पोखरा, सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मार्ट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रबर्द्दनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवद्र्धन सुरु गरिएको हो ।
भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा स्वागत गर्र्दै स्थल मार्गबाट चितवनको सौराहा ल्याइएको छ । भारतीय टोलीलाई होटेल संघ नेपाल चितवनका तर्फबाट स्वागत एवम् पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिए ।
अन्तरक्रियामा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृत लगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावना लगायतका विषयमा आआफ्नो भनाई राखेका थिए ।
महासचिव सापकोटाका अनुुसार भारतीय प्रबर्द्दनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बाग्लुुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मार्टमा सहभागी बन्ने छ । टोली ४ गते पोखराबाट पाल्पाहुँदै सुनौली नाकाबाट भारत फर्कने कार्यक्रम छ ।



















