पोखरा, नेपाली कांग्रेसको संस्थापन पक्षले सातवटा प्रदेशबाट समानुपातिक उमेदवार छान्न सातजना नेतालाई जिम्मेवारी दिएको बुझिएको छ। आज शनिबार (पुस १२) सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिकतर्फका उमेदवार छान्न नेताहरूलाई जिम्मेवारी तोकेको बताइएको छ ।
तोकिएका संयोजकहरुले कसरि उमेदवारको टुंगो लगाउने भन्ने केहि सार्बजनिक गरिएको छैन। नेपाली काँग्रेसमा संस्थापन पक्षको साथै डा. शेखर कोइरालाको र महामन्त्री गगन थापाको छुट्टाछुट्टै समूह बनिसकेको कारण उमेदवारको टुंगो लगाउने कार्यमा सबै पक्षको बिचमा सहमति कायम हुनुपर्ने देखिएको छ। अन्यथा नेपाली काँग्रेस भित्रको आन्तरिक बिबाद अझ बढेर जाने सम्भावना समेत रहेको नेताहरु बताउछन।
तोकिएका ती नेताहरूको नाम बाहिर सार्वजनिक नगर्ने समझदारी गरिएको संस्थापन पक्षका एक नेताले बताए । ती नेताका अनुसार, संस्थापन पक्षबाट कोसी प्रदेशको समानुपातिक सूची ‘फाइनल’ गर्न पूर्वअर्थमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ ।
मधेस प्रदेशबाट समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन सहमहामन्त्री महेन्द्र यादवलाई जिम्मेवारी तोकिएको छ । वाग्मती प्रदेशबाट सूची टुंग्नयाउने जिम्मेवारी पार्टी प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी गण्डकी प्रदेशको मुख्यमन्त्री समेत रहेका सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको निम्ति संयोजक तोकिएको र लुम्बिनी प्रदेशमा बालकृष्ण खाँणको संयोजनमा समानुपातिक सूची तयार पार्ने जिम्मेवारी तोकिएको बताइन्छ ।
यस्तै, कर्णाली प्रदेशमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै हेर्ने गरी प्रदेश सभापति जीवनबहादुर शाहीलाई संयोजक तोकिएको छ । समानुपातिक सूची टुंग्याउन सुदूरपश्चिम प्रदेशमा सोहि प्रदेशका प्रदेश सभापति वीरबहादुर बलायरलाई नै संयोजक तोकिएको बुझिएको छ ।















