Play

कास्कीको भुमि आयोगका पुर्व अध्यक्ष पोखरेल, सदस्यहरु गुरुङ, थापा र नेपाली सहित छ जना बिरुद्ध भ्रष्टाचार मुद्धा

गुरुकुल खबर


पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा महानगरपालिका-२६ (साविक कन्धानीडाँडा गाउँ विकास समिति वडा नं. ४) को अमर ज्योति आधारभूत विद्यालयको परिसरमा रहेको कित्ता नं. ७२५ को ३–३–०–० रोपनी सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरिएको  घटना लाई लिएर उनीहरु बिरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले सार्वजनिक विद्यालयको जग्गालाई नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा हक हस्तान्तरण गरेको भन्दै १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरूमा राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन सदस्यहरू आश बहादुर गुरुङ, उमा कुमारी थापा र सोम बहादुर नेपाली रहेका छन् । त्यस्तै, गैरकानुनी लाभ लिने जग्गाधनीका श्रीमान् भीम बहादुर बि.क. विरुद्ध पनि मुद्दा दायर गरिएको  अख्तियारले जनाएको छ । घटना विवरणअनुसार तत्कालीन आयोगका पदाधिकारीहरूले पदको दुरुपयोग गर्दै प्रतिवादी भीम बहादुर बि.क.की श्रीमती सुक माया कामीको नाममा उक्त जग्गा दर्ता गराएका थिए ।

अनुसन्धानमा खुलेअनुसार कित्ता नं. ७२४ (क्षेत्रफल १–५–२–२ रोपनी) को जग्गा लिनुपर्नेमा मिलेमतो गरी विद्यालय परिसरको कित्ता नं. ७२५ (क्षेत्रफल ३–३–०–० रोपनी) को जग्गा व्यक्तिको नाममा कायम गरिएको थियो । भीम बहादुर बि.क.ले विगतको आयोगले निर्णय गरी काम बाँकी रहेको जग्गा आफ्नो नाममा पाउँ भनी निवेदन दिएका थिए । तर, उनको स्थायी बसोबास र परिवारको नाममा जग्गा भए/नभएको विवरण मालपोत कार्यालय लेखनाथमा हुन सक्ने भए पनि असम्बन्धित मालपोत कार्यालय पोखराबाट विवरण माग गरी बदनियत राखी उनलाई सुकुम्बासी प्रमाणित गरेर जग्गा उपलब्ध गराइएको खुलेको आयोगले जनाएको हो ।

आयोगका अनुसार २०५२ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले सुक माया कामीको नाममा १–५–२–२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको भए पनि हालका पदाधिकारीले ३–३–०–० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेका थिए । २०५२ सालको निर्णय पुस्तिकामा कित्ता नं. ७२५ को जग्गा उपलब्ध गराउने कुनै निर्णय नभएको र दर्ता स्रेस्ता तथा पुर्जा जारी नभई सरकारी जग्गाकै रूपमा कायम रहेको अवस्थामा पनि नक्कली कागजका आधारमा जग्गा व्यक्तिको नाममा बनाइएको अख्तियारले जनाएको छ ।

कमला सुवेदी (आचार्य) ले भीम बहादुर बि.क.लाई जग्गा उपलब्ध गराउन घरसारको अनधिकृत कागज गराएको देखाई सोही कागजलाई आधार लिई राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीले प्रक्रिया अघि बढाएको थियो । २०७८ सालको कार्यविधि विपरीत जग्गा दिने निर्णय गरी जग्गा धनी स्रेस्ता पुर्जाको प्रमाण संकेतमा ‘विगतको सुकुम्बासी समस्या समाधान आयोगको अधुरो काम’ भन्दै झुटो व्यहोरा उल्लेख गरिएको पाइएको छ । २०८० चैत ५ गते मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीबाट जग्गाधनी प्रमाण पुर्जा प्रमाणित गराई अध्यक्ष गंगा प्रसाद पोखरेलले स्रेस्ता लागू गर्न पत्राचार गरेका थिए ।

अख्तियारले प्रतिवादीहरू गंगा प्रसाद पोखरेल, रामचन्द्र अधिकारी, आश बहादुर गुरुङ, उमा कुमारी थापा र सोम बहादुर नेपालीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरमा १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ । साथै, गैरकानुनी लाभ लिने मनसाय राखी मतियारको भूमिका निर्वाह गर्ने प्रतिवादी भीम बहादुर बि.क.लाई पनि सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।

कसलाई के कति कसुर लगाइएको छ त ?

व्यक्ति_अनुसारको_कसूर_तालिका (1)

१६ पुष २०८२, बुधबार १७:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा