काठमाडौं, नेपाली कांग्रेसले विगतका निर्वाचनमा असहयोग गर्ने र पार्टी हितविपरीत लागेका आफ्ना नेता–कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरणको निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार (पुस १२) केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरिएको हो ।
कांग्रेस केन्द्रीय समितिको यो निर्णय आउनु अगाडी केन्द्रीय अनुशासन समितिको निर्णयको आधारमा कारबाहीमा परेका भनिएका कतिपयले भने नेपाली काँग्रेस परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरिसकेका र गर्ने तयारीमा समेत रहेका छन। कास्की जिल्लामा पनि अनुशासन विभागको निर्णयको आधारमा कारबाही सुनाइएका गण्डकी प्रदेशका पुर्वमन्त्री एबम पार्टीका महाधिबेशन प्रतिनिधि कुमार खड्का सहित कहिले नेपाली काँग्रेस परित्याग गर्ने सार्बजनिक गरेका छन। खड्कासंगै पार्टीको कारबाहीमा परेका केहिले पनि पार्टी छोडेर अन्य पार्टीमा प्रवेश गर्ने जनाएका छन खड्कालाई कांग्रेसले एक बर्षको लागि साधारण सदस्यताबाट समेत निष्कासन गर्ने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसंगठित बनाउँदै बृहत् एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई आत्मसात् गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न/नगराउन सचेत गराउँदै यस्तो निर्णय गरिएको छ ।”
यस्तै, विगतको निर्वाचनमा पार्टीको उमेदवार वा कांग्रेसले समर्थन गरेकाविरुद्ध उमेदवारी दिएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका कार्य गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधानननुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अरू दलमा गएर उमेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पनि कांग्रेसमा फर्कन बैठकबाट आह्वान गरिएको छ । त्यसरी फर्कने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै, विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।
कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका निम्ति बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय समेत गरेको मुख्यसचिव पौडेलले उल्लेख गरे । आउँदो फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका १ सय १० जना उमेदवार चयनको मापदण्ड तयार गरेर नाम छान्ने प्रक्रिया समेत अगाडि बढाइएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (पुस १३) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।















