पोखरा, पोखराको लेकसाइड क्षेत्रको सडकमा अंग्रेजी नयाँ बर्ष प्रवेशको अबसरमा हुँदै आएको पोखरा सडक महोत्सब आइतबारदेखि शुरु भएको छ रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले हरेक बर्ष संचालन गर्ने सडक महोत्सबको यस बर्ष २७ औं शृंखला शुरु भएको हो । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित सुरु भएको महोत्सव पुस १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखि जनवरी १ सम्म सञ्चालन हुनेछ।
सडक महोत्सवका अवसरमा लेकसाइडको खहरेदेखि अम्बोट अर्थात फिस्टेल गेटसम्मको करिब साढे ३ किलोमिटर क्षेत्रमा सडकमा नै विभिन्न किसिमका खानाका परिकारहरू र बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछन्। जसले गर्दा महोत्सबमा पुग्ने दर्शकहरुले सडकमा नै खानाका परिकारहरु खान र सांस्कृतिक कार्यक्रमबाट मनोरंजन लिन पाउने छन।
महोत्सबको आगमनसंगै महोत्सवस्थल लेकसाइडको सडक क्षेत्र र सडक किनारका रेस्टुरेन्टहरुमा आकर्षक साजसज्जा गरिएको छ। सडक माथि ध्वजापताका र आकर्षक लाइट जडान गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। यसका साथै सडक किनारमा बिभिन्न बस्तु वा सेवासहित खाना र सांस्कृतिक कार्यक्रमको लागि स्टल राखिएको छ । महोत्सव अवधिभर पोखरा पर्यटन प्रवर्द्धन, अवसर र चुनौतीबारे केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

सडक महोत्सवमा मुख्य आकर्षणका रूपमा लोपोन्मुख जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट लगायतका कार्यक्रम समावेश छन्। त्यस्तै, डुंगा दौड, वेटर रेस, डोरी तान्ने, मःम तथा ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ पनि रहने सडक महोत्सब कार्यक्रमका संयोजक वसन्त गौतमले गुरुकुल खबरलाई जानकारी दिए।
आइतबार पोखराको केदारेश्वर मन्दिर नजिकको पार्कमा आयोजित बिशेष समारोहमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले सडक महोत्सबको उद्घाटन गरेका थिए । त्यस अबसरमा बोल्दै उनले पोखरा पर्यटनको हब भएकाले अन्य सहर र देशसँगको कनेक्टिभिटी बढाउन आवश्यक रहेको बताए।

पोखरालाई सडक र हवाई दुवै मार्गबाट सहज कनेक्टिभिटी आवश्यक रहेको उल्लेख गर्दै उनले पोखराको मुख्य गहना र पर्यटकीय केन्द्र फेवातालको संरक्षण सबैको साझा दायित्व भएको स्पष्ट पारे। स्थानीय तथा प्रदेश सरकारले फेवाताल संरक्षणमा पहल गरिरहेको जानकारी पाएको उल्लेख गर्दै उनले भने, “यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, म त्यसका लागि प्रयास गर्छु।”
मन्त्री घिसिङले फागुन २१ गते हुने चुनाव सफल बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताउंदै उनले भने, ‘चुनावले देशलाई स्थायित्वतर्फ लैजाने भएकोले फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ।’ चुनाव नभए देश अस्थिरतातर्फ जान सक्ने चेतावनी दिँदै उनले चुनावपछि बन्ने सरकार र नेतृत्वले देशको भविष्य निर्धारण गर्ने बताए। उनले जनतालाई सचेत भएर सही नेतृत्व चयन गर्न आग्रह गरे।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारले पर्यटन विकासका लागि निरन्तर प्रयास गरिरहेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्न संघिय सरकारसंग आग्रह गरे। उनले भने, “जियो–पोलिटिक्सका कुरा हामीलाई धेरै थाहा नहुनसक्छ, तर पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गर्छु।” उनले पोखराबाट ठुलो संख्यामा हवाई यात्रुहरुले पोखरामा आवत जावत गरेको बताउंदै अन्तराष्ट्रिय उडान गर्नसके अझ राम्रो हुने स्पष्ट पारे।

सडक महोत्सबको उद्घाटन पुर्व पोखराको हल्लनचोकदेखि लेकसाइड हुँदै फिस्टेलगेट सम्म बिभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो। र्यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारु लगायतका बिभिन्न जातजाति आ–आफ्ना मौलिक सांस्कृतिक झाँकीसहित सहभागी भएको रेवानका महासचिव बिरेन्द्र शेरचनले जानकारी दिए ।




















