पोखरा, पोखरा महानगरपालिका- १४ स्थित कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष एबम पोखराका उद्योगपति तथा शिक्षासेवी सूर्यबहादुर केसीको सालिक कालिका बहुमुखी क्याम्पसको हाता भित्र अनावरण गरिएको छ। यसका साथै क्याम्पस भित्र निर्माण गरिएको पुस्तकालय भवनको समेत उद्घटन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको परिसरमा निर्माण गरिएको केसीको अर्धकदको सालिक क्याम्पसको ३४ औँ वार्षिकोत्सवको अबसरमा अनावरण गरिएको हो सोहि समारोहमा क्याम्पसको नवनिर्मित भवनको उद्घाटन र क्याम्पसका बिधार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण समेत गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्व अध्यक्ष एबम स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका स्व. केसीका छोरा किरण केसीको साथै छोराहरू प्रकाश केसी र रोशन केसी एबम क्याम्पस प्रमुख विरञ्जी गौतमले शनिवार एक कार्यक्रमका बिच स्व, केसीको सालिकको संयुक्त रूपमा अनावरण गरेका थिए।

क्याम्पस स्थापनाकाल देखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा पुर्याएको योगदानको उच्च कदर गर्दै केसीको स्मरण चिरकालसम्म होस् भन्ने उद्देश्यले क्याम्पस परिसरमा केसीको सालिक स्थापना गरिएको बताइएको छ । हिम श्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा रारा चाउचाउ उत्पादन सुरु गरेका केसीले निर्माण व्यवसायसंगै बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठुलो लगानी गरेका थिए ।
२०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी व्यापार व्यवसाय र निर्माणको क्षेत्रमा संलग्न हुँदै २०४१ देखि २०४६ सालसम्म तत्कालीन पोखरा पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचन हुनु अगाडी उनी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभामा पठाएको थियो । केसीको २०७७ साल कात्तिक १७ गते सोमबार ६५ वर्षको उमेरमा देहावसान भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले केसीलाई एउटा सामाजिक र सफल व्यावसायिक व्यक्तित्व तथा सहयोगी भावना भएको र अरूलाई सहयोग गर्न सधैँ तत्पर रहने व्यक्तिको रूपमा परिचर्चा गरेका थिए । त्यसै अवसरमा स्व. कीर्तिबहादुर केसीको स्मृतिमा संस्थापक सञ्चालक समितिका अध्यक्ष स्व. सूर्यबहादुर के.सी. का परिवार बाट स्थापित सूर्यप्रेम ट्रस्टको आर्थिक सहयोगमा निर्माण गरिएको कीर्ति पुस्तकालय भवनको पनि उद्घाटन गरिएको थियो ।
उक्त भवनको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतमले संयुक्त रूपमा उद्घाटन गरेका थिए । त्यस अवसरका उक्त भवन केसी परिवारले डिन प्रा.डा. चालिसेलाई र चालिसेले क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त पुस्तकालय सहितको बहुउद्देश्यीय भवन निर्माणमा ३ करोड २६ लाख २८ हजार ५ सय २० रुपैयाँ लागत लागेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेले क्याम्पस यो स्थानमा आउनका लागि स्व. सूर्यबहादुर केसीको भूमिका सधैँ स्मरणयोग्य भएको उल्लेख गरे । ‘क्याम्पसको हरेके क्षेत्र सबल रहनुमा केसीको भूमिका ठुलो रहेको छ’ । उनले भने, ‘उहाँकै पदचाप पछ्याएर उहाँका छोरा जुन युवा जोसका साथ क्याम्पस सञ्चालक समितिमा आउनुभयो, शैक्षिक उन्नयनमा क्याम्पसका लागि यो सौभाग्य मिलेको छ ।’ उनले श्रम र उत्पादनसँग जोड्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सीले आफ्ना बुबाको सम्मानमा क्याम्पस परिसर भित्र अर्धकदको सालिक निर्माण गरेकोमा परिवारको तर्फबाट आभार व्यक्त गरे । उनले क्याम्पसलाई समय सापेक्ष तरिकाले अगाडि बढाउनका लागि आफू सधैँ लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । क्याम्पसका निवर्तमान प्रमुख रवीन्द्रनाथ बास्तोलाले क्याम्पसमा स्व. सूर्यबहादुर केसीको योगदान अनुकरणीय रहेको बताए।
उक्त अवसरमा क्याम्पसका अभिभावक डम्बर कुमारी गुरुङ र छोरा मोहन गुरुङले डम्बर मोहन गरिब छात्रवृत्ति अक्षयकोषका लागि २ लाख ५१ हजार रुपैयाँ क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतम, क्याम्पसका सिनेटर तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापा, कल्याणकारी समितिका सचिव तेजेन्द्र केसी लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गर्नुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले स्वागत र सहायक क्याम्पस प्रमुख सालिकराम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।















