पोखरा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको उल्लेख गर्दै व्यवसायीलाई दीर्घकालीन स्थायित्व र निजी क्षेत्रमैत्री नीति अपरिहार्य भएको बताएका छन् । अधिकृत विक्रेता संघ पोखराको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक अस्थिरता, प्राकृतिक विपद्, महामारी लगायत कारणले पटक–पटक व्यवसाय क्षेत्रमा गम्भीर असर पुगेको बताए ।
उनले जेन्जी पुस्ताको नाममा भएको आन्दोलन बेथितीको अन्त्यका लागि आवश्यक भनिए पनि आन्दोलनको दोस्रो दिन भएको तोडफोड र विध्वंस दुःखद भएको टिप्पणी गरे । निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा राज्यले निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको उनको भनाई थियो ।
उनले निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति तत्काल ल्याउन, लगानी सुरक्षाको सुनिश्चितता गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे । नेपालमा निजी क्षेत्र र समग्र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयमा गहिरो समीक्षा गर्दै अब स्पष्ट रूपमा निजी क्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाई थियो । गण्डकी प्रदेशको समृद्धिका लागि कावासोती–पोखरा सुरुङ मार्ग निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए । यस्तो पूर्वाधारले प्रदेशको आर्थिक गतिविधिलाई तीव्रता दिने श्रेष्ठको विश्वास थियो ।
अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, नेपाल वितरक महासंघका निवर्तमान अध्यक्ष हरिराज पन्त, संघका संस्थापक अध्यक्ष गोविन्दप्रसाद कर्माचार्य लगायतका बक्ताले आआफ्नो भनाई राखेका थिए ।















