Play

पोखराको लिची बगान रहेको जग्गा हडप्ने प्रकरणमा पुर्वमन्त्री गुप्ता थुनामा, श्रेष्ठ अझै अदालतमा अनुपस्थित

गुरुकुल खबर


पोखरा, पोखरामा चर्चामा रहेको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रकरणमा घूस लेनदेनको अभियोग लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा पठाउन आदेश गरेको हो ।

विशेष अदालतमा बुधबार बिहान ११ बजे हाजिर भएका गुप्ताको दिनभर बयान भएको थियो । बयानमा उनले आफूमाथि लागेको आरोप झूटो भएको र कसैसँग घूस नलिएको दाबी गरेका थिए । तर अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध २३ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अदालतले गुप्तालाई थुनामा पठाउने पहिलो आधार फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनलाई मानेको छ । तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र बिचौलिया सुजनकुमार तामाङले गुप्तालाई पठाएका ‘मेसेज’ लाई अदालतले दोस्रो आधारका रूपमा लिएको छ ।

उक्त जग्गा हडप्ने योजनामा लागेका बिचौलिया सुजनकुमार तामाङका साथै खेमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरलाई पनि प्रतिवादी बनाइएको थियो । एमाले नेतासमेत रहेका पूर्वसामान्य प्रशासनमन्त्री गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँका दरले बिगो मागदाबी गरिएको थियो । पूर्वमन्त्री श्रेष्ठ भने अदालतमा हाजिर भएकी छैनन् ।

लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहित घूस डिल गरिएको अडियो गत असारमा सार्वजनिक भएको थियो । केपी शर्मा ओलीको मन्त्रिपरिषदमा रहेका गुप्ताले अडियो सार्वजनिक भएपछि असार ३१ गते राजिनामा दिएका थिए । पुस २०८१ मा घूस लेनदेन हुँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा एमाले नेता बलराम अधिकारी थिए । उनलाई पनि रकम बुझाएको बिचौलिया तामाङले दाबी गरेका थिए । तर अधिकारीमाथि छुट्टै अनुसन्धान भइरहेको भन्दै मुद्दा चलाइएको थिएन ।

१७ पुष २०८२, बिहीबार ०८:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा