Play

पोखरा महानगरको स्थापना दिवस: पोखरेली नवरत्न, उत्कृष्ट कर्मचारी र महानगर माता-पिता सम्मानित

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाले आंफ्नो ६७ औं स्थापना दिवस पोखरामा बिशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ । महानगरले ६६ बर्ष अगाडी तत्कालिन पोखरा नगर स्थापना भएको दिन पुस २ गतेलाई स्थापना दिवसको रुपमा लिएर बिबिध कार्यक्रमको आयोजना गरेको हो।  स्थापना दिवसको सन्दर्भमा बुधबार आयोजित सांस्कृतिक झाँकीसहितको प्रभात फेरी कार्यक्रम पोखराको चिप्लेढुंगाबाट शुरु भई न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।

उक्त समारोहमा पोखरामा रहेर बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरिएको थियो। उनीहरुलाई जनही २ लाख २ हजार २ सय २ रुपैया सहित पदक, ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरिएको हो ।

यस किसिमको सम्मान पाउनेहरुमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा. बुद्धि बहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु रहेका छन ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्मान गरेका थिए ।

को को हुन् त पोखरेली नवरत्नबाट सम्मानितहरु ?

पोखरेली नवरत्नबाट यस बर्ष सम्मानित एकमात्र महिला रामकली खड्का विगत पाँच दशकदेखि पोखरालाई कर्मथलो बनाइरहेकी महिला उधमी हुन् । उनले महिला सीप विकास संस्था मार्फत हजारौं महिलालाई सीप सिकाएर उद्यमशिलता विकास गर्नुका साथै उनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु निर्यात गरि आर्थिक शसक्तिकरणमा पनि  उनको योगदान रहेको छ ।

तिलकमान गुभाजु पोखराका पुराना पत्रकार हुन। करिब ६ दशकदेखि पत्रकारितामा क्रियाशील गुभाजु  बौद्द धर्म र दर्शनका एक अध्येता एबम  प्रचारकको रुपमा पनि चिनिन्छन । उनि सरल र सादगी जिबन बिताउने व्यक्तिको रुपमा मानिन्छन

तीर्थ श्रेष्ठ साहित्यिक र संस्कृतिक क्षेत्रका अगुवा मानिन्छन । उनका जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरु, मेरै हिमालजस्तो, जिन्दगीको गोधुलीमा, धर्सैधर्साको चक्रव्यूहमा, आमा तथा हिउँमा लेखिएका नामहरु लगायतका कृतिहरु प्रकाशित छन् । उनी पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति लगायतका संघ,संस्थाहरुमा सक्रिय छन ।

प्रा.डा.बिरेन्द्रसिंह गुरुङ खेलकुद क्षेत्रमा योगदान दिएका व्यक्तित्व हुन् पोखरा रंगशालाको निर्माणमा उनको योगदान छ ।  क्रिकेट खेलका लागि मैदान निर्माणदेखि हक्की, टेनिस, बास्केटबल, एथ्लेटिक्स, भलिबल, फुटबलको विकास, खेलाडी उत्पादन र संरचना निर्माणमा उनको उत्तिकै योगदान छ ।  पृथ्वीनारायण क्याम्पस पोखराको प्रमुख रहेर पनि उनले काम गरेका थिए ।

प्रा.डा.बुद्दिबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सक्रिय रहेर योगदान दिएका छन पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रहि चिकित्सक मात्र नभई चिकित्सा क्षेत्रको भौतिक पूर्वाधार निर्माण, प्राज्ञिक संरचना बिस्तार र दक्ष जनशक्ति निर्माणमा उनले योगदान दिएका छन् ।

चन्द्रकृष्ण कर्माचार्य पोखराका प्रतिष्ठित उधोगी हुन पोखरामा उनको नेतृत्वमा रहेको कर्माचार्य ग्रुपले बिस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य बस्तुको उत्पादन गर्नुको साथै रोजगारी सिर्जना गरेर पोखराको औधोगिक एबम आर्थिक बिकासमा योगदान पुर्याएको छ।  लेखनाथ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमितिको सदस्य रहेर ब्यबसायिक हक हितको लागि सक्रिय रहेका कर्माचार्यले लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थामा रहेर योगदान गरेको छन ।

