Play

होटल संघद्वारा पर्यटनमन्त्री समक्ष पाँच बुँदे ध्यानाकर्षण, पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता र सुबिधा दिन माग

गुरुकुल खबर


पोखरा, होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराएका थिए ।

उद्योग र कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हालाई संघले पोखरामा स्वागत गर्दै उल्लेखित विषयलाई शीघ्र कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराएको थियो  हालसम्म आन्तरिक उडानमा मात्रै सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न शहरहरूमा उडान सञ्चालन गराउन आबश्यक पहल अगाडि बढाउन पनि अध्यक्ष सुवेदीले ध्यानाकर्षण गराएका थिए।

यसका साथै छिमेकी देशका सीमावर्ती शहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक शहरबीच आन्तरिक हवाई सञ्जाल विस्तार गर्न समेत संघले माग गरेको छ । यसैगरी २०७२ भन्दा पहिले निर्माण भएका साना तथा मझौला होटल उद्योगहरूले गर्नु पर्ने वातावरणीय अध्ययन व्यवहारिक नभएको भन्दै यसलाई खारेज गर्न संघले माग गरेको छ।

जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरूलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्था गर्न र पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति कार्यलाई तोकिएको समयसम्म पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने आबश्कता समेत संघले स्मरण गराएको छ।

सो अवसरमा मन्त्री सिन्हाले पर्यटन क्षेत्रलाई उद्योग सरहको सहुलियत दिने विषयमा छलफल अगाडि बढेको र छिटै कार्यान्वयन हुने आश्वासन दिए । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा पनि सरकार लागि परेको दाबी उनले गरे । गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बश्यालले विमानस्थलको विषयमा धेरै पटक संघीय सरकारको ध्यानकर्षण गराइएको विषय स्मरण गराए ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले नेपालमा अपेक्षित पर्यटक नआउनुको कारण खोजिनुपर्ने भनाई राखे । उनले सातै प्रदेशमा पर्यटन मार्ट आयोजना गर्न बोर्डले सहजिकरण गरी प्रवद्र्धनका काम अगाडि बढाउनुपर्ने सुझाव राखे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ सरकार गंभीर बन्नुपर्ने भनाई राखे । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता र बन्दीहरु पक्राउ नगरिएसम्म सुरक्षाको वातावरण तयार हुन सक्दैन, उनले भने ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बंगलादेशी र श्रीलंकन मुद्रा सटहीको सहज सुविधा नेपालमा गर्न सके पर्यटन क्षेत्र अगाडि बढ्न मद्दत पुग्ने सुझाव राखे । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटकीय लेकसाइड क्षेत्रमा पार्किङलाई व्यवस्थित गरिनुपर्ने सुझाव राख्दै फेवातालको मापदण्ड सम्वन्धि अदालतले गरेको फैसला सच्याइनुपर्ने माग राखे ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले उपस्थित सबैलाई धन्यवाद दिए । होटल क्राउन हिमालयजमा आयोजित कार्यक्रम संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश)ले संचालन गरेका थिए ।

१२ पुष २०८२, शनिबार २२:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा