पोखरा, निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदान केन्द्र निर्धारण गरेको छ । आज पुष १२ गते शनिबार निर्वाचन आयोगले मतदानस्थल र केन्द्र निर्धारण गरेको हो । देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको र ति स्थलमा कुल २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
यसपटकको निर्वाचनमा २०७९ को कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
यसैगरी आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार नै निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो । आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
“प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २ सय गरी जम्मा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश भएका छन्,” आयोगका प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मतदाताले आफ्नो नाम र विवरण आयोगको वेबसाइटमा हेर्न सक्नेछन् ।
०७९ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १ सय ८५ गरी कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो ।
वि. सं. २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ भने पुरुष मतदाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हजार ५५२ ले बढेको आयोगले जनाएको छ।