चन्द्रकान्त बराल पोखरामा धार्मिक पर्यटन प्रबर्दकको रुपमा परिचित छन । उनको अगुवाईमा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा बिशाल महादेवको मुर्ती निर्माण गरिए पछि उक्त क्षेत्रमा अहिले दिनहुँ हजारौ पर्यटक पुग्ने गरेका छन। उनि पोखराका स्थापित ब्यबसायी पनि हुन।

हरिप्रसाद पाण्डे पोखरालाई कर्मथलो बनाएका स्थापित उद्योगपती हुन् । उद्योग व्यवसायको स्थापना, विकास र रोजगारी सिर्जना गरि पोखराको औद्योगिकरण गर्न उनको महत्वपूर्ण योगदान छ । उनले पोखरा फुड्स, एभरेस्ट ईञ्जिनियरिङ वर्कस, पोखरा मेसिन टुल्स ईण्डष्ट्रिज, पोखरा नुडल्स तथा रम्बा जनरल फुड ईण्डष्ट्रिज सञ्चालन गर्दै आएका छन् । उद्योगतर्फ मात्र होईन, उनले मातृसेवा प्रतिष्ठानमार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि शैक्षिक उन्नयनमा योगदान दिदै आएका छन् ।

अमृत गुरुङ नेपथ्य व्याण्डका गायक हुन् । उमेरले झण्डै ६ दशक पुगेका उनले झण्डै साढे तीन दशक गीतसंगीतमा बिताईसकेका छन्  स्वदेशमात्र नभएर विदेशमा पनि सांगीतिक यात्रा गरिरहेका उनले जहाँ पुगे पनि पोखराको प्रचारप्रसार गर्दै आएको छन । उनले नेपथ्य व्याण्डबाट नेपथ्य १०९३, हिमाल चुचुरे १९९५, श्रृंगार १९९९, रेशम २००१, भेंडाको उनजस्तो २००३, घटना (नेपालको घटनाक्रम) २००५, मेरो देश २००९, ऐना झ्याल २०१०, एल्वम एक्स २०१६ लगायतका एल्वम निकालेका छन् ।

उत्कृष्ट कर्मचारीहरु सम्मानित

सोहि समारोहमा पोखरा महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारीको रुपमा हेम आचार्यलाई सम्मान गरिएको थियो । महानगरको शिक्षा महाशाखा प्रमुख रहेका उनलाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्र सहित सर्वोत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको हो ।

यसैगरी पोखरा महानगरपालिकाको वर्ष उत्कृष्ट कर्मचारीको रुपमा नवराज सापकोटालाई सम्मान गरिएको छ । उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सापकोटा पोखरा महानगरपालिका वडा न. २६ मा सूचना अधिकारीका रुपमा कार्यरत छन् । उनीसहित ५ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो भने  ५ जनालाई कर्तव्यनिष्ठ कर्मचारी घोषणा गरि नगद सहित सम्मान गरिएको थियो ।

यसैगरी पोखरा महानगरपालिकाले १०७ वर्षिया झ्याउरी माया तिमिल्सिना र १०४ वर्षिय काशीनाथ पण्डितलाई महानगर माता पिताको सम्मान दिएको छ । महानगरले स्थापना दिवसमा हरेक वर्ष महानगर भित्रको सबैभन्दा ज्येष्ठ नागरिकलाई महानगर माता पिताको सम्मान प्रदान गर्दै आएकोमा यस बर्ष पोखरा–२८ की झ्याउरी मायालाई महानगर माता र पोखरा–३२ का काशीनाथलाई महानगर पिताको सम्मान प्रदान गरेको जनाएको छ ।

२ पुष २०८२, बुधबार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा