीचमा ‘तातो आलु’ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेल, वडाध्यक्ष तोरणबहादुर बानियाँ तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र,नगद पुरस्कार तथा पदक प्रदान गरेका थिए।

बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सञ्चालित कार्यक्रमको समापनका अबसरमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले नियम र अनुशासनको अर्काे नाम खेलकुद भएको र यसको पालना गर्ने व्यक्ति मात्र सच्चा खेलाडी बन्न सक्ने बताए ।

हरेक क्षेत्रमा नियम सर्वाधिक महत्त्वपूर्ण भएकाले नियम उल्लङ्घन गरी जितिएको खेललाई वास्तविक खेल मान्न नसकिने उनको धारणा थियो । खेलमा सहभागी भइसकेपछि जित–हार प्राविधिक विषय भएको तर म खेल खेल्छु भन्ने दृढता नै खेलाडीको वास्तविक जित हुने पनि उनले बताए ।

विकसित राष्ट्रहरूमा देशले नै बालबालिकाको प्रमुख अभिभावकत्व ग्रहण गरिदिने प्रचलन रहेको तर हाम्रो देशमा त्यस्तो मनस्थिति विकास हुन सकिरहेको छैन ।’ सचिव पौडेलले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आइरहेको मन्त्रालय भएका नाताले बालबालिकाको शिक्षाका क्षेत्रमा उल्लेखनीय कर्म गर्दै आइरहेको एसओएसजस्तो मानवतावादी संस्थासँग सहकार्य गर्ने विषयलाई प्रदेश मन्त्रालयले विशेष चासोका साथ लिएको छ ।’

कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले सामाजिक रूपान्तरण र राष्ट्रिय गरिमासँगै आपसी भाइचाराको सम्बन्ध विकास गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले यही मान्यतालाई आत्मसात् गर्दै आगामी माघ ५ देखि १० सम्म वडाले खेलकुद महोत्सव आयोजना गर्न लागेको जानकारी पनि दिए ।

एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदी, विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले खेलको आयाम र जीवनका यसको महत्त्वबारे चर्चा गरे । समापन समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, एसओएस पोखराका प्रधानाध्यापक फुर्बु थिन्ले,एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेल, एसओएस गण्डकीका पूर्वप्रधानाध्यापक मोहनमुरारि खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, छोरेपाटनस्थित एसओएस व्यावसायिक तालिम केन्द्रका प्रमुख शिव लामिछाने लगायत सहभागी थिए ।

२७ पुष २०८२, आईतवार ०८:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा